logo
२०८१ बैशाख २० बिहीवार



एउटा अर्को उस्तै कथा

कला |


एउटा अर्को उस्तै कथा


भाउपन्थी

कथा लेख्नु त्यति सकस थिएन । कथा के हो र, लेखिहालिन्छ नि । तर घण्टौँ कम्प्युटरको अगाडि घोइरिएर बसे पनि विषय आइरहेको छैन । विषय भन्नु कथा । कथावस्तु प्रस्टसित आइरहेको छैन । कथाकार नरेन्द्र सरलाई सबैले एक सिद्धहस्त कथाकार भनेर मान गर्छन् । यद्यपि उनी अवकास हुने उमेरका भइसकेका छन् तर उमेर बित्दै गए पनि कथा लेखनप्रति उनी समर्पित छन् । उमेरले बाधा गरेको छैन । आज उनैको हातबाट एउटा कथा निःसृत भइरहेको छैन । उमेरभरि गरेको लेखनसाधना व्यर्थै जाने भो त ? सेवानिवृत्त हुने बेलामा आएर एउटा कथा लेख्न नसकेर अड्किने भए ? लज्जित हुनुपर्ने हो कि ? उनी स्वयंलाई पनि आश्चर्य लागिरहेछ, ‘आज यो भयो के ?’ आज नभए भोलि वा पर्सिसम्म एउटा कथा नबुझाई हुन्न । सम्पादकलाई ‘हुन्छ म एउटा कथा फलानो मितिभित्रै पठाइदिउँला’ भनेर उनले वाचा गरिसकेका छन् । उमेरले पाका उनको वाचाप्रति उताबाट सम्पादकले आदर व्यक्त गर्दै ‘हवस् त, म ढुक्क भएँ’ भनेर फोन राखेका थिए ।
आज नलेखे भोलि के लेख्ने ? कथै त लेख्ने हो, आजै लेखे पनि भोलि लेखे पनि कथै लेख्ने त हो । साइत हेरिरहनु परेन । तर समयसीमा नाघेपछि उनले लेखेको कथा सम्पादकका लागि उपयोगविहीन भइदिन सक्छ । हुन सक्ने कुरा त धेरै छन् तर ‘मानिसहरूको भर हुन छाड्यो, के भएको हो यो ?’ खिन्न सम्पादक मनमनै यस्तो सोच्न सक्छन् । समय बिताएर पठाएको कथा उपयोगविहीन नभइहाले पनि उनको आगामी वाचाप्रति सम्पादकले विश्वास नगर्न पनि सक्छन् यद्यपि कथाको समय सीमा बिते पनि । कथा असल वा खराब हुन सक्छ तर औषधिभैmँ डेट एक्स्पायर हुन सकोइन, नरेन्द्र सरको मान्यता हो यो ।
सम्पादकको पत्रिकाका लागि कथाहरूको चाङ लागेको हुन सक्छ । त्यस चाङमध्येबाट चयन गरेर एउटा कथा छाप्न नसकिने होइन । सम्पादकले कथाकार नरेन्द्रसित कथा माग्दा भूमिकामा यो कुरो उल्लेख गरेका त थिएनन् तर उनी स्वयंले सोचिहेर्न सक्ने कुरो थियो यो । समय बिताएर कथा पठाउनु उपयुक्त होवैन । सम्पादकले यसो पनि भनेका थिए, ‘अचेल भनेजस्तो कथा पाइन्न ।’ उनको आशय सम्पादकको छनोटजस्तो स्तरीय कथा पाउन छाडियो । कथाकार नरेन्द्रले सम्पादकको भनाइलाई ठीक ठह¥याउँदै सोचे, आपूm स्तरीय कथा लेखकका परिचयमा परिएछ । तर सम्पादकहरू सबै कथाकारलाई यस्तै भनेर फुक्र्याउने गर्छन् कि ?
