logo
२०८१ बैशाख १५ शनिवार



जनस्तरीय सम्बन्धको आयाम बन्न सक्छ कलासंस्कृति

कला |


जनस्तरीय सम्बन्धको आयाम बन्न सक्छ कलासंस्कृति



चाँदनी हमाल

काठमाडौँ, असोज १९ गते । विभिन्न देशको जनस्तरीय सम्बन्धको विकास गर्न नेपालको मौलिक कला, संस्कृति समृद्ध खुट्किलो बन्न सक्ने देखिएको छ । कला, संस्कृति, साहित्य, चलचित्र आदिलाई राज्यमा निहित नरम शक्ति भनेर चिनिन्छ ।
परम्परागत कूटनीतिको मार्गलाई प्रशस्त बनाउने काम सफ्ट कूटनीति अर्थात् कला संस्कृति अदानप्रदानसहितको जनसम्बन्धले गर्छ । यसमा विश्वका ठूला देश अगाडि छन् तर कलाको धनी मानिने नेपालले देशको मौलिक कला संस्कृतिलाई मूलधारमा ल्याउन सकेको छैन । नेपाल सिँगार्ने मात्र हैन, आर्थिक समृद्धिको स्रोत बनाउनेतर्फ सरकारले चासो दिने बेला आइसकेको कूटनीतिज्ञ तथा कलापारखी औँल्याउँछन् ।
गएको साता माल्दिभ्समा सार्क आर्ट क्याम्प आयोजना भयो । त्यसमा नेपालका चित्रकारले आफँै पैसा तिरेर सहभागिता जनाए । “आफैँ तिरेर जानुपर्दा धेरै कलाकार जान सकेनन्”, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले भन्नुभयो, “कलाकारले सिङ्गो देश चिनाउने हुँदा कम्तीमा जाँदा आउँदा सहुलियत दिने नीति बनाउने बेला आएको छ । ” जनस्तरबाट मात्रै गर्दा त्यसले ठूलो महŒव र प्रतिफल दिन नसक्ने अनुभव कर्माचार्यको छ ।
त्यही साता चीनका कलाकारको ठूलै समूह नेपाल आएको थियो । जनवादी गणतन्त्र चीन स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाउन काठमाडौँमा हुनान प्रान्तस्थित ‘चाइना कल्चरल आर्ट सेन्टर’का धेरै कलाकार सरकारी सहयोगमै नेपाल आएका थिए ।
मौलिक चित्रकलाले नेपालको संस्कृति बोल्छ । अरनिकोले प्रख्यात पारेको प्यागोडा शैलीको काष्ठकला होस् वा ऐतिहासिक लिच्छवि र मल्लकालीन ढुङ्गे मूर्तिकला नै किन नहोस्, नेपालको इतिहास चीनमा उति बेला अरनिको जाँदा जोडिएको छ ।
नेवारी सभ्यता बोकेको पौभा कला, बौद्धधर्मको संस्कार बोकेको थाङ्का र मिथिला संस्कृति बोल्ने मिथिला कला सबैतिर पूर्वीय सभ्यताको फरक आभा झल्कन्छ । सिङ्गो नेपाल मण्डलमा परम्परागत कुचीले निखारिएका कला हुन् वा आधुनिक धारको फ्युजन मिसिएका कला, सबैले नेपालको प्रतिनिधित्व लामो कालखण्डदेखि गर्दै आएको छ ।
नेपालमा कला संस्कृतिलाई जनस्तरको कूटनीतिक सम्बन्धबाट अगाडि बढाइएको अर्को उदाहरण अघिल्लो महिना नेपालमा जलरङ समाजले आयोजना गरेको अन्तर्राष्ट्रिय कला प्रदर्शनी पनि हो, जहाँ जलरङ समाजको आफ्नै पहलमा नेपाल कला परिषद्मा नेपाल, भारत, चाइना, बङ्गलादेशका ८५ जना कलाकारको कला प्रदर्शन भयो ।
जलरङ समाजले हरेक वर्ष विश्वका अत्यधिक मुलुकका कलाकर्मी नेपाल भिœयाउँदै बृहत् अन्तर्राष्ट्रिय कला प्रदर्शनी संस्थागत सम्बन्धकै आधारमा गर्ने गर्छ । “केही सहयोग नेपाल पर्यटन बोर्ड र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले गर्छ”, जलरङ समाजका अध्यक्ष एनबी गुरुङले भन्नुभयो, “नत्र विभिन्न देशसँग सहकार्य गर्न अन्य कूटनीतिक नियोग र सरकारी निकायमार्फत जान पाएको भए हामीले पनि गर्व गर्न सक्थ्यौँ । ”
उहाँका अनुसार यस्ता कलात्मक सम्बन्धले कलाकारको व्यक्तिगत कला जीवनलाई उकास्ने काम मात्र गर्दैन । देश–देशबीच जनसम्बन्धको बलियो जग बसाल्छ । नेपाली कलाकारमार्फत नेपाल आएका कलाकार पर्यटक बनेर घुम्दा देशका लागि आर्थिक आय हुन पुगेको उहाँ बताउनुहुन्छ । केही समयअघि रेडियो चाइनाको नेपाली विभागले नेपालको कला र संस्कृतिलाई चीनमा प्रचार गर्न जलरङ समाजसँग प्रस्ताव गरेको छ । कला पर्यटनको विस्तार र नेपाली कलाको ऐतिहासिक उपलब्धिलाई विदेशमा चिनाउन यसरी नै सहकार्य गरेर वैदेशिक जनसम्बन्ध कायम भइरहेको गुरुङले जानकारी दिनुभयो ।

