logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/



शालीन कवितामा प्रखर व्यङ्ग्य

कला |
शनिवार |


शालीन कवितामा प्रखर व्यङ्ग्य


छविरमण सिलवाल

पाेषण पाण्डे नेपाली कथाका सुपरिचित स्रष्टा हुनुहुन्छ । साहित्यमा उहाँको योगदान कसैले बिर्सनै सक्तैन । अझ उहाँको विरासत थाम्ने सुपुत्रीहरू डा. ज्ञानु पाण्डे र रञ्जु पाण्डेको योगदान पनि नेपाली साहित्यले बिर्सन सक्दैन । पोषण पाण्डेको यही साहित्यिक योगदान बिस्तारै बिर्सिएला भन्ने चिन्ता उहाँको परिवारमा देखियो । त्यसको प्रतिफल एउटा संस्था जन्मियो, त्यो हो पोषण पाण्डे–तीर्थ सदन । यसको मूल उद्देश्य भनेकै पोषण पाण्डेका साहित्यिक कृति तथा योगदानलाई अझै जनमानसमा पु¥याउने नै हो । त्यसैको प्रतिफल हो– पोषण पाण्डेको कविता कृति ‘मेरी नैनी’ । धेरैलाई थाह छ पोषण पाण्डे कथाकारका रूपमा परिचित छन् । कथा व्यक्तित्वले उहाँको कवितालाई ओझेल पारिदिएको थियो । नेपाली साहित्यमा उहाँको कविता कृति २०२५ सालमा प्रकाशित भएको थियो । तर कथा कृति भने २०२१ सालमै प्रकाशित भएको थियो । उहाँको हालसम्म कथासङ्ग्रह तीन र कवितासङ्ग्रह दुई गरी पाँच वटा कृति प्रकाशित छन् । ‘मेरी नैनी’ उहाँको छैटाँै कृति हो ।
उहाँ अहिले हामीमाझ नभए पनि यी कृतिहरूले हामीलाई उहाँ नभएको आभाष भएको छैन । अब उहाँका सिर्जनाहरू यसै सदनमार्फत उजागर हुनेछन् । यसको सुरुवात ‘मेरी नैनी’ बाट भएको छ । नेपाली साहित्यिक मनहरूलाई यो खुसीकै कुरा हो । ‘मेरी नैनी’ भित्र प्रवेश गर्नुभन्दा अघि मैले पाण्डेका साहित्यिक पाटाहरूका बारेमा स्पष्ट पार्न खोजेको मात्र हुँ । वास्तवमा उहाँ आफैँमा एउटा क्षमतावान् कवि हुनुहुँदो रहेछ । उहाँका शक्तिशाली कविताहरू पढ्नबाट वञ्चित रहेछौँ । २०२५ सालमा प्रकाशन भएका कृतिले धान्न नसकेको अवस्थामा यो कृति प्रकाशनमा ल्याउनु पक्कै पनि सुखद कुरा हुन् । यस पुण्यकार्यका लागि पोषण पाण्डे–तीर्थ सदनका सबै धन्यवादका पात्र बनेका छन् ।
नेपाली कविताको क्षेत्रमा बीसको दशकले अत्यन्त शक्तिशाली कविहरूलाई जन्माएको थियो । नेपाली साहित्यमा अहिले पनि गर्वले नाम लिन सक्ने सामथ्र्यवान् कविहरू हाम्रो माझमा हुनुहुन्छ । तुलसी दिवस, मोहन कोइराला, बैरागी काइँलालगायत पारिजात, भूपि शेरचन, विजय मल्ल, ईश्वर बल्लभलगायत थुप्रै कविको लहरमा उभिएका कवि पोषण पाण्डे बीसकै दशकका स्थापित कविका रूपमा हुनुहुन्थ्यो । त्यस समयमा गद्य कवितालाई स्थापित गर्न यी विशिष्ठ कविहरूको ठूलो योगदान छ । त्यसको अग्रपङ्क्तिमा हुनुहुन्थ्यो पोषण पाण्डे । पाण्डेका कवितामा नौला र मौलिक विम्ब तथा सुन्दर बान्की सिर्जित भएकै कारण नेपाली गद्य कविताले लय समातेको देखिन्छ । यस्ता युग नायकहरूकै कारणबाट अहिले गद्य कविताको क्षेत्र फराकिलो बनेको हो ।
‘मलाई लाग्छ, कविको आँखा अगाडि यौटा क्षितिज हुन्छ । त्यो क्षितिज अगाडि यौटा विम्ब सम्पूर्ण रागात्मकताले भिजेको प्रगल्भ, प्रबुद्ध ! मलाई लाग्छ, कविताको बौद्धिकता यही विम्बको सामीप्य–बोध हो । तर कुनै पनि बोध सत्य होइन, ‘सत्य जस्तो’ मात्र हो कि ! ‘सत्य जस्तो’ लाग्नु नै काव्यको उत्कण्ठा, उद्वेग र सिर्जनाको पराकाष्टा हो । आन्तरिक राग–सम्पदालाई अनुभूतिको चरम सीमाबाट अभिव्यक्त गर्नु नै काव्य सिर्जनाको श्रेष्ठ शिल्प हो । काव्यको पदचाप यही शिल्प, कलामा भासित हुन्छ र त्यो विम्बको सामीप्यमा पुगेर उघ्रिन्छ । चेतनामा रमण गर्न मस्तिष्क राग–सम्पन नभई कविता बोध गर्न सक्ला र ! चेतनाको तार हृदयमा जोरिए पो काव्यको सृष्टि होला ।’ यस्तै सुन्दर दृष्टिकोण पस्केर नेपाली कवितामा आफ्नो स्थान उच्च बनाउनु भएका पोषण पाण्डेका यी कविताहरू कविता क्षेत्रमा रमाउनेहरूका लागि मार्गनिर्देशक बन्न सक्छन् । नेपाली गद्य कवितालाई स्थापित गर्नका लागि त्यो समय पक्कै पनि सङ्घर्षमय नै थियो । अझ आफ्नो धार र पहिचान बनाउनुपर्ने अवस्थामा लेखिएका यी कविताहरूले पक्कै पनि एउटा सङ्घर्षमय युगको झल्को दिएको पक्कै छ ।
