logo
२०८१ बैशाख १५ शनिवार



छ महिनापछि स्मार्ट मिटर

अर्थ |


छ महिनापछि स्मार्ट मिटर


गोपालचन्द्र सुवेदी

काठमाडौँ, भदौ ५ गते । विद्युत् वितरण प्रणालीलाई थप चुस्त बनाउने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले अबको छ महिनामा ग्राहकलाई स्मार्ट मिटर उपलब्ध गराउने गरी तयारी तीव्र पारेको छ । प्राधिकरणका अनुसार पहिलो चरणमा काठमाडौँ उपत्यकाबाट यसको सुरुवात हुनेछ । डेढ वर्षभित्र पूरा हुनेगरी उपत्यकामा ९८ हजार स्मार्ट मिटर जडान गर्न लागिएको हो ।
प्राधिकरण आयोजना व्यवस्थापन विभाग प्रमुख मनोज सिलवालका अनुसार प्राधिकरणको महाराजगञ्ज र रत्नपार्क वितरणअन्तर्गतका उपभोक्ताको परम्परागत मिटरहरू स्मार्ट मिटरबाट प्रतिस्थापित हुनेछन् । “अबको १८ महिनाभित्र ९८ हजार स्मार्ट मिटर जडान गरिसक्ने गरी तीन महिना पहिलेदेखि नै काम सुरु भइसकेको छ,” उहाँले भन्नुभयो, पुराना मिटर प्रतिस्थापनको काम छ महिनामा सुरु गर्ने योजना छ ।
चिनियाँ ठेकेदार कम्पनीले अहिले स्मार्ट मिटर सञ्चालनका लागि आवश्यक सञ्चार प्रणाली स्थापनाको काम गरिरहेको छ । प्राधिकरणले यस्तो सञ्चार प्रणाली मुलुकभर नै विस्तार गर्नसक्ने गरी स्थापना गर्न लागेको हो । स्मार्ट मिटरलाई विद्युत् कार्यालयबाटै अनुगमन, नियन्त्रण तथा व्यवस्थापन गर्न मिटरका सूचना सर्भरमा ल्याउनका लागि छुट्टै सञ्चार प्रणाली स्थापना गर्न लागिएको हो ।
स्मार्ट मिटर जडान भएपछि प्राधिकरणले मिटर ‘रिडिङ’का लागि घरघरै रिडर पठाउनु पर्ने छैन । प्रत्येक ग्राहकको विद्युत् खपत प्रवृत्ति पनि प्राधिकरणले हेर्न सक्नेछ । त्यस्तै विद्युत् चोरी तथा चुहावट नियन्त्रण गर्न पनि यसले सहयोग पुग्ने अपेक्षा प्राधिकरणको छ । ग्राहकले आफ्नो घरमा आइरहेको विद्युत्को गुणस्तर (भोल्टेज) तत्काल जान्न सक्ने सुविधा यसबाट प्राप्त गर्न सक्नेछन् ।
जडान गर्न लागिएको स्मार्ट मिटरमा ग्राहकले अग्रिम भुक्तानी गर्ने सुविधा पनि उपलब्ध छ । तर प्राधिकरणले यसलाई उपयोग गर्ने सोच भने अझै बनाएको छैन । यसको प्रयोगका
लागि रिचार्ज कार्डलगायतका पूर्वाधार व्यवस्था गर्नुपर्ने हुन्छ ।
नेपालमा प्रयोग गर्नका लागि तोकिएको मापदण्डअनुरूप ठेकेदारले आवश्यक नमुना स्मार्ट मिटर परीक्षणका लागि प्राधिकरणमा बुझाइसकेको छ । अहिले मिटरहरूको प्राविधिक परीक्षण भइरहेको र पुराना मिटर प्रतिस्थापनका लागि ग्राहकले कुनै थप शुल्क तिर्नु नपर्ने सिलवालले जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?