logo
२०७८ माघ ५ बुधवार



राउटे हिरो

शनिवार |


राउटे हिरो


बसन्ती शाही

“तिमीसँग सल्लाह छ, अलि यता आऊ न,” मलाई देख्नेबित्तिकै पछि लागेको उसले हाँस्दै भन्यो । मैले उत्सुक हुँदै सोधेँ, “के सल्लाह हो ?” “अलि यता आऊ न,” उसले मेरो पाखुरा समातेर आफूतिर तान्यो र कानमै मुख ल्याएर भन्यो, “नास्ता खान जाऊँ न, हुन्छ कि नाइँ ?” मैले उसबाट यस्तो प्रस्तावको आशा गरेकी थिइनँ । म अलि पछाडि सरेर उसको अनुहारमा हेरेँ । उसलाई एकदम निश्छल र निष्कपट देखेँ । यसले के भनेको होला भन्ने सोचेँ । मसँग घुम्नकै लागि जाने पनि उसको इरादा होइन जस्तो लाग्यो । एकछिनपछि उसलाई भनेँ, “नास्ता खान कहाँ जाने ?”
उसले भन्यो, “चिसापानी, हुन्छ कि नाइँ ?”

ऊ मलाई ‘हुन्छ’ भनाउने पक्षमा थियो । उसले खानै नपाएर त मलाई खान जाने प्रस्ताव गरेको होइन भन्ने पनि लाग्यो किनकि उसको अनुहारमा भोक थिएन । अनि मैले भनेँ, “त्यहाँ पुग्न कति टाइम लाग्छ ?” उत्तरमा उसले भन्यो, “धेरै टाइम लाग्दैन, नजिकै छ ।”
मैले प्रतिप्रश्न गरेँ, “कसरी जाने त त्यहाँसम्म ?”
उसले भन्यो, “तिम्रो गाडीमा जाने हो के । हुन्छ कि नाइँ ?”

मेरो मुठीभरि दस रुपियाँका नोटहरू थिए । उसले देख्ने गरी मैले मुठीमा समातेकी थिएँ तर उसलाई त्यो सानो नोटको मुठ्ठाले कुनै असर पारिराखेको थिएन । त्यो पैसातिर उसको नजरसम्म पनि गएको देखिनँ । हेर्दा उसको उमेर किशोरावस्थाको आधाआधीतिर पुगेजस्तो अन्दाज लगाउन सकिन्थ्यो । भर्खरको कलकलाउँदो उमेरको तर हिजो राति खाएको अङ्ग्रेजीपानीको गन्ध उसको मुखबाट आई नै रहेको थियो । बोली पनि अलि लरबरिएको सुनिन्थ्यो । शब्दहरू अड्कलेर बोल्थ्यो । सायद नेपाली भाषामा राम्रो दख्खल नभएर पनि होला । नशाको अम्मलीजस्तो आँखा लोलाएको थियो । ओठमा कलेटी परेको थियो । प्रायः बोल्दाखेरि आफ्नो चोरऔँलालाई ओठमा छोएर बोल्थ्यो । सायद उसले आज मुख पनि धोएको थिएन । मलाई त लाग्थ्यो, उसले मुख नधोएको धेरै दिन भइसकेको छ । दुईवटा नेपाली झन्डा क्रस गरेर राखेको भादगाउँले कालो टोपी लगाएको थियो । त्यो पनि मैलो थियो ।
गलामा मैलो र पुरानोजस्तो देखिने कालो र सेतो रङको ऊनी गलबन्दी बेरेको थियो । गलबन्दीको छेउलाई घुमाएर सानो पोको बनाएको देखेँ र पोको समात्दै सोधेँ, “यो के हो ?” उसले कुन्नि के भनेथ्यो, मैले बुझिनँ र आफैँ खोलेर हेरेँ । उसले नाइँनास्ती गरेन । त्यहाँ सुर्तीको पोको राखिएको रहेछ । “यो के हो ?” मैले फेरि सोधेँ । चोरऔँला आफ्नो ओठमा राखेर उसले भन्यो, “सुर्ती !”

