logo
२०८१ बैशाख १४ शुक्रवार



इतिहासका घटनालाई क्यानभासमा उतारिएका चित्रकाे प्रर्शनी 

कला |


इतिहासका घटनालाई क्यानभासमा उतारिएका चित्रकाे प्रर्शनी 


गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २० गते । हनुमानढोकामा इन्द्रजात्रा चलिरहेको थियो । काठमाडौंलाई घेराबन्दी गर्दै अगाडि बढेको गोरखाली फौजले रातको समयमा एक्कासि आक्रमण गर्यो । रातभरको लडाईमा जित प्राप्त गरेपछि भोलिपल्ट पृथ्वीनारायण शाहले कुमारीको हातबाट टीका ग्रहण गरे । इतिहासका पानाका यी भीषण लडाईको वर्णनलाई बरिष्ठ कलाकार हरिप्रसाद शर्माले क्यानभासमा उतार्नुभएको छ ।
काठमाडौँ उपत्यकाको शताब्दी पुराना संस्कृति, जनजीवन, रहनसहन, आर्किटेक्चर र इतिहासका दूर्लभ घटनाका ८४ थान चित्रकलाको २० दिने प्रदर्शनी ‘नेपाल थ्रो द एज्’ नेपाल आर्ट काउन्सिलमा शुक्रबारदेखि सुरु भएको छ । ८२ वर्षीय कलाकार शर्माले २५ वर्षको अवधिमा बनाएका यी चित्रकलाले इतिहासका धेरै गम्भीर पाटोलाई बुझ्न मद्दत पुर्याउँछ । सो प्रदर्शनीको बरिष्ठ मूर्तिकार शन्तकुमार शाक्यले उद्घाटन गर्नुभयो ।
कलाकार शर्मा यो उमेरमा पनि नियमित कलाकर्म मै हुनुहुन्छ । राजा प्रताप मल्लले दरबारको चौघेराभित्रको बहालमा आफ्ना रानीहरुसँग बसेर कसरी फागुपूर्णिमा मनाउँथे ? भन्ने गज्जबको ऐतिहासिक परिकल्पनासमेत प्रदर्शनीमा छ, जुन दुई दिनअघि मात्रै उहाँले तयार पार्नुभएको थियो ।
पृथ्वीनारायण शाहले जीवनको आखिरी समयमा नुवाकोट दरबारमा आफ्ना भाइभारदार राखेर दिव्य उपदेश दिएको बेलाको सन्नाटापूर्ण अवस्थाको दृश्य कस्तो थियो ? कैलाशकुट भवन कस्तो थियो ? राजा अशोकले लुम्बिनीमा स्थापना गरेको अशोक स्तम्भमाथि घोडाको मूर्ति कसरी राखियो ? कलाकार अरनिको ८० जना कालिगढ लिएर चीन जाने क्रममा गरिएको विदाई दृश्य कस्तो थियो ? आजभन्दा ७० वर्षअघि काठमाडौँमा भैरव जात्रा कसरी मनाइन्थ्यो ? राजा मानदेवले चाँगुनारायण मन्दिरमा गरुढ स्तम्भ स्थापना गराउँदाको माहोल कस्तो थियो ? बेहुली बनेर भृकुटी चीन पुग्दाको वातावरण कस्तो थियो ? इतिहासका रोमाञ्चक घटना र पात्रलाई कलाकार शर्माले मिहिन ढंगले क्यानभासमा उतार्नुभएको छ । प्रदर्शनी उद्घाटनमा बरिष्ठ कलाकार शर्माले इतिहासका विशिष्ट घटनाको अध्ययन र तिनलाई चित्रमा उतार्नु विशेष रुचीको विषय भएको बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ कलाकार मदन चित्रकारले सत्ता र शक्तिको पिछलग्गु नभएर नितान्त कलाप्रति समर्पित कलाकारको रुपमा शर्माले कलाकर्म गरिरहनुभएको बताउनुभयो ।
नेपाल सम्पदा संघ, हिमाल एसोसिएसन र सोसल साइन्स वहाः द्वारा आयोजित प्रदर्शनी असोज ९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?