निबन्ध: अग्लो सगरमाथा कि सफा सगरमाथा ?

कला |


2019-08-19-167


 कलानिधि दाहाल

एउटा प्रश्न सधैँ मनभित्र जन्मने गर्छ । मनले सधैँसधैँ त्यही प्रश्नको उत्तर खोजिरहन्छ– अग्लो सगरमाथा असल कि सफा सगरमाथा ? पहिले म सोच्दै सोच्दैनथेँ । अग्लो हुनासाथ त्यो त्यसै पनि असल भयो, महान् भयो । जो आफैँमा सिद्ध छ । उसलाई सोचेर÷सम्झेर समयको बर्वाद गर्नु कुनै औचित्य रहँदैन । यसै दृढ विश्वासका कारक फाँटमा म निरन्तर घुमिरहेँ, मलाई यसै विश्वासले निरन्तर घुमाइरह्यो । ठान्थेँ– अमेरिकाको ट्विन टावर, फ्रान्सको आइफल टावर, बेलायतका सानदार अग्ला टावरजस्तै घरहरू सबैसबै अग्ला जति असल हुन् । मसँगै आँखाकै सामुन्ने उभिएको– उठ्दा पनि देखिने, बस्दा पनि देखिने, सहरको झिलिमिलीमा आफू र आफ्नोपनलाई बिर्सेर हिँड्दै÷हराउने, जाँदा कतै हराइयो भने पनि आँखा खोलेर माथि हेर्नासाथ आँखै चुम्न आउने मेरो धरहरा कति प्रिय थियो ! कति आनन्ददायक ! कति निस्पृह र कति तटस्थ ? आफैँमा महान् !

म यसै सेरोफेरोमा लामो समय रमाइरहेँ । मेरा सम्पूर्ण इन्द्रियले लिएको विश्वासको गतिलाई निरन्तरता दिने क्रमसँगै म अग्लेँ, धेरै अग्लेँ । सगरमाथाजस्तै अग्लेँ, ट्विन टावरजस्तै अग्लेँ, आइफलको उचाइकै छेउछाउ सर्लक्क पुगेको स्वप्नमा आनन्दविभोर अतीतका हरेक शृङ्खला–सिँढी हेरेर म मख्ख पर्दै फैलावटका पखेटा अझ यति टाढाटाढासम्म फैलाएँ– मलाई नचिन्ने कोही नभएको अनुभूतिमा पुगेँ । जताततै मेरै नाम लिएर मान्छेहरू मस्कन लागे । मेरै नामको जुलुस बनाएर जयजयकारका गुञ्जनहरू सहरभरि, सडकभरि, गल्लीभरि, गाउँभरि जता हे¥यो, ममै देखिन थालेँ । नाक अग्लेर सगरमाथा भयो, मन फैलेर आइफल । हृदयको धुकधुकी जम्मा भएर÷जोडिएर यति उचाइ लियो, सबैका आँखामा म, बोलीमा म, मिजासमा म, सेरोफेरोमा म । साँच्चै निकै समय बितेछन् यस गर्वले फुुलेल बनाएर अगाडि बढ्दा ।

यस गर्वले अनजान अवस्थाबाटै मलाई हठी बनाएछ । दम्भी बनाएछ । अहङ्कारी बनाएछ । त्यतिसम्म अहङ्कारी बनाएछ, जति अग्लो सगरमाथाका कोखकोखमा फोहोरका थुप्रोहरू अटेसमटेसिएका छन् । आइफलका भित्री तहमा, वरिपरिका बारका अदृश्य कणकणमा सूक्ष्म यन्त्रले हेरे भ्याई नसक्ना फोहोरका कणहरू थुप्रिएका छन् । ट्विन टावरका लिफ्टका प्वालप्वालमा यिनै फोहोरका जति मात्रामा अवस्थित छन् त्यति नै वा अझ बढी फोहोरका खतरनाक कणले मलाई अग्ल्याएको रहेछ– सतहको सीमा पारसम्म फैलने गरी, सतहको सीमा पारसम्म उठ्ने गरी, सतहको सीमा पारसम्म अनुगुञ्जित हुने गरी ।

कैयौँ अग्लाका फोहोरले अस्पतालका ओछ्यानमा सुताउँछ । सुताएकै छ– क्यान्सरका नाममा, टिबीका नाममा, एसिडिटीका नाममा । प्रायः यस्ता अग्लाइका रोगीहरू या त कुर्सी उन्मादका हुन्छन्, या त धनोन्मादका । या त प्रेमी उन्मादका भिखारिणीहरू हुन्छन्, या त प्रेमिकाले खुट्टी देखाइदिएका सङ्कीर्ण प्रेमी भिखारीहरू । या त अर्कै नाता बनाएर पत्नी बनाउन खप्पिस चेतना भिखारी पुरुषहरू हुन्छन्, या त पद पाएको उन्मादमा दिनेको दास बनेर पछि लाग्ने क्षमताहीन भिखारिणीहरू ।

