logo
२०८१ बैशाख १५ शनिवार



विचार निर्माणको खुकुलो पेचकिला

कला |


विचार निर्माणको खुकुलो पेचकिला


 महावीर विश्वकर्मा

टेलिभिजनमा अन्तर्वार्ता आइरहेको हुन्छ । सेलिब्रेटी भनिने मान्छे जीवनका अन्तरकुन्तरहरूको पोकापुन्तरा फुकाइरहेको हुन्छ । कति इमानदार हुँदैछ, त्यो ऊ आफै जानोस् तर ठीक भन्दैछु भन्ने छनक पार्न पारङ्गत नै हुन्छ ऊ । यस्तैमा प्रश्नकर्ता सोधिदिन्छन्, “तपाईंको जीवनको अविस्मरणीय क्षण ?”
सेलिब्रेटी एकछिन घोत्लिन्छ । “धेरै छन्, अब कुन चाहिँ भन्ने” भनेर विलखबन्दमा परेझैँ गर्छ । अनि झट्ट केही सम्झे झैँ गरी बोल्छ– “ओके, एकचोटि के भयो भने... ।”
यस्ता दृश्य बग्रेल्ती हेरिरहँदा म सोच्थेँ, “एक दिन म पनि हुनेछु सेलिब्रेटी । मैले पनि सुनाउनै पर्छ अविस्मरणीय क्षण । त्यसैले अहिलेदेखि नै तयार गर्नु छ भोगाइका सूची । पीडादायी नै होस् बरु । जसै सोझिन्छ प्रश्न, घोत्लिन नपरोस् कत्ति ।”
यसरी केही अघिसम्म अविस्मरणीय क्षणप्रतिको मेरो बुझाइ यस्तै भइदियो । त्यस्तो खास भोगाइ, जुन मेटिँदैन कहिल्यै स्मृतिबाट । तर हिजोआज म सोच्छु, भोगाइहरू खास हुन पनि सक्छन् अथवा औसत मात्रै । सन्दर्भ उप्किँदा ती सम्झनामा आउँछन् भने ती नै पो हुन् त अविस्मरणीय । अविस्मरणीयको अर्थ बिहान एक बिर्को, साँझ एक बिर्को ओखती खान सम्झिएजस्तो हर समय सम्झिरहने भन्ने त कहाँ हो र ! सम्झनाहरूको विशेषता नै यही हो कि तिनले सन्दर्भको माग गर्छन् । अझ यसो भनौँ सम्झनाको चङ्गा सन्दर्भको लट्टाइमा जोडिएर पर पर उडिबस्छ । जसै खिचिन्छ डोरी अनि नजिकिदिन्छ त्यो, सम्झनाको चङ्गा ।
जीवनमा हिँडिएको बाटो नजानिँदोसँग कसो कसो सम्झनाहरूमा सुरक्षितसँग बसेको हुँदो रहेछ । सन्दर्भ नउप्किउन्जेल आफूसँग त्यो सम्झना नै बाँकी छैन जस्तो तर उप्किएपछि आफूसँग त्यसभन्दा महìवपूर्ण अर्को सम्झना नै छैन जस्तो । त्यस्तै त भयो यो पटक ।
देशमा लकडाउन मज्जाले फस्टाइरहेको थियो । म सिनेमाको स्क्रिप्ट लेखनमै व्यस्त थिएँ । मुटु थर्किने गरी मेघ गर्जिए जसरी, रुकुम पश्चिमबाट एउटा खबर फुत्त फेसबुकमा आइपुग्यो । अन्तरजातीय प्रेमका कारण नवराज विकलगायत छ जनाको सामूहिक हत्याको खबर चैतमास खडेरीमा वन डढेलोजसरी फैलियो ।
मैले घटनाबारे थप बुझेँ । अनि निचोडमा पुगेँ, यो जातीय भेदभावकै कारण भएको घटना हो । सामाजिक सञ्जालमा सक्रिय मैले जात व्यवस्थाका कारण भएको यो घटनाको विरोधमा पनि विचार राखेँ । अनपेक्षित रूपले मैमाथि पो प्रहारहरू सुरु भयो । यो जातका कारण भएको घटना नै होइन, केटाहरूबीचको ग्याङफाइटको कुरा हो, लकडाउनको बेला हुल बाँधेर किन गएको ? अर्काको छोरी अपहरण गर्न गएपछि मारिहाल्छ नि, मिलेर बसेको समाज भड्काउन जातको कुरा गरेको ? कति डलर खाएर दलितको कुरा गर्दैछस् ? यस्तै यस्तै ।
देशभित्र र बाहिरबाट दलित समुदायका केही युवाले मलाई म्यासेज गरे– “यो घटना जातीय भेदभावका कारण हुँदैहैन भनेर मसँग साथीहरू तर्क गरिरहेका छन्, खास कुरा के हो ?”