“तिमी खान्छौ ?” मैले साधेँ ।
उसले बिनाहिच्किचाहट भन्यो, “हो के, म खान्छु के ।”
“मिठो लाग्छ ?” मैले फेरि सोधेँ ?
उसले मेरो सवालको जवाफ दिन आनाकानी ग¥यो । फेरि भन्यो, “यता आऊ न ।”
“कता ?” मैले भनँे ।
“एकछिन क्या” भनेर फेरि मेरो कुममा हात राखेर मलाई आफूतिर तान्यो । अनि मेरो कानमै मुख ल्याएर भन्यो, “मलाई पाँच सय देऊ है ।” अनि मैले उसको मुखतिर हेरेँ र आँखामा आँखा जुधाएर मायालु स्वरमा भनेँ, “के गर्ने पाँच सयले भन त ?”
उसले उत्तर दिएन । बरु फेरि भन्यो, “हैन के मलाई देऊ है पाँच सय ।” ऊ जतिबेला पनि मेरोनजिकै आइरहेको हुन्थ्यो । उसको सास मेरो मुखैमा पर्ने गरेर बोलिरहेको हुन्थ्यो । सायद उसको सासबाट निस्किने चर्काे दारुको गन्धले होला, मेरो टाउको दुख्लाजस्तो भइसकेको थियो । “तिमी रक्सी पिउँछौ ?” मैले उसलाई सोधेँ ।

“हैन के,” उसले जवाफ दिन आनाकानी ग¥यो ।
मैले फेरि भनेँ, “तिमीले दारु कहिले खाएको भन त ?”
उसले भन्न चाहेन । भुइँमा हेरेर चुपचाप उभिई रह्यो । तिम्रो मुखबाट दारुको गन्ध आइरहेको छ नि । नखाएको भए कसरी आउँथ्यो भन्दा पनि ऊ बोलेन । उसँगै भएको अर्काे साथीलाई साधेँ, “तिमीले पनि रक्सी खाएका छौ, दुई जनाले सँगै खाएको ?” उसलाई पनि मेरो प्रश्नको उत्तर दिन मनासिब लागेन क्यारे । ऊ पनि बोलेन । बिस्तारै थाहा भयो । हिजो उसको बस्तीमा खुसियाली थियो रे ! यही कारण बस्तीमा रक्सी र मासुको भोज चल्यो रे रातिको समयमा । यही मौकामा उसले पनि सबै सँगै मिलेर खाएको रहेछ ।
मैले उसलाई सोधेँ, “तिम्रो नाम के हो ?”

“गोविन्द । गोविन्द के ?” मैले फेरि सोधेँ, “गोविन्दबहादुर शाही ? तिमी के शाही हो, कल्याल कि रासकोटी ?”
उसले भन्यो, “कल्याल ।” मेरो बुवा ठूलो मान्छे हो, म ठूलो मान्छेको छोरा हुँ भन्ने दम्भ उसमा झल्किन्थ्यो । उसलाई कुनै कुराको दुःख÷चिन्ता भएको जस्तो देखिँदैन थियो । आपूmले भनेको हुनैपर्छ भन्ने जिद्दी स्वभाव उसमा झल्किन्थ्यो । भनेजस्तो नभए “मेरो बुवा को हो, थाहा छ ?” भन्ने शब्द उसको मुखबाट निस्किहाल्थ्यो । अनुहारको भाव बिगाथ्र्याे । निधारमा रिस देखाउँथ्यो । जसरी पनि उसले भनेको हुनैपथ्र्याे । मसँग उसले कि त पाँच सय रुपियाँ कि त चिसापानी भन्ने ठाउँमा नास्ता खान जाने प्रस्ताव राखेको थियो । ऊ मलाई पटकपटक त्यही कुरा सम्झाइरहेको पनि थियो ।
गोविन्दलाई आपूm ठीक लाग्ला । ऊ ठूलो बाउको छोरा होला । पुगिसरी आएको होला । उसलाई कुनै चिन्ता नहोला तर मेरा लागि त ऊ नाजुक अवस्थाको लाग्थ्यो । उसको हालत देखेर मेरो मन झन्झन् भारी हुँदै गइरहेको थियो । पढाइलेखाइ गर्न पाएको भए, राम्रो संस्कारमा हुर्किन पाएको भए, स्वस्थ खान पाएको भए गोविन्द पनि कुनै घरानियाँको छोराभन्दा कमको हुने थिएन होला । देशको एउटा असल नागरिक बन्थ्यो होला । म भित्रभित्रै भावुक भएँ । आखिर जे भए पनि गर्न त मैले के नै सक्थेँ र ? न उसलाई मेरो बाटोमा ल्याउन सक्छु न त उसको बाटोमा जान सक्छु । उसको लामो आयुको कामनाबाहेक म यो बेला केही पनि गर्न सक्दिनँ ।

