logo
२०८१ बैशाख १४ शुक्रवार



पारसद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास, यस्ताे छ क्रिकेट यात्रा

क्रिकेट |
खेलकुद |


पारसद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास, यस्ताे छ क्रिकेट यात्रा
तस्विर-क्रिकेटिंगनेपाल


इश्वरचन्द्र झा 
काठमाडौं, साउन १९ गते । नेपालको राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान एवम् अलराउन्डर पारस खडकाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । करिब दुई दशक नेपाली क्रिकेटमा निरन्तर राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्पर्धामा प्रदर्शनले चर्चा बटुल्नुभएका अनुभबी पारसले मंगलबार बिहान सन्यास लिने निर्णयमा पुगेको जानकारी सार्बजनिक गर्नुभएको हो । उहाँले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिएपनि नेपाली क्रिकेटका लागि आफ्नो सपनालाई साकार पार्न नयाँ उचाइमा पुर्याउने विश्वास ब्यक्त गर्नुभएको छ ।
पूर्ब कप्तान पारसले आफ्नो क्रिकेट जिवनबाट सन्यास लिएको नेपाल क्रिकेट संघ(क्यान)ले पुष्टि गरेको छ । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले पूर्ब कप्तान पारसनले इमेल गरी सन्यासबारे जानकारी गराउनुभएको बताउनुभएको छ । “पारसको अचानकको सन्यासको घोषणाले नेपाल क्रिकेट संघ स्तब्ध छ” भन्दै क्यानका कोषाध्यक्ष सिंहले नेपाललाई विश्वकपसम्म पुर्याउने सपनालाई साकार बनाउन उहाँको अनुभब र प्रदर्शनको खाँचो रहेको समयमा उक्त निर्णय आएको बताउनुभयो ।
पारसले आफ्नो सन्यासबारे घोषणा गर्नुभएको वक्तब्यमा नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता ब्यक्त गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको बताउनुभएको छ ।
राष्ट्रिय क्रिकेट टोलि हाल अन्तर्राष्ट्रिय एकदिबसीय श्रृखंला खेल्ने तयारीमा रहेको छ । बन्द प्रशिक्षण सोमबारबाट मात्रै सुरु भएको छ । सोमबार पहिलो दिन पारस बन्द प्रशिक्षणमा सहभागी हुनुभएन ।
नेपालमा गत् अप्रिल महिनामा सम्पन्न नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय टी ट्वान्टी क्रिकेट श्रृखंलामा घाइते भएपछि पारस टोलिबाट बाहिरिनुभएको थियो । उहाँको स्थानमा कुशल भुर्तेलले अबसर पाउनुभएको थियो । २०७६ को फागुनमा नेपालले थाइल्याण्डमा एसीसी इस्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्दा पारस टोलिका सदस्य हुनुहुन्थ्यो । उक्त प्रतियोगिता नै पारसको अन्तर्राष्ट्रिय प्रतियोगिता रहन गयो । 
पारस १५ वर्षको छदा सन् २००२ मा पहिलो पटक क्रिकेट यात्रा सुरु गर्नुभएको थियो । त्यसयता, उहाँ अलराउन्डरको भूमिकामा निरन्तर नेपालको राष्ट्रिय टोलिको प्रतिनिधित्व गरी चर्चा बटुल्नुभएको छ ।
पारसले सन् २००४, २००६ र २००८ को १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्नुभएको छ । सन् २००९ मा उहाँले राष्ट्रिय टोलिको नेतृत्व गर्ने जिम्मेवारी पाउनुभयो ।
सन् २००६ मा आईसीसी प्लेट च्याम्पियनशीपको सेमीफाइनलमा दक्षिण अफ्रिकालाई हराउन पारसको अन्तिम ओभरको बलिङ अझै स्मरणीय छ । सन् २००७ मा १९ वर्ष मुनिको एसीसी ट्रफी २००७ मा पारसको बलिङले नेपाललाई लगातार दोस्रो पटक प्लेट फाइनलसम्म पुर्यायो । उहाँले उक्त प्रतियोगितामा १२ विकेट लिनुभयो ।
नेपालको प्रतिनिधित्व गरी दश अन्तर्राष्ट्रिय एकदिबसीयमा पारसले एक शतक र एक अद्र्धशतकसहित ३१५ रन बनाउनुभएको छ । बलिङमा उहाँले नौ पारीमा नौ विकेट लिनुभएको छ । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उहाँले ३२ खेलमा एक शतक र चार अद्र्धशतकसहित ७९९ रन बनाउनुभएको छ । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उहाँले आठ विकेट लिनुभएको छ ।
अन्तर्राष्ट्रिय स्पर्धामा उहाँले नेपालका लागि छ खेलमा नेतृत्व गर्नुभएको छ । सन् २०२० मा पारसले कप्तानीबाट राजिनामा गरेपछि ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले उहाँलाई बिस्थापित गर्नुभयो ।
गत् मङ्सिरमा पारसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले दशकको एशोसिएट क्रिकेटरको रुपमा मनोनयन गरेको थियो । पारसकै नेतृत्वमा नेपालले पहिलो पटक सन् २०१४ को टी ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल विश्वकप क्रिकेटमा छनोट हुन सकेको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?