केहीलाई च्याटमै जबाफ फर्काए पनि सोध्नेहरूको सङ्ख्या बढ्न थाल्यो । हरेकलाई प्रस्ट्याइरहन सम्भव भएन । अनि विभिन्न तथ्य र तर्कहरूसहित यस घटनाको मूल कारण जात नै हो भन्दै एउटा भिडियो तयार गरेर फेसबुक र युट्युबमा पोस्ट गरेँ । घटनाबारे बुझ्न खोज्ने साथीहरूलाई त्यही भिडियो पठाइदिएँ ।
लकडाउनकै बीचमा ‘संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति’ले घटनाको विरोधमा काठमाडौँमा आन्दोलन सुरु ग¥यो । म त्यो सडक सङ्घर्षमा सहभागी भएँ । हरेक दिनको गतिविधि फेसबुक, युट्युबमा पोस्ट गर्थें । झन् झन् मप्रति विष वमन सुरु भयो । मुख छाडेर गरिने गालीदेखि, निकै तुच्छ र अपमानजनक शब्दको बाढी फेसबुकको कमेन्टमा आउन थाल्यो । कारण– मैले जबर्जस्ती जातको कुरा गरेर जातीय द्वन्द्व निम्त्याउन खोजेँ रे । यो पनि भनि हालौँ, त्यसरी गाली गर्नेहरू सबै नै गैरदलित समुदायका थिए ।
चिन्दै नचिनेका व्यक्तिहरूको त्यस्तो कमेन्टले केही समय त रन्थनाउँथ्यो तर अर्को दिन भुलिन्थ्यो । फेरि अर्को दिन घटनाको विरोधमा म नयाँ गतिविधि पोस्ट गर्थें, गाली गर्नेहरू नयाँ थपिन्थे, गालीहरू झन् पेचिलो आउँथ्यो । यो क्रम चलिरहेको थियो । बिस्तारै बानी पर्न थालिसकेको थियो । “फेसबुकमा गाली गर्दा मनपरी लेख्नेहरूको भिड छ, चिनजानका मान्छे होइनन् के ध्यान दिनु” भन्ने लाग्थ्यो ।
यस्तैमा केही परिचित व्यक्तिले पनि मेरा कुराप्रति असन्तुष्टि जनाउन थाले । “कति जातको कुरा गरेको, दिक्कै लागिसक्यो” भन्न थाले । मानौँ केही भएकै छैन, सब ठीकठाक छ ।
मैले केही पहिला फेसबुकमै पढेथेँ– “एक पटक सुनले फलामलाई सोधेछ, पिट्न त मलाई पनि फलामले नै पिट्छन् तर तिमी चाहिँ मभन्दा बढी चिच्याउँछौ किन ? फलामले भनेछ– आफ्नैले दिने चोटले बढी दुख्दो रहेछ ।”
यस्तै महसुस भयो मलाई पनि, जतिबेला मसँगै कक्षा १० सम्म पढ्ने साथीले स्टाटस लेख्यो, प्लसटु सँगै पढेको साथीले कमेन्टमै लेख्यो ।
प्लसटुमा सँगै पढेको नेवार साथीले मेरो स्टाटसमा कमेन्ट ग¥यो, “पहिला दलितहरूले आरक्षण चाहिँदैन भन्ने आँट गर्न सक्नुप¥यो, अनि बराबरीको कुरा गर्न सुहाउँछ ।”
मैले सोधेँ, “आरक्षणको नीति नेपालमा कहिलेबाट सुरु भएको हो ? आरक्षण दलितका लागि मात्रै हो कि महिला, जनजाति, मधेसी लगायत तिम्रै नेवार समुदायका लागि पनि हो ? आरक्षण सरकारी क्षेत्रमा मात्रै हो कि प्राइभेट, सामुदायिक, एनजीओहरूमा पनि हो ? आरक्षण १०० मै हो कि, ४५ लाई सय मानेर त्यसमा मात्रै हो ? त्यसमा कति आन्तरिक बढुवा हुने र कति बाह्य हुने
हो ? यो सबै बुझेरै कमेन्ट गरेको हो कि, यत्तिकै ठोकेको हो कमेन्ट ?”
मैले कुरेँ । तर साथीले केही जबाफ दिएन ।
