logo
२०८१ बैशाख १५ शनिवार



मलको मारमा किसान

अर्थ |


मलको मारमा किसान


सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असोज १ गते । सिन्धुलीमा खेतीको सिजनमा पनि रासायनिक मल नपाउँदा किसान मारमा परेका छन् ।
धान र कोदो गोडेका किसानले बजारमा रासायनिक मलको अभाव रहेको गुनासो गरेका छन् । कमलामाई नगरपालिका–९ भिमानका किसान वीरबहादुर भुजेल धान गोडेपछि रासायनिक मल खोज्दै जिल्ला सदरमुकाम सिन्धुलीमाढी आइपुग्नुभएको छ । उहाँले भन्नुभयो, भएको १० कट्ठा खेतमा दुःख गरेर रोपेको धान बाली गोडेको थिएँ । युरिया मल हाल्न पाए उब्जनी बढ्ने थियो, कतै पाइएको छैन ।
कृषि सामग्री कम्पनीले स्थानीय कृषि सहकारी संस्थामार्फत किसानलाई मल बिक्री गर्ने व्यवस्था मिलाए पनि साउनदेखि नै मलको अभाव रहेको उहाँले सुनाउनुभयो । सिन्धुलीमाढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले पनि सिन्धुली, रामेछाप र दोलखा जिल्लामा रासायनिक मल वितरण गर्ने जिम्मेवारी पाए पनि अभावमा पु¥याउन नसकेको जनाएको छ ।
रासायनिक मलकै अभावमा यो वर्ष दोलखामा पठाउन नसकिएको उक्त कम्पनीका प्रमुख सन्तोषकुमार यादवले जानकारी दिनुभयो । एक महिनाअघि नेपालमै रासायनिक मलको अभाव थियो र यहाँ पनि अभाव देखिएको थियो, उहाँले भन्नुभयो, मलको समस्या विस्तारै सहज हुँदै गएको छ । अब हप्ता १० दिनमा सहज हुन्छ होला । कम्पनीले साउनमा ६३ मेट्रिकटन युरिया बिक्री गरेको जनाएको छ ।
त्यस्तै भदौमा सिन्धुलीमा मात्रै युरिया ३१ दशमलव छ मेट्रिकटन, डीएपी सात दशमलव आठ मेट्रिकटन र पोटास एक दशमलव तीन मेट्रिकटन बिक्री वितरण गरिए पनि मागअनुसार पु¥याउन नसकिएको कम्पनीका प्रमुख यादवले सुनाउनुभयो ।
कम्पनीले मल बिक्रेता सूची दर्ता प्रमाणपत्र भएको, सम्बन्धित वडाको सिफारिस, मल मागको बैठकको निर्णयको आधारमा स्थानीय कृषि सहकारी संस्थालाई रासायनिक मल बिक्री वितरण गर्दै आएको जनाएको छ । एउटा सहकारी संस्थाले एकपटकमा कम्तीमा पनि सय बोराभन्दा धरै मल मागेका छन्, सबैतिर अलिअलि पु¥याउन ३०÷३५ बोराका दरले दिँदै आएको छु, कम्पनीका प्रमुख यादवले थप्नुभयो ।
गोलान्जोर गाउँपालिका–१ स्थित डुडभञ्ज्याङ कृषि सहकारी संस्थाका बिक्रेता सोमनारायण मानन्धर रासायनिक मलको हाहाकार नै भएको बताउनुहुन्छ । कृषि सामग्री कम्पनीमा रासायनिक मल लिन आउनुभएका बिक्रेता मानन्धरले भन्नुभयो, असार २० गतेतिर ४० बोरा युरिया बिक्री वितरण गरिएको थियो, अहिले पनि १५० बोरा युरिया लिन आएको छु । कति पाइने हो ।
१५० बोरा नै दिए पनि गाउँमा नपुग्ने र सबै किसानले अझै मल नपाएको उहाँको भनाइ छ । बिक्रेता मानन्धरका अनुसार यतिखेर गाउँमा धान र कोदोमा हाल्न रासायनिक मलको माग बढ्दो छ । कृषि सामग्री कम्पनीले प्रतिबोरा ७७४ रुपियाँमा सहकारीलाई युरिया मल बिक्री गर्ने र सहकारीले ठाउँ अनुसार ढुवानी खर्च जोडेर कमिसन लिएर किसानलाई प्रतिबोरा एक हजार रुपियाँसम्ममा मल बिक्री गर्दै आएका छन् ।
यो वर्ष पनि सिन्धुलीका २० वटा र रामेछापका दुईवटा गरी २२ वटा सहकारी संस्थामार्फत रासायनिक मलको कारोबार गर्दै आएको कम्पनीका प्रमुख यादवले बताउनुभयो । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०७५÷०७६ मा युरिया दुई हजार मेट्रिकटन, डीएपी पाँच सय मेट्रिकटन र पोटास ३० मेट्रिकटन बिक्री वितरण भएको थियो । चालू आर्थिक वर्षका लागि युरिया दुई हजार पाँच सय मेट्रिकटन, डीएपी सात सय मेट्रिकटन र पोटास ४० मेट्रिकटन क्षेत्रीय कार्यालय वीरगञ्जसमक्ष माग गरिएको छ । ‘कति स्वीकृत भएर आउने हो, थाहा छैन,’ कम्पनीका प्रमुख यादवले भन्नुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?