मैले सोधेँ, “घरमा कोको छन् ?”
उसले खुसी हुँदै भन्यो, “आमा, बुवा, बहिनी, भाइ र म । बहिनीको विवाह भइसक्यो । अब मेरो पालो हो बिहे गर्ने ।”
“केटी हे¥यौ त ?” मैले सोधेँ ।
उसले भन्यो, “मैले हेर्र्नै पर्दैन । बुवाले हेरे भइहाल्छ । अनि मैले बिहे गर्ने हो ।” “तिमीले बिहे गर्ने केटी त तिमीले नै हेर्नुपर्छ नि त । किन नहेरेको ? बुवाले हेरेको केटी तिमीलाई मन पर्छ त ?”
उत्तरमा उसले भन्यो, “मलाई मन पर्छ, बुवाले भने पछि । केटी त देखेको छु तर बुवाले भनेपछि मात्र हुन्छ, हो कि नाइँ । मेरो बुवा ठूलो हो । उसले भनेपछि हुन्छ ।”
मलाई उसले बीचबीचमा “हो के, हो कि नाइँ” भन्ने शब्द बोलेको औधी मन पथ्र्याे ।

मैले फेरि उसलाई भनेँ, “म एउटा कुरा भन्छु, तिमी मान्छौ ?”
उसले प्रतिप्रश्न ग¥यो, “तिमी मैले भनेको मान्छौ कि नाइँ ?”
मैले भनेँ, “पहिला म भन्छु ।”
उसले भन्यो, “हैन पहिला म भन्छु है । मान्छौ कि नाइँ ?” फेरि कानैमा आफ्नो मुख ल्याएर भन्यो, “मलाई पाँच सय रुपियाँ देऊ है, हुन्छ कि नाइँ ?”
मैले भनेँ, “पाँच सयले के गर्छौ ?”
उसले भन्यो, “हैन मलाई पाँच सय चाहिन्छ । देऊ है ?”
मैले भनेँ, “तिमी मैले भनेको मान्छौँ ?” ऊ बोलेन ।
फेरि सोधेँ, “तिमी मेरो घर जान्छौ ?”
“कहाँ हो तिम्रो घर ?” उसले सोध्यो ।
मैले भनेँ, “यही सुर्खेत बजारमा हो, जान्छौ ?”
केही सोचेजस्तै गरी उसले भन्यो, “कसरी जाने ?”
“मेरो गाडीमा जाने ।”
अनि उसले सोध्यो, “कसरी फर्कने त ? गाडी पठाइदिन्छौ ?”

मैले भनेँ, “पठाउँदिनँ, तिमीलाई उतै राख्ने हो, मेरै घरमा । सधैँका लागि । अनि हामीसँगै बस्ने हो । राम्रा–राम्रा लुगा लगाउने, मिठा–मिठा खानेकुरा खाने, मेरै घरमा बस्ने, गाडीमा घुम्ने, पढाइलेखाइ गर्ने, हुन्छ ?” उसले तुरुन्तै असहमति जनायो, “त्यो त हुँदैन । म त्यसरी बस्नु हुँदैन । म त यहीँ बस्नुपर्छ । कि त मलाई पाँच सय रुपियाँ देऊ, कि त भने नास्ता खान जाऊँ है । हुन्छ कि नाइँ, हुन्छ कि नाइँ ?” उसले मेरो पाखुरा समातेर हल्लाउँदै सोधिरह्यो ।
मैले भनँे, “अब म घर फर्किनुपर्छ । नत्र अबेला हुन्छ ।”

