logo
२०८१ बैशाख १५ शनिवार



राष्ट्रिय अरनिको सम्मान–२०७७ तथा राष्ट्रिय ललितकला पुरस्कारको घोषणा

कला |


राष्ट्रिय अरनिको सम्मान–२०७७ तथा राष्ट्रिय ललितकला पुरस्कारको घोषणा


गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ३ गते । वरिष्ठ कलाकार शङ्करनाथ रिमाल र शन्तकुमार शाक्यलाई राष्ट्रिय अरनिको सम्मान–२०७७ प्रदान गरिने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बुधबार विभिन्न पुरस्कारको घोषणा गरेको हो । पुरस्कारको राशि एक लाख रुपियाँको रहेको छ ।

त्यस्तै, सात विधामा राष्ट्रिय ललितकला पुरस्कारको घोषणा गरिएको छ । जसअनुसार, मिलन शेरचन (हस्तकला), सुरेश लावट (परम्परागत मूर्तिकला), भुषण दुवाल (आधुनिक मूर्तिकला), गणेश जिसी (आधुनिक चित्रकला), कृष्णराम घेमेसु (परम्परागत चित्रकला), लक्ष्मण मण्डल (लोककला) र प्रमिला लामा (वास्तुकला तथा अन्य सिर्जनात्मक कला) लाई राष्ट्रिय पुरस्कार प्रदान गरिने जनाइएको छ । पुरस्कारको राशि जनही ६० हजार रुपियाँ रहेको छ ।

त्यस्तै, हस्तकला विधाबाट माणिकमान शाक्य र राजेश महर्जनलाई विशेष पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतिष्ठानका अनुसार, परम्परागत मूर्तिकलाबाट शुभरत्न बज्राचार्य र डा. रामसागर पण्डित पुरस्कृत हुनुभएको छ । यस्तै, आधुनिक मूर्तिकलातर्फ विशाल सारु मगर र देवेन्द्रप्रसाद पाण्डे, परम्परागत चित्रकलामा विनम्र डंगोल, जिग्मे तामाङ, आधुनिक चित्रकलामा सुरेश बस्नेत, विद्यमान तामाङ र दलबहादुर राई, लोककला विधामा मित्थु थारु र बाबुराम बस्ताकोटी तथा वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधातर्फ सुमन राई, कुशल कार्की, रवि मिश्र चयन हुनुभएको छ । पुरस्कारको राशित २५ हजार रुपियाँ रहेको छ ।

त्यस्तै, प्रादेशिक पुरस्कारतर्फ प्रदेश १ बाट कौशिला राई, प्रदेश २ बाट रुविकुमारी कर्ण, बाग्मतीबाट प्रकाश मिजार, गण्डकीबाट दलबहादुर गुरुङ, प्रदेश ५ बाट आकाश बुढामगर, कर्णालीबाट मीनबहादुर नेपाली तथा सुदूरपश्चिम प्रदेशबाट गणेशदेवी चौधरी पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको छ । कोभिड–१९ का कारण राष्ट्रिय ललितकला प्रदर्शनी अनलाइन माध्यमबाट गर्ने सोच प्रतिष्ठानको छ ।

प्रतिष्ठानका कूलपति केके कर्माचार्यले प्रदर्शनीका लागि प्राप्त कलाकृतिको मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो । गोरखापत्रकर्मी पुरस्कृत गोरखापत्रकर्मी कलाकार केशव खनाललाई ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७७ प्रदान गरिने भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको छ । त्यस्तै, प्रा.डा.लय मैनालीलाई ललितकला राष्ट्रिय लेखन पुरस्कार–२०७७ प्रदान गरिने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?