सम्पादक एक शिष्ट व्यक्ति थिए । यस्तो सोचेर कथाकार नरेन्द्रले सम्पादकप्रति प्रेमभावको सिर्जना गरे । उनी सम्पादकप्रति कठोर भएर सोच्न सकेनन्, ‘कथा कहाँबाट झिकेर दिनु ? भँडार त छैन ।’ तर उनी पहिलेदेखि नै यी सम्पादकप्रति कोमल भावना राख्थे । परिचय पुरानो थियो । तर सम्पादक महिला थिएनन् कोमल भावना राख्थेँ भन्दा । सोलिड पुरुष नै थिए । कथाकार नरेन्द्रले सोचे, ‘अहिलेसम्म उनी महिला सम्पादकको फेला परेका छैनन् ।’ महिला सम्पादकको फेला परेका भए ? यसको अर्थ ‘जग्गा हिनामिना मुद्दामा हाम्रै मान्छेमाथि किन वक्रदृष्टि लगाइयो, अरू थिएनन् र ?’ भनेर प्रश्न गरिएभैmँ हुने थियो कि ? महिला सम्पादकले कथा पठाउन बढी ताकेता गर्ने थिए कि ? तर त्यो असङ्गत प्रश्न बन्थ्यो । अहिलेसम्म महिला सम्पादकसित कथाकार नरेन्द्र फेला परेका छैनन् भन्दैमा महिलाहरू सम्पादन कार्यमा संलग्न छैनन् भन्ने मान्यता स्थापित हुँदैन । महिला भनेपछि घरको अनुभवको आधारमा उनी अलिक तर्सिन्थे । तर यो उनको नितान्त घरायसी र निजी अनुभव थियो ।
यी सबै कुरा कथाकार नरेन्द्रले कथा लेख्ने उपक्रम गर्दा सोचेका थिए । यी फाल्तु सोचाइ हुन् । उनले असङ्गत विचारहरूतिर नबरालिन आपूmलाई सतर्क गरे । घुम्दैफिर्दै रुम्जाटार पुगिएभैmँ कुरो उही कथा लेखनको थियो । एउटा कथा, मात्र एउटा कथा ! त्यो एउटा कथा लेख्न सकियो भने बाँकी जिन्दगी कथाकार नरेन्द्रले कथा लेख्ने छाड्ने थिए त ? जिन्दगीभरि कथा नलेख्ने अठोटप्रति उनी प्रतिबद्ध हुने थिएनन् । यो पनि नेताहरूले निर्वाचनताका सडक–पानी–स्वास्थ्य–शिक्षाको व्यवस्था र गरिबी उन्मूलनको वाचा गरेर भुसुक्कै बिर्सेजस्तो सहजै बिर्सन मिल्ने विषय थियो । बाँकी जिन्दगीभरि कथा लेख्दिनँ भन्नु । समय भएपछि कथा आइहाल्थ्यो । यद्यपि अहिलेलाई मात्र एउटा कथाको सङ्कट खडा भएको छ । कथा कहाँबाट ल्याउने ? उनी मानिस हुन् कथा मेसिन होइनन् ।
यसो भन्न त मिल्दैनथ्यो, कथाकार नरेन्द्र सहजै जति पनि कथा लेख्थे । कथा लेख्नमा व्यवधानहरू अवश्य थिए । तिनै व्यवधानका दबाबले उनले सोचेका हुन्– ‘यस पटक यो एउटा कथा मात्र लेख्न सकियो भने फेरिफेरि यसरी कथा फलानो मितिभित्र पठाउँछु भनेर सम्पादकलाई वाचा गर्ने छैन ।’ सम्पादकलाई पनि एउटा चुनौती खडा भइदिन्छ मानसिकतामा, ‘फलानोले लेखकको कथा नछापि छाड्दिनँ । मजाक छ, कथा नपठाएर !’ कुर्सीले पोल्न थाल्छ, यो कुरो यसमा भर पथ्र्यो, ऊ कस्तो खालको कुर्सीमा बसेको छ ? कथाकारले कथा नपठाएपछि सम्पादकको बेचैनी बढ्दै जान्छ । सबै सम्पादकका कुर्सी निरीक्षण गर्न नसकिए पनि यो पक्का थियो कथाकारले वाचा गरेको कथा निश्चित मितिमा आइपुगेन भने मन कुटुकुटु खान थाल्छ र कुर्सीले पोल्न थाल्छ । सम्पादकलाई झारफुकले पनि नटर्ने गरी कसैले बिगार गरिदिएको छ, वायु वा लागोभागो उठाएर दिमागमा पसालिदिएको छ । कथा मितिभित्र नपुगेपछि कुर्सीले पोल्न थाल्छ । यो सम्पादकको इमानदारीमा भर पर्छ, कुर्सीले कति पोल्छ ? अगाडि फोन छ त कथाकारलाई सम्पर्क गरेर यसो संवाद गर्न पनि सकिन्छ भन्ने विस्मृति हुन थाल्छ । मनमा कथाकारले गनेन भनेजस्तो अपमानको फिलिङ आउन थाल्छ, हियो पोलिन थाल्छ ।
कथाकार नरेन्द्रले सोचे, मेरो प्रसङ्गमा पनि यस्तै भएको होला । नहोस् । सम्पादकले मोबाइल सम्पर्कमा भनेको बेला उनले उत्साहित भएर उत्तर दिएका थिए, ‘हुन्छ म कथा पठाइहाल्छु ।’ यो कुरो इतिहास भइसकेको थिएन । छेवैमा बुढीमाउ थिइनन् । नत्र उनले बेलाबेला सचेत गराउँदै भन्ने थिइन्, ‘कथा पठाउँछु भनेको बिर्सनु भएन ।’ पत्नीले भद्रभलाद्मी हुन उपदेश दिएभैmँ थप्ने थिइन्, ‘आपूmले गरेको वाचा पूरा गर्नुपर्छ ।’ उनलाई लाग्थ्यो, पत्नीहरू सम्पादकका एजेन्ट हुन् । तपाईं मीठो मानेर मजाले खाना खाइरहनुभएको छ, दाल वा तरकारी थप्दै उनीहरू भन्न सक्छन्, ‘कथा पठाउनु छ, लेख्नुभो ? समयमा कहिल्यै काम गर्ने होइन ।’ अव्यक्तमा यस्तो भनाइ हुन सक्छ, ‘खाना मात्र मीठो मानेर खान जानेर भएन ।’ त्यसपछि यस्तो पनि हुन सक्छ, कथा भन्ने ढुङ्गो कटक्क तपार्ईंंको दाँतमा लाग्न सक्छ । नभए खाएको खाना अपाच्य हुने सम्भावना बढी अनुभव हुन्छ । ‘धत्, कहिलेदेखि लेख्न थालिएछ कथा ?’ डकार्दै सोच्दा, ‘धेरै खाएछु कि ?’ भन्ने भावना पनि आउन सक्छ । कथा लेख्नु छ, यो कर्तव्यबोधले तपाईं खाँदाखाँदैको खाना छाडेर उठिहालुँ र आधासरो हात चुठेर कम्प्युटरमा कथा टाइप गर्न बसिहालुँ भन्ने हतारमा पनि पुग्न सक्नुहुन्छ । तर पेट भरिए पनि दिमाग त खाली छ । खै कथा ?
कथाकार नरेन्द्रले यस्तो चेपुवामा पनि आत्मसंयमित हुँदै स्वगत भन्ने गर्छन्, ‘हो–हो, म सोच्दै छु । खाना खाँदै कथा सोच्दै छु ।’
कथाकारको हतार हेरेर पत्नीले कहिलेकाहीँ मजाकमा यस्तो भन्ने गर्छिन्, ‘हतार किन ? कतै कथा त छुटिरहेको त छैन ? मलाई त शङ्का लाग्छ ।’ पत्नी र उनको दाम्पत्य जीवन पनि कथा लेखनजत्तिकै पुरानो छ, त्यसैले त्यस्तो व्यङ्ग्यात्मक सवाल उनले गर्ने अधिकार छ । कथा लेखनजत्तिकै पुरानो सम्बन्ध एउटै वाक्यले नवीकरण भएको उनी अनुभव गर्छन् ।
