logo
२०८१ बैशाख २७ बिहीवार



पुष्प मेलाको आकर्षण बढ्दै

अर्थ |


पुष्प मेलाको आकर्षण बढ्दै



गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ४ गते । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)द्वारा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लिएको लक्ष्यभन्दा बढीको कारोबार भएको छ । शुक्रबारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सुरु भएको १३औँ पुष्प मेलामा साढे ५६ लाख रुपियाँको कारोबार भएको छ । चार दिनसम्म चल्ने मेलामा ५० लाखको कारोबार गर्ने लक्ष्य लिएको थियो तर आइतबार तेस्रो दिनमा नै साढे ५६ लाख रुपियाँको कारोबार भएको फ्यानका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
पहिलो दिन छ हजार पाँच सय जनाले अवलोकन गरेका थिए भने १२ लाख रुपियाँको कारोबार भएको थियोे । शनिबार १५ हजारले अवलोकन गरेका थिए, जसमा २५ लाख रुपियाँ बराबरको कारोबार भएको थियो भने आइतबार १० हजारले मेला अवलोकन गरेका थिए भने साढे १९ लाख रुपियाँको कारोबार भएको महासचिव पोखरेलले जानकारी दिनुभयो । सोमबार अन्तिम दिन कारोबार झनै बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
फ्यानले मेलामा सहभागी उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरेको छ । सम्झना नर्सरीले विभिन्न विधामा चारवटा पुरस्कार प्राप्त गरेको छ । गोदावरीको प्रतियोगितात्मक प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टीपीआर मितेरी नर्सरी दोस्रो र टीटीआर बगलामुखी नर्सरीले तेस्रो भएको छ । त्यस्तै मिनियचरतर्फ अजिमा नर्सरी र कट्फ्लावरतर्फ सिर्जना कटफ्लावर नर्सरी पुरस्कृत भएका थिए ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?