logo
२०८१ बैशाख १५ शनिवार



‘मेरो कार्टुन बनाइदिनूस्’

कला |


‘मेरो कार्टुन बनाइदिनूस्’


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ३० गते । “मेरो कार्टुन बनाइदिन मिल्छ ?” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको आग्रहलाई कार्टुनिस्ट अबिन श्रेष्ठले स्वीकार्दै कार्टुन तयार गर्न थाल्नुभयो । कार्टुन कोरिरहँदा मन्त्री आलेले बीचबीचमा रमाइलो गर्नुहुन्थ्यो, “मेरो कार्टुन बनाउन पनि सजिलै होला । पुक्क गाला र ठूलो भुँडी स्केच गरे त म बनिहाल्छु नि हैन ?” उहाँले लाफिङ बुद्धको शरीरमा आफ्नो टाउको जोडिदिँदा पनि आफ्नो कार्टुन बन्छ होला भन्दै रमाइलो पनि गर्नुभयो ।

कार्टुनिस्ट अबिनले १५ मिनेटमा मन्त्री आलेको कार्टुन कोरिसक्नुभयो । आफ्नो कार्टुन देखेर उहाँले प्रतिक्रिया दिनुभयो, “दुरुस्त बनाउनुभएछ । यो कार्टुन लैजान मिल्छ नि ?” कार्टुनिस्ट अबिनले स्वीकृति दिएलगत्तै मन्त्री आलेले आफ्ना सहयोगीलाई आफ्नो कार्टुनलाई गाडीमा राख्न अह्राउनुभयो ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र नेपाल कार्टुनिस्ट क्लबले बिहीबार आयोजना गरेको प्रथम महिला क्यारिकेचर कार्यशालामा मन्त्री आलेको कार्टुन बनाइएको थियो । कार्टुनका माध्यमबाट विसङ्गतिका विषयलाई उठान गर्ने चलन भएको तर मन्त्री आलेको कार्टुन हालसम्म बनाउनुनपरेको अबिनले बताउनुभयो ।

कार्यशालामा कला विषय अध्यापन हुँदै आएका आठ विद्यालय र क्याम्पसका २३ जनाको सहभागिता रहेको छ । कार्यशालामा सहभागीले कला, सङ्गीत, चलचित्र आदि क्षेत्रका ‘सेलिब्रेटी’का क्यारिकेचर उतार्नुभएको छ । ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गर्नुभएको कार्यशालामा क्यारिकेचरको इतिहास, प्रविधि र वर्तमान अवस्थाबारेमा कार्टुनिस्ट केशवराज खनालले जानकारी दिनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?