कक्षा १० मा मसँगै पढेको साथीको कमेन्ट चाहिँ क्वारेन्टाइनमा महिला बलात्कृत भएको भन्ने खबरसँग सम्बन्धित थियो । हामी रुकुम घटनाबारे आन्दोलित भइरहँदा जब यो समाचार सार्वजनिक भयो र बलात्कारको आरोपमा तीन जना दलित समुदायका युवक पक्राउ परे । तब एकथरी व्यक्तिलाई दलित समुदायमाथि उछितो काट्न खुराक मिल्यो । त्यही भिडमा मिसियो, म सँगै कक्षा १० मा पढेको साथी पनि ।
उसले लेख्यो स्टाटस– “अब क्वारेन्टाइनमा बलात्कार गर्ने दलितलाई नि कारबाही हुनु हुँदैन भनेर आन्दोलन गर ।”
यो पढ्ने बित्तिकै झनक्क रिस उठ्यो । दलित आन्दोलनप्रति कति धेरै पूर्वाग्रह हो ? भन्ने पनि लाग्यो । साथीसँग कमेन्टमा केही दोहोरी पनि चल्यो । पछि सोचेँ, ती दुई साथी जो मसँगै एउटै समाजमा हुर्किए, एउटै किताब पढे, उही शिक्षकले पढाए । तर आज कसरी उत्पीडितको विषयमा मैले भन्दा ठीक उल्टो सोच्ने भए ? यस प्रश्नले त्यसरी घोप्यो मलाई, जसरी सानोमा वन जाँदा चप्पल नै छेडिएर मैदालको काँडा घोपिन्थ्यो पैतालामा । म कुनै सिनेमाको दृश्यमा जसरी फ्ल्यासब्याकमा पुगेँ । अनि कतै जतनसँग थन्किएर बसेको अविस्मरणीय भन्न मिल्ने एउटा भोगाइलाई यस सन्दर्भले उधिनेर ल्याई पु¥यायो मेरो अघिल्तिर ।
कुरा २०५९ सालको हो । म चितवनको भण्डारास्थित एक विद्यालयमा ९ कक्षामा पढ्थेँ । ६ कक्षादेखि त्यस स्कुलमा पढ्न थाले पनि ९ मा पुग्दा बल्ल पहिलो चोटि दलित विद्यार्थीका लागि छात्रवृत्ति आएको सूचना कक्षामा सुनाइयो । दलित विद्यार्थीले आफ्नो नाम टिपाउनु भन्ने सूचना थियो । मैले पनि उठेर आफ्नो नाम भने– महावीर घिमिरे ।
शिक्षकले सोध्नुभयो– तँ दलित हो र ?
–हो सर ।
–के जात ?
–विक ।
–किन घिमिरे लेख्या त ?
–थर चाहिँ घिमिरे हो ।
–घिमिरे नि कहीँ दलित हुन्छ ?
–हुन्छ सर ।
–छात्रवृत्ति चाहिन्छ भने वि.क. लेखा, नत्र पाउँदैनस् ।
१५ वर्षको उमेरमा हिँडिरहेको म । कक्षामा केटी साथीहरूको अगाडि लाज मान्न थाल्ने बेला सुरु भइसकेको । त्यसमाथि सरले कक्षामै त्यति भनेर ‘बस्’ भनेपछि ती साथीहरूको अगाडि लज्जित महसुस गरेँ ।
साँझ बुवालाई घरमा भनेँ, छात्रवृत्ति चाहिने भए विक लेख्नुपर्छ रे ।
बुवाले भन्नुभयो, त्यसको सय रूप्पेका लागि विक लेख्न प¥या छैन ।
पहिला सानैमा घर छोडेर हिँड्दा जहाँ गए पनि बुवा जातका कारण दुःख पाउनुहुन्थ्यो रे । त्यसपछि जातबाट भन्दा थरबाटै आफूलाई चिनाउन थाल्नुभएछ । उहाँलाई लाग्यो, “थर लेख्यो भने मेरो सन्तानले जातवाला दुःख नपाउलान् ।” अहिले सोची हेर्दा उहाँको त्यतिबेलाको चेतना बेठिक थियो भन्ने लाग्दैन । थर नै लेखेपछि मलाई त्यतिबेला छात्रवृत्ति दिइएन । त्यसपछि स्कुलमा कहिल्यै छात्रवृत्तिको कुरै आएन ।
अँ साँच्ची, यो सम्झिरहँदा अर्को प्रसङ्ग पनि सम्झिएँ । सन्दर्भले सम्झना बल्झाउँछ भन्ने ठिकै त हो ।
यो चाहिँ म ८ कक्षा पढ्दाको कुरा जस्तो लाग्छ । गाउँ नजिकको ठूलो मन्दिरमा होम हाल्ने कार्यक्रम आयोजना गरिएको थियो । ठ्याक्कै सङ्ख्या त याद भएन तर १००० जनाले होम हाल्ने गरी आयोजना गरिए जस्तो लाग्छ । होम हाल्ने सिलसिला अन्तिम दिन आउन लागिसक्दा पनि भनिए जति सङ्ख्या नपुग्ने भएपछि आयोजकहरूले विद्यालयसँग अनुरोध गरेछन् । हामीलाई कक्षा कक्षामा सूचना आयो, “होम हाल्ने जातका छात्रहरूलाई सरहरूले मन्दिरमा लिएर जानुहुन्छ, अरूलाई चाहिँ आज बिदा ।”