कठिनाइ यो थियो, सम्पादकलाई यस बेला आएर यो भन्न सक्दैनथे, ‘हो हो, म सोच्दै छु ।’ सोच्ने कुरो उति बेलै सम्पादकलाई भन्न सक्नुपथ्र्यो । ‘हेर्नोस्, मसँग जादुको छडी छैन कि अहिले भने अहिले, भरे भने भरे कथा तयार गरेर पठाइहालुँ ।’ त्यस्तो टर्रो कुरा गर्न उनी सङ्कोच मान्छन् । जादुको छडी त उनले नेताहरूको भाषणबाटै टिपेका हुन् । अहिलेको वातावरण पनि राजनीतिमय छ, जसमा नेताहरू नै अभिनेता छन् । तर अहिले सर्वत्र एउटा यस्तो अपुरोपन व्याप्त छ । सरकारले बजेट खर्च गर्न सकिरहेको छैन, कोरोना भाइरसले पीडित चीनको फलानो सहरबाट आफ्ना त्रस्त नागरिक ल्याउन ढिलो भइरहेको छ । टीभीमा चीनमा फसेका सन्तानका आमाहरू रोएको दृश्य आइरहेछ । मन थाम्न गाह्रो छ । प्रवक्ताहरू यति मात्र भन्ने सकिरहेका छैनन्, सरकारसित जादुको छडी छैन । बालुवाटार जग्गाको प्रकरणमा प्रतिपक्षले संसद् अवरुद्ध गरिरहेको छ । चारैतिर भ्रष्टाचार मौलायो भनिरहेका छन् । नीतिगत भ्रष्टाचारले गाँजेको छ भनिन्छ । शासकीय आत्ममुग्ध क्रूरता असह्य छ । मुलुकको जग्गा स्वाट्टै आपूmतिर पर्ने गरी अद्वितीय सम्बन्ध भएको छिमेकीले आफ्नो मुलुकको नक्सा सार्वजनिक गरेको छ । विरोध भइरहेछ । विरोधबाहेक अरू केही भइरहेको छैन । जादुको छडीको सम्झना भइरहन्छ उनलाई ।
यस्तोमा कथाकार नरेन्द्रले कथा लेख्न ढिलो गरिरहेछन् । सम्पादक पनि मौन छन् । कथा कसरी नलेख्लान् भनेर प्रतीक्षा गरिरहेछन् कि ? फोन सम्पर्क नभएको पनि धेरै भयो । तर हिजो मात्रै फोन सम्पर्क भएको त हो । वातावरणको यस्तो निसासिँदो होहल्लाले उनले सोचे होलान् फोन सम्पर्क भएको धेरै दिन बितिसकेको छ । कथाकारको संवेदनशीलताले होला मुलुकका घटनाहरूले बढी संवेदित पारेको छ र उनले कथातिर त्यति ध्यान दिएका छैनन् । कथा त छँदै छ तर यो के भइरहेछ ? पत्नीले पनि थाहा पाएको भए ‘कथा लेखेको खै, पठाउन अबेर होला’ भनेर टोकस्ने थिइन् तर उनले थाहा पाएकी छैनन् । उनलाई पनि मुलुकका ती सबै कटु घटनाहरूले गर्लम्मै ढाकेको छ । सबैको मानसिकता खलबलिएको अवस्था छ । एउटापछि अर्को अर्बौंको भ्रष्टाचार अखबारमा आइरहेछन् ।
कथाकार नरेन्द्र अत्यावश्यक कामले हिँड्नुपर्ने खण्डमा बस चढ्छन् । साँझको खाजा खाइवरि आज यसो डुलेर कथाका लागि माइन्ड फ्रेस गरिहालुँ न त भनेर उनी बसयात्रातिर लागे । बस चढेपछि उनले अनुभव गरे त्यहाँ पनि बढी मौन व्याप्त छ । वातावरण उल्लासमय छैन, उदास छ । पुसमाघको अति जाडोले होला । बाहिर उज्यालो पनि मधुरो भएको छ ।
