logo
२०७८ कार्तिक ५ शुक्रवार



बौलाही

कला |


बौलाही


बादलदेवी चाम्लिङ

“बौलाही आई, बौलाही आई...।” बजारका मान्छेहरू हल्लाखल्ला गर्दै आआफ्नो पसलको ढिक आधा बन्द गरेर भित्र पस्दै छन् ।
“अबुई बौलाही ।” चिया पसले काकाको छोरो आँगनबाट भित्र हुर्रियो ।
“के रे ? को बौलाही हँ ? तेरो मुख ताछिदिऊँ ?” हातको खुर्पा उज्याउँदै उनी सीधै पसलभित्र पसिन् । केटो डराएर कहालिँदै आमा छेउ पुग्यो । पसले काका, काकी आफ्नो छोरो च्यापेर चुलो कोठाभित्र पसे र भित्रबाट ढोकाको चुकुल लगाए ।
बौलाही खुर्पा नचाउँदै प्यासेजमा उफ्रिन थालिन् ।
कैँचीमारे मैलो गुन्यु, कुम धस्रिएको घुर्मैलो चौबन्दी चोली, उस्तै पटुकी बाँधेकी, थाङ्ग्रो लगाउन नपाएर चापट परेको कपालमा झुत्रो बर्को गुथेकी छन् ।
हातमा खुर्पा, हुँ... हुँ... हँु... हुस्... हुस्... सास जोड जोडले तान्दै कराइरहेकी छन् ।
“तँ बाहिर जा... तुरुन्तै बाहिर निस्की त ।” पसले काका भित्रबाट कराउँछन् । दाउराको चिर्पट उज्याउँछन् । पछि सर्दै बौलाही त टेबलमाथि चढेर भ¥याङ हुँदै टाँढमा पो पसिन् ।
दुई, चारवटा सरकारी कार्यालयहरू, एउटा अस्थायी प्रहरी चौकी र केही ससाना पसल भएको गाउँको सानो बजार हो यो । औँसी र पूर्णे गरी महिनामा दुई पटक हाट लाग्छ ।
बजार शिर पुच्छरका मान्छे एकैछिनमा पसलअगाडि जम्मा भए । बाहिर निस्की बौलाही भन्दै कराउन थाले । टाँढमा पसेकी बौलाहीलाई थाहा भयो, बाहिर मान्छेहरूको भीड भयो ।
“तिमार्ले मलाई कुट्ने ? अब चकमक ठोसेर तेरो घर जलाइदिन्छु ।” उनी अँध्यारो टाँडबाटै कराउँदै छिन् । पटुकीमा झुलो, चकमक बोकेकी छन् ।
हातमा लठ्ठी लिएर कराउँदै गरेका मान्छेहरू सल्र्याकसुर्लुक्कै ओइलाए ।
“लौन अब के गर्ने !” पसले काकाकाकी सानो मुख लगाएर बाहिर भीडसँग अनुनय गर्न थाले ।
केही वर्षअघि गोठको भैँसी, खोरको लोभलाग्दा खसी, बोकाहरू र गाउँको घरबारी बेचबिखन गरेर यो घर किनेको हो । अगाडिको बायाँ कोठामा किराना पसल र दायाँपट्टि चिया पसल रामरी चलेको छ । ढुङ्गा, माटोको गाह्रोमा खरको छानो, आगो लाग्यो भने निभाउन गाह्रो हुन्छ ।
पसले काकाकाकीको ओठ, मुख सुक्यो । सबै त्रासमा छन् ।
बौलाहीले चिया पसलेको घर आगो लगाउने भई भन्दै सँगै जोडिएका घरका घरधनीहरू घरभित्रबाट सरसामान निकाल्नुपर्छ भन्नेमा पुगे । छानोबाट धुँवाको मुस्लो रकेटझैँ आकाशिने भो ! कस्तो बित्यास ! कोही आकाशतिर नियाल्न थाले ।