बिदा पाउनेमा महिला, दलित, जनजाति थियौँ । किनभने होम हाल्ने लाइसेन्स नभएकाहरू रहेछौँ हामी । त्यतिबेला त बिदा भन्नेबित्तिकै रमाइलो लाग्ने नै भयो । तैपनि साथीहरूले होम हालेको हेर्न मन्दिर पुगियो । परैबाट हेरिबस्यौँ । त्यतिबेला त त्यस्तो केही महसुस नै भएन तर अहिले सम्झिँदा लाग्छ, त्यो त विद्यालयले गरेको भयङ्कर ठूलो भेदभाव पो रहेछ ।
रुकुम घटनाले म सडकमा निस्किएँ । सामाजिक सञ्जालमा साथीहरूको विचार बुझ्न पाएँ । अझै सँगै पढेका साथीहरूको कुराले म विद्यार्थी जीवनको फ्ल्यासब्याकमा पुगेँ । मलाई गहिरोसँग महसुस भयो कि हाम्रो समाजको विचार निर्माणको पेचकिला कहीँ न कहीँ त खुकुलो छ । जहाँसम्म मलाई लाग्छ, त्यो खुकुलो बन्ने प्रक्रिया विद्यालयबाटै सुरु भइदियो ।
समाजमा जात व्यवस्था व्याप्त छ । छिमेकमै दलितमाथि भेदभाव व्यापक छ । तर ज्ञान लिन भनेर स्कुल पुग्नेहरूलाई कुनै किताबको कुनै च्याप्टरले समाजको त्यति ठूलो समस्याबारे बुझाउँदै बुझाएन । परिणामतः शैक्षिक संस्थाहरूले मेरै साथीहरू जस्तै मान्छे तयार गरेर समाजमा फर्काइदियो, जसलाई जात व्यवस्थाबारे थाहा नभएको मात्रै हैन, ‘आफूहरूलाई थाहा छैन’ भन्ने पनि उनीहरूलाई थाहा छैन । परम्परागत रूपमा जे बुझाइ हस्तारन्तरण हुँदै आयो, त्यसैलाई ठीक ठानेर हिँडिरहेका छन् । त्यसमा पुनर्विचार गर्न समेत आवश्यक ठान्दैनन् । यो समाजमा घोलिएको मन्द विष नभएर अरू के हो ?
थर लेखेकै कारण दलितलाई छात्रवृत्ति नदिने शिक्षक र जात व्यवस्थाबारे बाल नदिने किताबले निर्माण गरेको विचार मेरा साथीहरूको भन्दा फरक कसरी हुनसक्छ ? अहिले सामाजिक उत्पीडनको विरोधमा कसैले कुरा गर्दा एकछिन कुरा बुझ्ने धैर्यसमेत नराखी गालीगलौजमा उत्रिहाल्ने भिड तयार हुनुको पछाडि हाम्रो शिक्षा दोषी छ कि छैन ? अवश्य छ ।
अझै पनि यस विषयलाई यसरी नै बेवास्ता गरिदिने हो भने, समाजमा अझै हुलका हुल यस्तै भुत्ते मान्छेहरू उत्पादन हुनेवाला छन्, जसले दराजभित्र विश्वविद्यालयको प्रमाणपत्र सुरक्षित त राख्छ तर समाजमा व्याप्त उत्पीडनविरुद्ध
बोल्ने कुरालाई आफ्नो प्राथमिकतामा राख्दैन । अनि सजिलै भनिदिन्छ– “बिस्तारै चेन्ज भइहाल्छ नि” ।
चल्तीमा एउटा तर्क छ– “बिस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न” । तर उत्पीडनमा परेकाहरूको चित्कार अर्कै छ । हामी भन्छौँ, “बिस्तारै कुर्ने त मृत्युलाई मात्रै हो, मान्छे हुनलाई होइन” । खाँचो, यो वैचारिकी तयार गर्नसक्ने शिक्षाको छ । विचार निर्माणको खुकुलो पेचकिला कस्नैपर्छ ।

(रेडियोकर्मी विश्वकर्मा जात व्यवस्था उन्मूलन मोर्चा, बागमती प्रदेशका संयोजक हुन् ।)

मधुपर्क असोज कात्तिक २०७७
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?