कलाकारको जमघट
ठमेलस्थित मिथिला ऐँ आर्ट ग्यालरीले पनि बारम्बार अन्तर्राष्ट्रिय कलाकारको जमघट गराउने गर्छ । अघिल्लो हप्ता इन्डोनेसिया र नेपालको संयुक्त कला प्रदर्शनी भयो । त्यसअघि अघिल्लो महिना उहाँको आर्ट ग्यालरीमा दक्षिण कोरियाली कलाकारले सेरामिक कला प्रदर्शनी गरेका थिए ।
ग्यालरीका सञ्चालक श्यामसुन्दर यादवले २०६२ सालदेखि नै अमेरिका, इन्डोनेसिया, बङ्गलादेश, कोरिया, जापान, अस्ट्रेलियालगायत विश्वका २५ देशका कलाकार र कला सम्बन्धित संस्थासँग मिलेर स्वदेश र विदेशमा नेपालको कला प्रवद्र्धन गर्दै आउनुभएको छ । यादव सुनाउनुहुन्छ, “नेपालको कला विदेशीले खुब मन पराउँछन्, अझ यहाँ आएर कला कोर्न पाउँदा हर्षले विभोर नै हुन्छन् । ”
नेपाल आउने कलाकारले यहाँका जनजीवन, मठमन्दिर, त्यहाँको कलात्मकता, प्राकृतिक सौन्दर्य, नेपाली जीवनशैली खुब मन पराउँछन् । “विदेशभन्दा फरक धारको यहाँको अवस्थिति र मानवीय व्यहारप्रति पनि विदेशी कलाकार मोह राख्ने गर्छन्”, कलाकार डी. बरालले भन्नुभयो, “अझ देशका विभिन्न मनोरम स्थल अवलोकन भ्रमण गर्दै कोरिएका कलाले विदेशमा नेपाल देशकै फरक अस्तित्व बनाउने गरेको छ । ”

