logo
२०८१ बैशाख १४ शुक्रवार



कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’ मा मनाेनीत

क्रिकेट |
खेलकुद |


कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’ मा  मनाेनीत


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २२ गते । राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को ‘प्लेयर अफ द मन्थ’ मनोनीत हुनुभएको छ । आईसीसीले क्रिकेटको तीनवटै स्वरुपमा गत् अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गरेका तीन जना खेलाडीको नाम मनोनीत गरेकोमा दुई जना पाकिस्तानी खेलाडीसँगै कुशल भुर्तेलसमेत मनोनीत हुनुभएको हो ।
कुशल भुर्तेल, नेपाल
नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंलाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा गत् अप्रिल महिनामा पर्दापण गर्नुभयो । डेब्यु प्रतियोगितामै लगातार तीन अर्धशतक लगाएर उहाँले विश्व कीर्तिमान बनाउनुभयो । डेब्यु गर्दा लगातार तीन खेलमा अर्धशतक लगाउने उहाँ विश्वकै पहिलो ब्याट्सम्यान हुनुभयो । अन्तर्राष्ट्रिय टी ट्वान्टीको पाँच खेलमा उहाँले २७८ रन बनाउनुभयो । पहिलो प्रतियोगिता खेलेपछि मात्रै टी ट्वान्टीको विश्व वरीयताको एक सय ब्याट्सम्यानको सूचीमा भुर्तेल सूचीकृत हुनुभयो ।

बाबर आजम, पाकिस्तान
आईसीसीले जारी गरेको सूचीमा पाकिस्तानका बाबर आजम, फखार जमानसँगै कुशल भुर्तेल मनोनीत भएका हुन् । बाबरले दक्षिण अफ्रिका विरुद्धको तीन एकदिवसीय श्रृंखलाको दुई खेलमा १०३ र ९४ रन बनाउनुभएको छ । उक्त श्रृंखलामा उहाँ दुई पटक प्लेयर अफ द् म्याच घोषित हुनुभयो । १०४ को स्ट्राइक रेटले उहाँले तीन खेलमा २२८ रन बनाउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा भारतका कप्तान विराट कोहलीलाई उछिनेर विश्व वरीयताको शीर्षस्थानमा उक्लिनुभयो । पाकिस्तानका जहीर अब्बास, जावेद मियाँदाद र मोहम्मद युसूफपछि विश्व वरियताको शीर्षस्थानमा उक्लिने उहाँ पहिलो क्रिकेटर हुनुहुन्छ ।
गत् अप्रिल महिनामा नै उहाँले दक्षिण अफ्रिका र जिम्बाबवे गरी दुई टोली विरुद्ध सात टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभयो । जसमा उहाँले दुई अर्धशतकसहित ३०५ रन बनाउनुभयो ।
फखार जमान, पाकिस्तान
फखारले आफ्ना सहखेलाडी बाबरलाई पछ्याउँदै तीन अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा एक सयको औसतले ३०२ रन बनाउनुभयो । उहाँले तीन खेलमा दुई शतक लगाउनुभयो । जसले उहाँले अन्तर्राष्ट्रिय एकदिवसीयको विश्व वरीयतामा अहिलेसम्मकै उच्च सातौं स्थानमा उक्लिन सफल हुनुभयो ।

आईसीसीले क्रिकेटको तीनवटै स्वरुपमा गत अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गरेका तीन जना खेलाडीको नाम मनोनीत गरेकोमा दुई जना पाकिस्तानी खेलाडीसँगै कुशल भुर्तेलसमेत मनोनीत हुनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?