कथाकार नरेन्द्र बढी बसमा यात्रा गर्छन् । उनीसित सवारी साधन छैन । कथा लेखेर सवारी साधन किन्न सकिने अवस्था पनि छैन । लेखेर ज्यान पाल्न सकिन्छ भन्ने प्रश्न गर्दा रिसाउने कि हाँस्ने भन्ने दोधार उत्पन्न हुन्छ । सवारी साधन किन्नु त परै । सपनाको कुरा । सपना देख्नुपर्छ भन्नेहरू पनि छन् । नेताहरू त्यही भन्छन् । सपना बाँडियो पनि भन्छन् । प्रयोगका लागि सजिलो शब्द हो ‘सपना’ । त्यसको आन्तर्यको विशद् व्याख्या कसैसित छ जस्तो लाग्दैन । सपना देखाएर मात्र भएन, तिनलाई पूरा गर्ने नायक पनि चाहियो ।
आफ्नो सवारी साधन नभएपछि कथाकार नरेन्द्र सार्वजनिक यातायात बसमा हिँड्छन् । माइक्रोमा धेरै खाँदाखाँद हुन्छ र दमित मानसिकताले च्यापेजस्तो शिर ठाडो पारेर उभिने ठाउँ हुँदैन भनेर उनी बसैलाई प्राथमिकतामा राख्छन् ।
बसभित्र पनि मौन बढी छ । मानिसहरू चिन्ताले गम्भीर भएका देखिन्छन् । तर बसभित्रका अपरिचितहरूसित कुराकानी गर्नुपर्ने खण्ड पनि छैन । सबैले भित्रभित्रै थाहा पाइरहेका हुन्छन्, एकअर्काको निराशा र आक्रोश । सार्वजनिक रूपमा हल्ला गरेर हुने पनि केही होइन । तर उनी मान्छन् आवाज चाहिन्छ । बढी मौनले मुर्दा शान्ति ल्याउँछ । तर कसैकसैले भन्ने गरेका छन्, ‘यो आँधी आउनुअघिको मौन हो ।’ उनी मनमनै डराउँछन् । उनीभित्र शिशु कथा छ, त्यो पनि डराउँछ । आँधीहुरीमा कति जना बेपत्ता हुने हुन् र कति सङ्ख्यामा मानिस फेरि मारिने हुन् ?
आवाज त चाहिन्छ । कथाकार नरेन्द्रले त्यस्तो सोचे । कथा त लेख्नै पर्ने छ । आवाज खोज्दै हिँड्नेहरूका लागि अहिलेको यो खलबली र अव्यवस्था अशुभ लक्षण भए पनि उनले कथा नलेखी भएको छैन । सम्पादक प्रतीक्षामै होलान् । कथा आओस् त छापूँ । छापिनलायकको कथा लैख्नै छ उनले । घर फर्केपछि त्यो सम्भव होला ।
कथाकार नरेन्द्र कथाको खोजीमा बाहिर निस्केका छन् । यस्तो मान्यता छ, कविहरू मात्र कविताको खोजीमा भौँतारिने गर्छन्, घण्टौँ टोलाएर बस्छन् । उनी कथाकार हुन् कवि होइनन्, घरभित्र घण्टौँ टोलाएर बस्ने बानी छैन । गद्यजस्तै चलायमान हुन मन पराउँछन् उनी । कान चनाखा राखेर संवादहरू टिप्छन् । तिनलाई संयोजन गर्छन् । कथामा कसरी संवाद राख्ने ? संवादहरू विनिमय स्वभावका हुन्छन् । उनले पनि संवादमय कथा लेख्नु छ । त्यसैले उनी घरबाहिर निस्केका छन् । बस पनि चढेका छन् । टाढा पुग्नु उनको लक्ष्य थिएन । संसार यति खुम्चिएको छ, एक हात परमै सबै घटित भइरहेको हुन्छ । पहिलेजस्तो धेरै दिनका लागि खाजाखाना पोको पारेर ज्ञान आर्जन र संसार हेर्न वा तीर्थाटनका लागि लामो यात्रामा निस्कनु पर्दैन । संसार मोबाइलभित्रै समेटिइसकेको छ । तर कथा त्यसरी बन्दैन । यन्त्रसाधित कथा !