कलालाई उत्पादक शक्ति
संविधानको मर्मअनुसार सरकारको नीति तथा योजनामा नेपालको अनुत्पादक कला, संस्कृति र साहित्यको प्रवद्र्धन गर्र्नेे भनिएको छ । नेपालको संविधान २०७२ को धारा ३२ मा मौलिक हकअन्तर्गत भाषा संस्कृतिको हक प्रदान गरिएको छ । त्यस्तै धारा ५१ मा स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाज निर्धारण गर्ने, ऐतिहासिक, पुराताŒिवक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वद्र्धन र विकासका लागि अध्ययन अनुसन्धान, उत्खनन तथा प्रचारप्रसार गर्ने, सामाजिक सांस्कृतिक तथा सेवामूलक कार्यमा स्थानीय समुदायको सिर्जनशीलताको प्रवद्र्धन र परिचालन गर्ने, राष्ट्रिय सम्पदाको रूपमा रहेको कला, साहित्य र सङ्गीतको विकासमा जोड दिने भनिएको छ ।
त्यस्तै देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला र सम्पदाको संरक्षण र विकास गर्ने सोही धारामा उल्लेख गरिएको छ ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कर्माचार्यले पनि कलात्मक सङ्घसंस्थाको च्यानलबाट नै अहिलेसम्म नेपालको कला, संस्कृति प्रवद्र्धन भइरहेको बताउनुभयो । उहाँका अनुसार बङ्गलादेशमा हरेक दुई वर्षमा र भारतमा हरेक तीन वर्षमा ‘ट्रिना’ले हुन्छ । बेलायत र चीनले पनि नेपालसँग सहकार्य गरेर कला क्षेत्रमा काम गर्न खोजिरहेको छ तर नेपालका तर्फबाट कूटनीतिक पहलको खाँचो रहेको उहाँ औँल्याउनुहुन्छ । साँच्चिकै कलाको अर्थबजार खोज्ने हो भने उहाँका अनुसार पहिले राम्रा कलाकार र कलामा लगानी गर्ने छुट्टै व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारको लगानी
चीनमा नेपाली कला प्रवद्र्धन गर्दै आइरहेको वल्र्ड कल्चरल नेटका महासचिव राजेन्द्र रिमाल संस्थागत रूपमा अन्यत्रबाट निमन्त्रणा आएपछि कलाकार बोकेर जाने गरेको बताउनुहुन्छ ।
साथै अन्यत्र देशका कलाकारलाई संयोजन गरी नेपालमा कार्यक्रम व्यवस्थापन गर्न पनि सघाउँदै आएको छ । उहाँले चीनबाट भने सरकारी तहबाटै कला संस्कृति प्रवद्र्धनका लागि पटकपटक निम्तो आउने गरेको जानकारी दिनुभयो । नेपालमा चाइना फिल्म फेस्टिवल, स्थापना दिवस वा एसियन सिभिलाइजेसन परेड सबै उहाँको संस्थाले नेपालका तर्फबाट जिम्मेवारी सम्हाल्ने गर्छ ।
उहाँले भन्नुभयो, “चाइनाले संस्कृतिलाई महŒव दिएको छ अनि सांस्कृतिक गतिविधिलाई राज्यकै ठूलो लगानी गरेको छ । नेपाल भने प्राथमिकताको अत्यन्तै पुछारमा पर्छ, लगानीमा पनि प्राथमिकता छैन । ” नेपाली सिनेमा देशमै ओझेल पर्दा चीनका सिनेमामा भने सरकारले लगानी बढाउँदै गरेको अवस्था छ । दुई देशबीच सांस्कृतिक आदानप्रदान हुँदा प्रविधि र प्रस्तुतीकरणको सिकाइ आपसमा साट्न सकिने, नेपाली कला संस्कृतिको प्रचार हुँदा दूरगामी प्रभाव पर्ने लगायतका फाइदा उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार आधुनिक पश्चिमा कला संस्कृतिको अघि पूर्वीय सभ्यताको ऊर्जा बोकेको नेपाली कला संस्कृति कमजोर पर्दैछ । यसलाई ब्यूँताउन सरकार आफैँले जिम्मेवारी बोक्नुको अब विकल्प नरहेको बताउनुहुन्छ । विदेशी संस्कृति आयात गर्न प्रोत्साहन गर्नुभन्दा मौलिक संस्कृतिको प्रवद्र्धनमा लगानीको वातावरण बनाएर विदेशमा बिक्रीलायक बनाउन सकिने उहाँ सुझाउनुहुन्छ ।
हरेक उत्पादनका लागि पहिले लगानी गर्नुपर्छ तर नेपाली कला संस्कृृतिमा कुनै लगानी नगरी प्रतिफलको आश गर्नु गलत रहेको उहाँले औँल्याउनुभयो । उहाँका अनुसार समृद्ध नेपाल सुखी नेपालको एउटा आधार नै नेपालको आफ्नो मौलिक कला, संस्कृति, धर्म, संस्कार, चाडपर्व हो; जसले हरेक नेपालीलाई खुसी बनाइरहेको छ । यस्तो खुसी बाँड्न सक्ने विशाल संस्कृतिको भण्डार जोगाउन नरम कूटनीति एउटा बलियो माध्यम बनाएर सरकारले योजनाबद्ध ढङ्गले अघि लैजान सक्नेछ ।
कलासंस्कृतिमैत्री नीति जरुरी
नेपाल सांस्कृतिक संस्थानले पनि कूटनीतिक बाटो नपाउँदा काठमाडौँको सानो परिधिमा खुम्चेर बसेको धेरै भइसक्यो । नेपालका १२३ भाषाभाषी र अनेक जनजातिका आफ्नै लोककला, साहित्य, संस्कृति र शिल्प छ । एउटै जातभित्र पनि कला संस्कृतिको अनेकता छ ।
“तिनको मात्र प्रवद्र्धन गर्ने हो भने नेपाल सिङ्गो विश्वकै अध्ययन केन्द्र बन्न सक्छ”, संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्माले भन्नुभयो, “त्यो सबै अहिलेसम्म परम्पराले नै थेगिरहेको छ । त्यसका लागि अब राज्य उठ्नुपर्छ र कला, नीति तथा कार्यक्रममा प्राथमिकतासाथ बजेट दिएर उत्थानको नेतृत्व गर्नुपर्छ । ” उहाँका अनुसार अन्य देशमा नेपालको कला संस्कृति र सभ्यता प्रचार गर्न हरेक देशमा रहेको कूटनीतिक निकायलाई देशको राष्ट्रिय पर्वमा मात्र हैन, जनजातीय पर्वको समेत प्रवद्र्धन गर्ने वातावरण दिनुपर्छ ।
यसलाई आर्थिक आम्दानीको स्रोत बनाएर कलाकार र कलाको जीवनसँगै राष्ट्रकै आम्दानीमा टेवा पु¥याउन सकिने उहाँ उल्लेख गर्नुहुन्छ । “एकाध कलाकार विदेश पुगेर नेपाली कलाको प्रवद्र्धन हुन्न”, उहाँले थप्नुभयो, “विदेश जाँदा नेपाली टोलीकै लागि टिकट, बसाइ र खानपानको सुविधाको व्यवस्था गर्ने चलन अन्य देशमा झैँ नेपालले पनि गर्नुपर्छ । ” राजदूतावासबाट नगन्य निम्तो आउने गरेको अनुभव सुनाउँदै उहाँले टिकट किनेर जान नसक्ने कलाकार एक्लैले धेरै समय नेपालको धरोहर धान्न नसक्ने उहाँ बताउनुहुन्छ ।
उहाँले परराष्ट्र मन्त्रालय र पर्यटन, संस्कृति मन्त्रीले पनि कलाकारको भ्रमण अरूको जस्तो हैन भन्ने बुझेर टोली पठाउन कञ्जुस्याइँ नगरी पहल गर्नुपर्नेमा जोड दिनुभयो । विदेशका दुई सय कलाकार नेपाल आउँदा नेपालको कम्तीमा पनि २५ जनाको टोली आउजाउ गर्नसक्ने कूटनीतिक प्रावधान हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सांस्कृतिक संस्थानमा सरकारले दिने एक करोड रुपियाँ बजेट र हल भाडामा दिएर कमाएको अन्य करिब तीन करोड बजेट कर्मचारीको तलब र संस्थान व्यवस्थापनमै खर्च हुने गर्छ । कला प्रवद्र्धनका लागि निकै कम मात्र बजेट बाँकी रहँदा काठमाडौँमै सीमित हुनु परेको गुनासो उहाँ गर्नुहुन्छ ।

