logo
२०८१ जेष्ठ ८ मंगलवार



पीएम कप क्रिकेट : पुलिसको लगातार दोस्रो जित

क्रिकेट |
खेलकुद |


पीएम कप क्रिकेट : पुलिसको लगातार दोस्रो जित


काठमाडौँ, पुस २७ गते । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्बललाई चार विकेटले हरायो ।

पहिलो खेलमा सोमबार पुलिसले सुदूरपश्चिम प्रदेशमाथि दुई रनको रोचक जित हात पारेको थियो । जितसँगै चार अङ्क बनाएको पुलिस समूहको शीर्षस्थानमा छ । पुलिसले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । आर्मीले पहिलो खेलमा सोमबार कर्णाली प्रदेशलाई ६३ रनले हराएको थियो ।

आर्मीले जितका लागि दिएको एक सय सय ३८ रनको विजय लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाउनुभयो । रासिद खानले २८, दिलिप नाथले अविजित २५ र अनिल साहले २२ रन बनाउनुभयो । बलिङमा आर्मीका साहाव आलमले सर्वाधिक तीन विकेट लिनुभयो । जितेन्द्र मुखियाले दुई तथा कुशल मल्लले एक विकेट झार्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन बनाउनभयो । सोमपाल कामीले ४२ रन जोड्नुभयो । बलिङमा पुलिसका करण केसीले सर्वाधिक चार विकेट लिनुभयो । गुल्सन झा र योगेन्द्र सिंह कार्कीले दुई् दुई तथा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो ।

कर्णालीले प्रदेश १ लाई हरायो

मुलपानी मैदानमा भएको समूह ‘ए’ को अर्को खेलमा कर्णाली प्रदेशले प्रदेश १ लाई ३१ रनले हरायो । जितका लागि एक सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १७.५ ओभरमा सवै विकेटको क्षतिमा ८९ रनमा समेटियो ।

प्रदेश १ का लागि फिर्दोश अन्सारीले सर्वाधिक २३ रन बनाउनुभयो । दिपेश कडेल र श्रवण यादवले समान १५–१५ तथा कप्तान सिद्धान्त लोहनीले १४ रन बनाउनुभयो । बलिङमा कर्णालीका अनुज चुनारा सर्वाधिक चार विकेट लिनुभयो । दिवान पुनले दुई तथा दिनेश अधिकारी, प्रकाश जैसी र अनुप कुवरले एक एक विकेट झार्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा गुमाएर एक सय २० रन बनाएको थियो । कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३६ रन बनाउनुभयो । प्रकाश जैसीले २५ रन जोड्नुभयो । बलिङमा प्रदेश १ का मुकुन्द यादवले तीन विकेट लिनुभयो । फिर्दोश अन्सारीले दुई तथा कमल खत्री र सिद्धान्त लोहनीले एक एक विकेट लिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?