ठीक यसै बेला बजार पुच्छरबाट केही बुढापाकाहरू सुरक्षाकर्मी लिएर आए । बाहिरको भीडलाई शान्त रहन सङ्केत गर्दै हल्ला नगरीकन उनीहरू भित्र छिरे । टाँड पस्ने भ¥याङनेर पुगेर नम्र भाषामा केके बेलिबिस्तार लगाए । निक्कैबेर भित्रबाट सबै जना उज्यालो अनुहारमा निस्किए । पसले काकाकाकीले लामो सुस्केरा ताने ।
सुरक्षाकर्मीहरूले भीडलाई सम्बोधन गरे, समस्या समाधान भयो, हामीले उहाँलाई टाँडबाट सुरक्षित साथ ओरालेर पछाडिपट्टिबाट घर पठाइदियौँ ।
केही दिनपछि ।
चरनबाट फर्केका भेडाबाख्राझैँ हामी विद्यार्थी स्कुल छुटेपछि गुरुरु आउँदै छौँ । सबैजना बजारको बाटो भएर छुट्नुपर्छ ।
मान्छेहरू बरन्डामा निस्केर डाँडातिर नियाल्दै छन् । बौलाही खुर्पा नचाउँदै तथानाम बोल्दै बजार बीचबाट डाँडातिर चढ्दै रहिछन् । उनलाई यसो बोल्न हुन्न भन्न सक्ने कोही छैनन् । सुन्नुबाहेक अर्को उपाय छैन ।
“यो बौलाहीलाई कसैले नचलाउनू, केही नभन्नू । लाज नभएकी आइमाई ।” यता एक जना यसो भन्छन् ।
“यो मान्छे भए पो लाज, शरम हुन्छ । पुल्ठो लगाएर खेदाउनुपर्ने ।” उताबाट अर्को बोल्छ ।
“नानीहरू जोगाउन मुस्किल भो, जहिल्यै हातमा खुर्पा हुन्छ । केही बोल्नै हुन्न, खुर्पा उज्याइहाल्छे ।”
हरे शिव ! कस्तो आपत्, सबै एकै स्वर लगाउँदै छन् ।
हामी बस्ने घर बजार एकाछेउमा छ । बहिनी र भाइ मेरो मुखमा हेरिरहेका छन् । म नडराएजस्तो नक्कल गर्दैछु । पापा र आमा तराई झर्नुभएको छ । केही दिनपछि मात्र आउनुहुन्छ ।
साँझ प¥यो ।
बेलुकीको खाना खाएर हामी टाँडमा चढ्ने तरखर गर्दैछौँ । कुपीको उज्यालो छ ।
हुँ... हुँ... हुँ... हुँ हु... एक्कासि बाहिर आँगनबाट चर्को स्वरमा मान्छे रोएको आवाज आयो । बौलाही आइछन्, हत्तपत्त ढोका ढप्काएँ । अरू बेला पनि कहिलेकाहीँ यसरी कोकोहोलो रुँदै हिँड्छिन् । यिनलाई चलाउनु हुन्न, हातको खुर्पा उज्याइहाल्छिन् ।
अस्ति चिया पसलेको घरभित्र पस्दा बिच्किएकी छन् भनेर बजारका मान्छेहरू भनिरहेका थिए, अब परेन फसाद !
सुत्न जानलाई बाहिर निस्किएर आँगनको भ¥याङबाट माथि चढ्नुपर्छ । भ¥याङको फेदमा नै यो बौलाही रोएर बसिरहेकी छ । रातभरि यही बस्नु प¥यो भने के होला ?
हुँ... हुँ... हुँ... हुँ... हुँ... पर्खी पर्खीकन स्वर तान्दै रोइरहेकी छिन् ।
“चुप बस है, बौलाहीले सुन्छे ।” भाइबहिनीलाई थुम्थुम्याउँदै छु । उनीहरू सास रोकर भुइँमा क्रुक्क बसे ।
