logo
२०८१ जेष्ठ ४ शुक्रवार

  दृश्य समाचार  



'सही अवसर आए राजनीतिमा आउँछु'

क्रिकेट |
खेलकुद |


'सही अवसर आए राजनीतिमा आउँछु'
तस्विर–मनोजरत्न शाही


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २० गते । नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाले सही अवसर आए राजनीतिमा आउन सक्ने बताउनुभएको छ । यद्दपी उहाँले तत्काल नेपालमा क्रिकेटका विकास नै प्राथमिकतामा हुने प्रष्ट्याउनुभयो । “त्यस्तो अबसर आफूले क्रिकेट ब्यवस्थापन भइसकेपछि मात्रै लिन्छु ।”– उहाँले खुलाउनुभयो । 


अन्तर्राष्ट्रिय क्रिकेटबाट मङ्गलबार सन्यासको घोषणा गर्नुभएका पारसले सञ्चारकर्मीको जिज्ञासालाई एकमुष्ट सम्बोधन गर्न आयोजना गर्नुभएको पत्रकार भेटघाटमा उक्त धारणा राख्नुभएको हो । काठमाडौंमा आज अपरान्ह आयोजित भेटघाटमा उहाँले तात्काल आफू क्रिकेट विकास र प्रवर्धनका लागि ब्यवस्थापकीय जिम्मेवारीमा आउने लक्ष्य राखेको बताउनुभयो । “ब्यवस्थापकीय जिम्मेवारीमा आउन चुनावमा जानुपर्छ, शून्य समयमा त्यसका लागि अभ्यास गर्नेछु ।” उहाँले बताउनुभयो ।
क्रिकेटमा ब्यवस्थापकीय जिम्मेवारीमा सङ्घका पदाधिकारी वा प्राविधिक क्षेत्रतर्फ भने जिज्ञासामा पूर्व कप्तान पारसले नीति निर्माण गर्ने गरी क्रिकेट विकासका लागि कार्यान्वयन गर्ने स्थानमा पुग्ने इच्छा ब्यक्त गर्नुभयो । उहाँले आफू सन् २०११ मा राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त हुँदादेखि नै ब्यवस्थापकीय जिम्मेवारीले क्रिकेटलाई पुर्याउन सक्ने योगदानबारे अवगत् भएको अनुभव सुनाउनुभयो । उक्त अनुभवकै आधारमा आफू ब्यवस्थापकीय जिम्मेवारी आउन रोजेको खुलाउनुभयो ।
पारसले ब्यवस्थापकीय जिम्मेवारीमा पुग्न क्यानको अधिवेशन कुर्नुपर्ने हुन्छ । जसका लागि दुई वर्ष समय बाँकी छ । पदाधिकारीका लागि छनोट हुन राष्ट्रिय टोलीबाट अवकास लिएको कम्तिमा दुई वर्ष समय बिताएकाे हुनुपर्ने ब्यवस्थाकै कारण उहाँले सन्यास लिएको बुझिन्छ । यद्दपी नेपालले सन् २०१८ अगष्ट तीनमा अन्तर्राष्ट्रिय एकदिबसीय क्रिकेट खेल्न आईसीसीबाट मान्यता पाएको दिनकै अवसर पारेर सन्यासको घोषणा गर्नुभएको छ ।
नेपालमा जिल्ला, प्रदेश र सङ्घ गरी तीन तहमा क्रिकेट सङ्घको विभाजन गरिए झैं क्रिकेट खेल्ने प्रारुप पनि त्यसै बमोजिम अगाडि बढ्नुपर्ने उहाँले सुझा दिनुभयो । क्रिकेट विकासका लागि आफूले अबको तीन चार महिनाभित्रै एकेड्मी सञ्चालन गर्ने तयारी गरेको उहाँले खुलाउनुभयो । ब्यवस्थापकीय जिम्मेवारीमा पुग्नु अघिसम्मको शून्य समय कसरी उपयोग गर्ने सम्बन्धमा पारसले छिट्टै एकेड्मी सञ्चालन गरेर खेलाडी उत्पादनको कार्य सुरु गर्ने बताउनुभयो ।
अचानक सन्यास लिनुको कारणबारे प्रष्ट्याउनुहुँदै उहाँले भन्नुभयो,“उमेर ३४ वर्ष मात्रै भए पनि नेपाली क्रिकेटमा मैले करिब लामो समय बिताएको छु, तसर्थ यो हतारको उद्घोष होइन ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?