घरबाहिर निस्केपछि पनि उनले कथालाई आपूmसँगै हिँडाएका छन् । घरभित्र विश्राममा बस्न दिएनन् कथालाई । एउटा आवाज छ, सम्पादकको । साथ हिँडिरहेको । त्यसले उनलाई सचेत पारिरहेछ, समय गुज्रँदै छ । कथा खै ? अर्को काम रहेन । कथै सोच, कथै ओढ र कथै खोज, कथै ओछ्याऊ । कथा–कथा–कथा । बस गुडिरहेछ । किनभने उनी बस चढिसके । बसले लैजाने ठाउँ उनलाई थाहा छ । फर्कनु छ भन्ने पनि थाहा छ । बस अलि खाली छ । बसको अन्तिम स्टपसम्म उनी जान सक्छन् र त्यहाँबाट फर्किन पनि । जब पुगिएकै छैन भने फर्कनुको के
चिन्ता ? पुगिएपछि फर्कनुको चिन्ता त रहन्छ नै । नफर्किने गरी जानेहरूबारे अर्कै कुरो ।
कथाकार नरेन्द्रले फाल्तु सोचिरेहका छैनन् । बस खाली छ र कथासित उनी खेल्न सक्छन् भनेजस्तो भएको छ । कथा तातेताते गर्दै उनको अगाडि आउनेजाने गरेको छ । त्यसलाई उनले हुर्काउनु छ, बढाउनु छ र एउटा कथाकृतिमा ढाल्नु छ । समस्या छैन अब सम्पादकको आवाजको । त्यो मीठो लागिरहेछ । सम्पादक पनि खुसी होइजाऊन् न । नाकमुख खुम्च्याउनुपर्ने कथा नहोस् । अनुरोध गरेको व्यर्थै गएनछ भनुन् । फोन गर्ने हुटहुटी पैदा होस् न । फोन नै कति गर्ने ? मौनले नै कृतज्ञता व्यक्त गर्न पनि सकिन्छ । छापिएर आओस् अनि थाहा भइहाल्छ । कथाकारलाई त के छ ? यो कथा बिर्सेर अर्को कथाको संरचना गर्नतिर लाग्ने होला । सम्पादकले सोच्न सक्छन् । अर्को कुनै कथाकारलाई कथा पठाउन अनुरोध गर्न सक्छन् उनी ।
बस अन्तिम बिसौनीभित्र छिरेको छ । बस रोकिएपछि कथाकार नरेन्द्र अरूसँगै ओर्लिएका छन् । लगत्तै फर्कनु पनि छ । उनी यति टाढा त्यसै आएका होइनन् । कथै खोज्न भनेर आएका हुन् तर कथा ? अहिले शिशु अवस्थामा छ । फर्कनलाई उनी अर्को बसतिर लागे । साँझ पर्न थालेको छ । फर्कनेहरू धेरै छन् । ठेलमठेल छ, बसभित्र छिर्न सकस छ । साँझ माने गोधुली भइसकेको छैन । तर कुन समयलाई गोधुली भन्ने । उनले गाउँ सम्झे । साँझ परेपछि चर्न गएका गाईबाख्रा समेट्दै तिनका पछिपछि तिनले उडाएको धुलोभित्र पसेरै उनी पनि घर फर्कन्थे स्कुल बिदाका दिनहरूमा । माथि निस्सिम र सङ्लो आकाशमा साँझ गुँडतिर डफ्फाडफ्फामा फर्कने चराहरू कलरव गर्दै हरिया रूखवृक्षलाई नाघ्दै उडिरहेका हुन्थे । वातावरण त्यसैत्यसै उमङ्गले व्याप्त हुन्थ्यो । आज यस्तो छ, साँझ घर फर्कने मान्छेहरूले खाँदाखाँद बस । सबै फर्कने हतारमा छन् । तर चराहरू होइनन्, थरीथरीका मानिस । कहाँ छ गोधुली ? प्रदूषित धुलो–धुवाँ छ । कसैलाई सम्झने फुर्सत छैन गाउँ, गाउँको गोधुलीको उमङ्ग र रमाइलो ।
मानिस अपरिचित छ एकअर्कादेखि तर अहिले एउटा सूत्र छ– डरको । भयको । भोलि के हुने हो ? उसको भविष्य के हो ? अस्पष्टतामै मानिस हिँडिरहेछ । तर मानिसको यात्रा जारी छ भनेभैmँ ऊ बसबाट ओर्लेर र भोलि फेरि यही बस चढेर आफ्नो गन्तव्यतिर आउने छ । जीवनको क्रमिकतालाई जीवन्त राख्न ।
कथाकार नरेन्द्रले सोचे, बसभित्र कोचिन बाध्य मानिसहरूसँग उनको सरोकार छ । कथामा गोधुलीसहित यो पनि आओस् ।  

मधुपर्क चैत २०७६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?