तिमी त एउटा बोलाउने नाम
रहेमा तिमी बोलाउने नाम
नरहे तिमी सम्झिने नाम
तिमीलाई नछोइकन तिमीसित बस्ने
मर्दा तिमी नमर्ने नाम
कुनै नाम सुनाम हुन्छ
कुनै नाम बदनाम । पृ.१२३
उहाँका कविताहरूले भनेजस्तै मान्छेले आफू मर्दा पनि नमर्ने नाम कमाउनु जरुरी देखिन्छ । त्यो युगमा पक्कै पनि धेरै मान्छे जन्मे र मरे, तर त्यही युगले जन्माएका यी स्रष्टा हाम्रो मस्तिष्कबाट कहिल्यै मर्दैनन् । त्यस्तै सुकामले उनीहरूको नामलाई बदनाम गर्नबाट रोकेर सुनाम दिएका छन् । त्यसैले त उनीहरू युगौँयुग बाँचिरहेका छन् । कविको चाहना पनि त्यही हो, प्रत्येक मान्छे सुनाम लिएर बाँच । उनका सिर्जनाहरूले बोलेका बोल पनि यही नै हुन् । उहाँका व्यङ्यमिश्रित कविताहरूमा त्यस बेलाका विकृति–विसङ्गतिहरूलाई उजागर गरेका छन् । मान्छेले गरेका घृणित कार्यले गर्दा कवि दुखित हुन्छन् । मान्छेले कुकुरले जति पनि इमानदारी निभाउन नसकेको तर्क छ उहाँको, र कवितामार्फत लेख्नुहुन्छ– ‘ईश्वर ! ए ईश्वर, मलाई अर्को जुनी दिनु छ भने कुकुरकै दे ! मानिसको नदे...नदे..!’
उहाँको तर्क छ, सृष्टि कहिल्यै आफ्नो लयबाट विमुख हुँदैन, ऊ कहिल्यै रोकिन सक्तैन, लय, प्रलय र विलय यी आफ्ना नियममा अडिक छ समय । यही समयमा ओत नपाएर बसेका असङ्ख्य माथहरूमा नबस, नपिर भन्दै कवितामार्फत आग्रह गरिरहनुभएको छ । हिमाल, पहाड र तराई हामी कोही छैनौँ पराई पाण्डेका कविताको अर्को गुरु मन्त्र हो । हामी सबै एक हौँ, हामी सबैलाई सबैको दुःखमा दुख्नुपर्छ र सुखमा सुखानुभूति लिनसक्नु पर्छ भन्ने सन्देश प्रवाहित गरिरहनुभएको छ । यस कृतिभित्र ६२ वटा कविता छन् । प्रकृतिप्रेम, राष्ट्र र राष्ट्रियताप्रतिको स्नेह, पर्यावरणीय चेतनाका स्वरहरू, सामाजिक असहजताका सामूहिक स्वरलगायत मायाप्रेमका प्रेमिल कविताहरू ‘मेरी नैनी’मा पढ्न सकिन्छ । यी कविताहरू समयका दस्तावेज पनि हुन् । जुन समयमा हामी जन्मेकै थिएनौँ, त्यस समयलाई हामीले कवितामार्फत सत्यबोध गर्न सक्यौँ, यसकारण पनि कविताको महìव छ ।
एउटा सचेत नागरिकले शासकले गरेका हरेक पक्षलाई जनतासामु पस्कने काम गर्छ । यो जोखिममा कैयौँ सर्जक आफूलाई धरापमा राखेर पनि सिर्जनाका माध्यमबाट चर्चित भएका छन् । केही सर्जक सत्ताको भजन गाएर इतिहासमा बिलाएका पनि छन् । ती भजन गायकहरू सत्ताका वरिपरि रहेर शासकहरूलाई महान् बनाएको उदाहरण आज पनि हामीले देखेका छौँ । त्यो त सधैँ चली नै रहन्छ, शासक र सत्ता रहुन्जेल । हरेक लेखक तथा सर्जकहरू सत्ताको विपक्षमा रहेर शासकलाई सजग गराउनुपर्छ जस्तो लाग्छ । सर्जकका सजगताले शासक बलियो हुन्छ भन्ने मान्यतामा विश्वास गर्ने कवि पोषण पाण्डे पर्नुहुँदो रहेछ । उहाँका यी कविताहरूको मुख्य उद्देश्य पनि यही देखियो । शासकले जब यी कुरा बुझ्छन्, त्यो बेला साहित्य पनि मूलबाटोमा आउनेछ । यस्तै आशावादी सोचले नेपाली साहित्यमा कथा तथा कविता विधालाई समानान्तर रूपमा लेख्नु हुने पोषण पाण्डेका यी कविताहरू नेपाली साहित्यमा शालीनताका प्रतिमूर्तिका रूपमा लिन सकिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?