ममा चाहिँ थुप्रै रोग एकैचोटि अनजान तरिकाले अग्लने औषधिका सुईहरू पसेछन् । अग्लँदै फैलने हठका सुईहरू, दम्भका सुईहरू, अहङ्कारका सुईहरू, हँुदै नभएका अस्मिताका सुईहरू । सबैले राम्रो भनिदिउन् भन्ने अन्तर अनजान अवस्थाका घुसेका सुईहरू सायद सुरुसुरुमा तेर्सिएर खात लागेका थिए होलान् वा मसँगको सहन क्षमता बढी भएर ती इन्जेक्सनले आफ्नो काम तदारुकताका साथ गरे पनि ममा तिनको असरले ऐया ! आत्थो !! केही गराउन सकेनन् । लामो समय अग्लाइकै कारणले फैलिएको सगरमाथाझैँ, आइफलझैँ, अझ नजिकको सगरमाथाझैँ । परिणाम सामुमा नआई नचेतिने मान्छेको स्वभावझैँ म फैलावटको फराक फाँटझैँ यति परसम्म पुगेको छु, जहाँ सफाइको कुनै गुञ्जाइस नै रहन्न । मलाई डस्ने घमण्डका गोमनहरू, मलाई चिथोर्ने अङ्कारका चितुवाहरू, मलाई बिझाउने लोभका झुसिलकीराहरू, मलाई आकर्षणको अँगालोमा कसेर खाल्डोमा घचेट्दै अर्कोसँग अर्कै नाता गाँसेर विलासमग्न रहन चाहने सम्मोहनका क्लियोपेट्राहरूले मेरो ‘म’लाई खर्लप्पै खाउञ्जेल पनि म त्यही अग्लाइ अग्लिरहेँ, जसमा उनीहरूका प्रशंसा थिए– आह ! क्या रमाइलो मान्छे, क्या ह्याण्डसम मान्छे, कस्तो प्रसिद्ध मान्छे, कति दह्रो मान्छे, क्या धनी मान्छे, क्या मनकारी मान्छे तर उनीहरूले एक शब्द पनि उच्चारण गरेको कहिल्यै सुनिएन– कति असल मान्छे भनेर ।

धरहरा गर्लम्म ढल्यो । कारण ऊ अग्लो थियो । ट्विन टावर एकैपटक आगोका ज्वालामा लप्लपाए । किनकि यिनीहरू अझ अग्ला भएर विश्वकै आँखामा आँखाकै नानीजस्ता भएर चम्चमाएका थिए । आइफल, आरोह÷अवरोहको स्थितिबाट टाढा पुगिसकेको छ । कारण, ऊ पनि अग्लाइकै सीमा पार गरी विश्व आकर्षणको केन्द्रमा रह्यो । सगरमाथा वाइन र छोइला÷कचिला पिएर र खाएर टम्म मोटाएको छ । जिउँदै सहस्र मान्छे खाँदै÷खाइरहने सुरमा यति मोटाइसकेको छ न जाने कुनै पनि दिन उसले पहिरोको अस्पतालमा पस्नुपर्छ । सुनामीको डाक्टरसँग जँचाउनुपर्छ । भूकम्पको ओछ्यानमा लम्पसार पर्दै सुत्नुपर्छ । अग्लाहरूका आसन अनन्तका अंशमा नभई अन्त्यको बिहानमा बिउँझिँदारहेछन् ।

मलाई थाहा छैन– कसरी म अग्लिएँ ? अलिकति थाहा छ, म फोहोरिँदै गएपछि, म मैलिँदै गएपछि अग्लिने सिँढी बन्दै गएका हुन् । लोभका सन्तानले मुख बाउन लागेपछि अझ राम्रा सिँढी बने । डाहा थपियो अझ चिल्लिए । ईष्र्याका अनुहार सल्बलाउन थालेपछि म सिँढीको टुप्पोमा पुगेँ । क्रोधपूर्ण वयस्क भएपछि म चुलीको फुलीजस्तै भएँ । हौसलाका अँजुली फैलाएर मजाक र मिठासका मलामीले मलाई यति तन्काए– नाकका पोरामा कति घेरा थपिए भन्ने गन्ने समयसम्म भएन ।