ढोका ठेलेर बौलाहीभित्र पस्ने हो कि भन्ने भो । चुकुल दह्रो बनाएँ । हात र जिउ पूरै लगलग कामिरहेको छ । चुल्हो छेउको खुकुरी हातमा लिएँ । बिजुलीको तारबाट बनेको खुकुरी हो, लग्गा छ ।
हात कामेर खुकुरी भुइँमा खस्ला जस्तो भइसक्यो ।
मनले भन्यो, अब जे होला । भित्र पसेर भाइ, बहिनीमाथि आइलागी भने आज यो बौलाहीलाई म
छाड्दिनँ । छप्काउँछु यही खुकुरीले, तयार भएँ ।
डर मानेर बसिरहन सकिन्न रहेछ । कि त पछाडि सर्नुप¥यो, कि त अगाडि बढ्नुप¥यो । अब आटेँ । चुकुल सुलुत्त तानेर ढोका खोलेँ । रोएकै ठाउँमा हान्नुप¥यो भनेर खुकुरी के उजाएकी थिएँ, दुईवटा बिरालो पो ङ्याउ... गर्दै खुरुरुरु भागेर दुईतिरबाट डिल काटेर गयो । डरले सास रोकेर बसेका भाइ बहिनी नाना... भन्दै छेउमा आए ।
ढोका बन्द ग¥यौँ । डरले कामिरहेका खुट्टाहरू लर्बराउँदै छन् । बलैले भ¥याङ चढेर ढपके लगाएर सुत्यौँ ।
भोलिपल्ट साँझ पर्नअघि आ.वा. गएँ । आ.वा. अफिस बजार पुछारमा छ । पापा र आमालाई बोलाइदिनुस् भनेँ । केही छिनपछि आउनुभयो । उहाँहरूलाई सबै कुरा भनेँ । पहिले त मरी मरी हाँस्नु भयो । पछि चाहिँ ल ल रामरी बस्नु, हामी छिट्टै आउँछौँ भन्नुभयो । म फर्किएँ ।
बाटोमा एउटा पसल अगाडि उही बौलाही र उनकै गाउँको गासस गफ गर्दै हिँड्दै पो छन् ।
“मान्छेहरूलाई केही नगर्नु काकी । यिनीहरू तपार्इंंसँग धेरै डराउँछन् ।” गासस बोल्दै छन् ।
“के गर्नु त कान्छा । यिनेले बौलाही भन्छन् । म बौलाही हुँ र ? ठुलाले तिनेर्को चिङ्नालाई पनि बौलाही भन्न सिका’को छ । मलाई गरिखान नदिने ? मैले मेरो घरमा बस्न नपाउने ? छोराछोरी छ । बुढा छ । बुढा बिरामी छ । बिरामी बुढालाई हेर्नुपरो । म पनि बाउको छोरी पो हुँ त । कि कसो कान्छा ? तिमी पनि बोल ।”
“हुन त हो काकी । तर यी मान्छेहरू बुझ्दैनन् । एउटाले जे बोल्यो, भेडाजस्तै अरू उसकै पछि लाग्छन् । यी मान्छेहरू सबै खराब हुन्, बरु तपार्इंं पो सज्जन हुनुहुन्छ ।” गासस फेरि थप्दै छन् ।
“तँ गाससले यिनेलाई केही गर्न सक्दैनस् कान्छा । यिनलाई म तह लगाउँछु ।”
दुवै जना गुन्गुन् गफ गर्दै हात पछाडि बाँधेर उकालो बजारतिर लाग्दै छन् । महिलासँग सधैँझैँ खुर्पा छ । अन्य दिनमा सधैँ जाइलाग्न तयार भएर बस्ने खुर्पा आज हातमा तुर्लुङ्ङ झुन्डिरहेको छ ।
मेरो बालमष्तिष्क झस्कियो । कसैसँग पौँठेजोरी खेल्न नसकेपछि गाउँलेहरू सबै जना एकधुर भइकन एक महिलालाई बौलाही बनाएर यिनीमाथि यसरी खनिएका पो रहेछन् !

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?