परराष्ट्रमा सांस्कृतिक कूटनीति शाखा
कला तथा संस्कृति गतिविधि अर्को देशमा सञ्चालन गर्दा हालसम्म राजदूतावास, महावाणिज्य दूतावास तथा कूटनीतिक नियोगमार्फत गरिरहेको परराष्ट्र मन्त्रालयले छुट्टै शाखा नै स्थापना गरेको छ । देशको कला तथा सांस्कृतिक धरोहरको संरक्षण गर्दै अन्य देशमा प्रवद्र्धन गर्न यही शाखाले नेतृत्व र निर्देशन गर्ने उद्देश्यसहित शाखा गठन भएको मन्त्रालयले जनाएको छ । हाल यो शाखा नीति तथा योजना विकास कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाअन्तर्गत रहेको छ ।
मन्त्रालयका सहसचिव एवं महाशाखाका प्रमुख कुमारराज खरेलले भन्नुभयो, “भर्खरै स्थापना भएको हो, शाखाअनुसार जनशक्ति भने हामीसँग छैन । सफ्ट कूटनीतिलाई मूलधारमा ल्याउने प्रयास भने भएको छ । सक्रिय हुन समय लाग्छ । ” उहाँका अनुसार नेपालले आफ्ना सांस्कृतिक र कलात्मक विविधतालाई ब्रान्ड बनाएर आफ्नो सांस्कृतिक कूटनीतिलाई उपयोग गर्ने सोच मन्त्रालयले बनाएको छ ।
महाशाखाको कार्यभारअनुसार बजेट पनि पर्याप्त छैन । महाशाखाअन्तर्गत एक जना सहसचिव, एक उपसचिव, तीन जना अधिकृत, आठ जना नायब सुब्बा र तीन जना कार्यालय सहायक कार्यरत छन् । यति जनशक्तिका भरमा सार्वजनिक तथा सांस्कृतिक कूटनीति, आर्थिक कूटनीति, सूचना तथा सञ्चार कूटनीति, श्रम कूटनीति, नीति योजना, अनुगमन तथा अनुसन्धान र विदेशमा रहेका नेपालीसम्बन्धी शाखा चलाउनुपर्ने बाध्यता छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?