logo
२०८१ बैशाख १४ शुक्रवार



अचारको माग धान्न भ्याइनभ्याई

अर्थ |


अचारको माग धान्न भ्याइनभ्याई



सीता शर्मा

काठमाडौँ, असोज ५ गते । ‘काम गर्ने इच्छा र जाँगर भए सफल उद्यमी बन्न उमेरले छेक्दैन’ भन्ने गतिलो उदाहरण हुनुहुन्छ मञ्जुश्री अचार उद्योगका सञ्चालक मञ्जु भट्ट । उहाँ मञ्जु दिदी नामले बढी चिनिनु हुने उहाँ उमेरले झण्डै छ दशक भइसक्नु भएको छ तर उहाँको काम गर्ने जोश जाँगर भने ३०/३५ को उमेरमा गर्ने भने कम छैन ।
आफ्नै सीप प्रयोग गरेर फरक–फरक स्वादका आठ÷दस प्रकारका अचार बनाउने मञ्जु दिदीलाई अचेल माग धान्नै भ्याइनभ्याई छ । साना तथा मझौला व्यापार महासङ्घ नेपालले राजधानीमा आयोजना गरेको व्यापार मेलामा स्टल लिएकी मञ्जु दिदीलाई अवलोकन गर्ने आउनेलाई अचारको स्वाद चखाएर बिक्री गर्दैमा भ्याइनभाई थियो माग त्यत्तिकै । मेलामा अचार बेच्ने र माग टिप्ने काममा उहाँको श्रीमान्ले पनि सहयोग गर्नुभएको थियो । हाम्रोमा स्थानीय अकबरे खुर्सानी र टिम्मुर, मेथी, आँप, कागती, अकबरे खुर्सानीको स्पेसल, लसुनका स्वास्थ्यवद्र्धक अनि स्वादिष्ट अचार पाइने भएकाले एक पटक स्वाद लिनेले अर्को पटक माग गरिहाल्छन्, उहाँले थप्नुभयो ।
पाँच सय रुपियाँ लगानीबाट दुई वर्ष पहिले सुरु गर्नुभएको मञ्जु दिदीको अचार बनाउने कच्चा पदार्थमा मात्र अहिले सात/आठ लाख रुपियाँ बराबरको लगानी भइसकेको छ । उहाँले भन्नुभयो, ‘यसमा अरू थप पुँजी लगानी गरेकी छैन, अचार बेचेको पैसा थप्दै यति पुगेको हो ।’ आफन्तले अचारको स्वाद लिएर अचार बनाउन प्रोत्साहन गरेपछि अचार बनाएर बिक्री गर्न सुरु गर्नुभएकी मञ्जु दिदीले बनाएको अचारको अचेल स्वदेशभन्दा विदेशमा बढी माग छ । उहाँले अघिल्लो महिना मात्रै डेनमार्कमा डेढ लाख रुपियाँ बराबरको अचार पठाउनु भएको थियो ।
वानेश्वरको थापागाउँमा कोठा भाडामा लिएर बस्दै आउनुभएकी मञ्जु दिदीले अचारका लागि चाहिने सामान उपत्यकाबाहिरबाट ल्याउने र आफ्नै हातले अचार बनाएर बेच्नुहुन्छ । अचारको माग बढी छ तर अरूले बनाउँदा स्वाद बिग्रिन्छ कि भनेर अहिलेसम्म अरूलाई नराखेको र दिनदिनै माग बढेकाले अब भने मान्छे राख्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
स्वदेशमा रोजगारीका केही अवसर नै छैनन् भन्नेका लागि मञ्जु दिदीले भन्नुभयो, ‘अचार बेचेर अहिले मेरो मासिक आम्दानी कम्तीमा पनि ५० हजार रुपियाँ हुन्छ । त्यो बराबरको सामान कोठैबाट जान्छ ।’ पहिले आफ्नै आफन्तलाई मात्रै थोरै बनाएर बिक्री गर्दै आएकी मञ्जु दिदीले यस्ता व्यापार मेलामा आउन थालेपछि अचारको माग ह्वात्तै बढेको अनुभव सुनाउनुभयो । उहाँ डेढ वर्षअघि यस्तै मेला आएर अवलोकनकर्तालाई अचारको स्वाद चखाएपछि अचारको माग दिनदिनै बढेको हो । उहाँ भन्नुहुन्छ, यो अचार एक पटक खानेहरू खोजीखोजी आउनुहुन्छ । अहिले त अचारको माग पूरा गर्नै हामीलाई गाह्रो भएको छ । अचेल यस्ता मेला आयोजना गर्नेहरूले पनि आइ दिनलाई आग्रह गर्नुहुन्छ र आउँछौ उहाँले भन्नुभयो, ‘यहाँ आउँदा हामीलाई नै धेरै फाइदा हुन्छ ।’
पहिले पोते र माला बनाएर बिक्री गरेर काठमाडौँमा घरभाडा तिर्ने, छोराछोरी बढाउने र पढाउने काम जनतन गर्दै आएकी उहाँ अहिले अचारबाट भएको आम्दानीले दङ्ग हुनुहुन्छ । सामान्य सीप र काम गर्ने जाँगर हुने हो भने पैसा कमाउन विदेश जानु पर्दैन भन्ने उहाँ नै काफी हुनुहुन्छ । आफू जस्ता साना उद्यमीले सरकारबाट ठूलो अपेक्षा नगरेको भन्दै उहाँले भन्नुभयो, ‘साना उद्यमीका लागि सरकारले बेला वखतमा निःशुल्क स्टल वितरणको व्यवस्था गरिदिए हुने थियो तर त्यसतर्फ सरकारको ध्यान पुगेको देखिँदैन, दुःख लाग्छ ।’
साना तथा मझौला व्यापार महासङ्घ नेपालका प्रथम उपाध्यक्ष इनु पौडेलले आफूले हरेक पटक गर्ने व्यापार मेलामा सानो लगानी गरेका तर बाहिर आउने अवसर नपाएका महिला उद्यमीको उत्पादनलाई बढी प्राथमिकता दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यापार मेलामार्फत मञ्जु दिदीजस्ता घरभित्रै सीमित धेरै महिला उद्यमीलाई माथि उठाएर उनीहरूको उत्पादनलाई बजारीकरण गर्न सफल भएको छाँै, यसैमा सन्तुष्ट छौँ ।’  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?