एकाएक ट्विन टावर जले । धरहरा ढल्यो । सगरमाथा फोहोरको डङ्गुरले मोटायो, जसरी म लोभले, मोहले, डाहाले, ईष्र्याले, जलनले, आरिसले गमक्क परेर फुलेको छु । ओठ खुल्दैनन् हाँसौँ भने । रोऊँ, संवेदना निख्रिसकेको छु । लहरा देखेर मन रमाउन छाडिसकेको छु । अनि पो मान्छेले मलाई भनेका रहेका छन्– वाह ! वाह !! कले तँ त कति अग्लो भइस्, तँलाई खादा ओढाऊँ, तँ आज प्रमुख अतिथि छस्, यति बजे, यस ठाउँमा, जसरी पनि उपस्थिति अनिवार्य । हामी नै लिन आउँछौँ, अन्यत्र समय नदे है ।

जुन समय म सफा थिएँ, मेरो मनमा बुद्धत्वको बोल थियो, गान्धीको त्याग थियो, मेरो भन्ने केही र कोही थिएन । एउटा असल गरिबलाई देखेर भए केही दिन्थेँ, नभए घण्टौँ उससँगै अन्तरमर्मको संवेदित मिठासमा हराउँथेँ । कसैको लिऊँले स्पर्शसम्म गरेको थिएन । दिऊँको उदार मनोलोक आकाशको सेतो बादलजस्तै फैलेको थियो । इन्द्रेणीको सप्तरङ्गी चहकझैँ मसँग सीमाहीन आकर्षणका रङहरू चम्चमाउँथे, न लिऊँको अग्लाइमा डर थियो, न खोँचको गहिराइमा । न अस्तित्व फैलावटको भोक थियो, न अर्को असल बनेकामा डाह । न राम्रोप्रतिको मोहले शृङ्गारको सौदामिनी बजारतिर पाइला चल्मलाउँथे । एकतमास म विश्वभित्र थिएँ, विश्व मभित्र । त्यसबेला न कसैले मलाई वाह, कले ! भनेर सम्बोधन ग¥यो, न कसैले अतिथिको आसन उचालेर खादा माला पहि¥याए । जुनबेला मेरो अन्तरहृदय प्रकृतिको फराक फाँटजस्तै बनेर फैलिएको थियो, फूलजस्तै मन र मनजस्तै फूल थियो । कसैले मेरो फैलनुको अस्मिताबोधको त कुरै छाडौँ, मको सान्निध्य पनि लिएन वा दिएन । म एक्लो थिएँ । प्रकृति मसँग थियो । म सफा थिएँ । मसँग कर्तव्यको जादू नाच्थ्यो । उदारताको दृश्य आकाशजस्तै फैलन्थ्यो । लालच थिएन– मनका रेसारेसा सर्वत्र फैलावटको सीमाहीन दुनियाँसँग दौडन्थे । अहङ्कार थिएन, लोभ थिएन, डाह, ईष्र्या, उद्दण्डता केही थिएनन् । साधा कागजका सफा, सेता, सुन्दर पानाझैँ चमकदार म हुँदाको मेरो वास्तविकतामा म होचो थिएँ तर सफा, स्वच्छ, निष्कलङ्कित थिएँ । एक्लो थिएँ, बिल्कुल एक्लो ।

अग्लिएको जानकारी नहुञ्जेल सगरमाथा त्यति नै स्वस्थ थियो, सफा थियो, सुन्दर थियो र स्वच्छ पनि । उसको काखमा हिमजन्तुहरू आनन्दका सास फेर्थे । चर्थे, कन्याउँथे, बस्थे, खेल्थे । उन्मुक्त वातावरणको अनन्तयात्रा भयरहित सगरमाथा साँच्चै उनीहरूको स्वर्ग थियो । बिस्तारै सगरमाथाको परिमाण नापियो । नाप्नेहरूका जमात अग्लिएको मैलेजस्तै उसको छाती टेकेर नाप्छन्, उफ्रन्छन्, खोस्रन्छन् । भयको भूतले डेरा जमायो । वन्यजन्तुहरू कहालीका शिकार बन्दै भोजनका आहार हुनपुगे । शिकारका सितनले सिसीका फग्ल्याँटा फुटेर सगरमाथा क्षतविक्षत भयो, जसरी मेरो कथित अग्लाइसँगै म समाप्त भएँ । अग्लाइसँगै ट्विन टावर समाप्त भए । आइफल विद्रूप भइसकेकै छ । धरहरा गर्लम्मै ढलेर सानो प्वालको अवशेषमा छ कि झैँ, होला कि झैँ बिचरा बारिएर लुकेको छ । अब भन्नोस् मित्रहरू ! मान्यजनहरू !! महाशयहरू !!! अग्लो सगरमाथा असल कि सफा सगरमाथा ???

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?