उसले भन्यो, “नास्ता खान जाने हैन ?”
मैले भनेँ, “नाइँ, नजाने ।”
उसले खिन्न अनुहार पार्दै भन्यो, “किन नजाने ? जानुपर्छ भनेको हैन ? हैन भने पाँच सय रुपियाँ दिएर जाऊ है ।”
“मसँग पैसा छैन । सबै सकियो,” मैले भनेँ ।
उसले जिद्दी ग¥यो, “नाइँ हुन्न, मलाई चाहिन्छ, दिनैपर्छ । मैले पर्स बोकेकी थिइनँ । गोजीमा भएको पैसा बाँडेर सकेँ । उसलाई दिँदा लिनै मानेन । सानो भयो रे । उसलाई पाँच सय नै नभई नहुने रे ! मैले भनेँ, “तिमी मलाई तल खोलासम्म छोड्न जाँदैनौ ?”
उसले सहजै स्वीका¥यो, “जान्छु, हिँड ।”
तल खोला थियो । स्थानीयले त्यस खोलालाई चिङ्गार भन्दा रहेछन् । त्यही खोलाको किनारमा हामीले गाडी रोकेका थियौँ । खोलाको केही माथि थुम्कोमा गोविन्दको घर (छाप्रो) थियो । गुुुजुमुज्ज परेको गाउँको बीचमा उसको घर थियो । गाउँमा न खानेपानीको धारा, न चर्पी, न सरसफाइ । कहालिलाग्दो बस्ती थियो ।

मैले भनेपछि गोविन्द मलाई छोड्न तल खोलासम्म जान तयार भयो । ऊ जसरी पनि मबाट पाँच सय रुपियाँ झार्ने पक्षमा थियो । मैले पनि सोचेँ, “अति गरेको छ, यसलाई पाँच सय त दिनैपर्छ तर यो पैसाले उसले रक्सी नै खान्छ भन्ने पनि मलाई यकिन भइसकेको थियो तर पनि मैले पैसा नदिएर उसको मन दुःखाउन चाहिनँ ।” मैले उसको हातमा पाँच सय रुपियाँ पर्दाको खुसीको अनुमान गरेँ । पाँच सय नदिँदा उसले अनुभव गर्ने दुःखको पनि मैले सजिलै अनुमान गरेँ । अनि फेरि आफूलाई खोलासम्म पु¥याउने प्रस्ताव राखेँ तर उसलाई भने पाँच सय दिन्छु भन्ने वचन गरिसकेकी थिइनँ । हामी तल झ¥यौँ । गोविन्द पनि हामीसँगै तल ओर्लियो । खोला त¥यौँ, ऊ पनि हामीसँगै त¥यो ।

खोला तरिसकेपछि मैले उसको पाखुरा समातेर भनेँ, “मसँग जाऊँ है त ?”उसले इन्कार ग¥यो र भन्यो, “जाने बेलामा पाँच सय रुपियाँ दिएर जाऊ है ।” मैले भनेँ, “साँच्चै भन त तिमी पाँच सय रुपियाँले के गर्छौ ?”उसले मेरो प्रश्नको उत्तर दिँदै दिएन । मैले गाडीको ढोका खोलेँ र उसलाई गाडीको सिटमा बस्न भनेँ । उसले बस्न मानेन । मैले कर गरेँ । नास्ता खान जाने भनेको होइन ? हिँड जाऊँ । उसले थाहा पाइहाल्यो कि यसले नास्ता खाना दिन्न । त्यसैले गाडीमा बस्न मानिरहेको थिएन । गाडीबाट ब्याग निकालेँ र त्यहाँबाट पाँच सयको नोट झिकेँ । पाँच सयको नोट देख्नासाथ उसको मुहारमा एक्कासि परिवर्तन आयो । पाँच सयको नोट ऊतिर देखाउँदै भनेँ, “यो कति रुपियाँ हो ?” उसले भन्यो, “पाँच सय ।”
“साँच्चै लिने त ?”

“अऽ लिने ।”मैले पाँच सयको नोट उसलाई दिएँ र बिदा गरेँ तर उसलाई देखुञ्जेल फर्की फर्की हेर्न मन लाग्यो र हेरी पनि रहेँ । ऊ खोला तरेर उकालो उक्लँदै थियो । मेरो गाडी उसलाई ओझेल पार्दै अगाडि बढ्यो । उसको अवस्था र व्यवहार देखेर दया र माया दुवै एकैचोटि पलायो । साथै यो सृष्टिकर्तासँग रिस पनि उठेर आयो । किन आफ्नै सन्तानहरू पनि फरक फरक बनाएको होला । गोविन्दको कहालिलाग्दो अवस्था देखेर मलाई पीडा बोध भयो । आँखाबाट आँसु झारिरहे । आखिर म त्यो राउटे हिरोलाई के नै गर्न सक्थेँ र ! गर्न खाजे पनि उसको राउटे नियमले मलाई गर्न दिँदैनथ्यो । उसको मायालु अनुहारले मलाई पलपल झस्काइरह्यो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?