logo
२०८१ बैशाख २६ बुधवार



ग्लोबल एनआरएन सिंगिङ आइडलका उत्कृष्ट २५ प्रतिस्पर्धी छनाेट

विदेश |
मनोरञ्जन |


ग्लोबल एनआरएन सिंगिङ आइडलका उत्कृष्ट २५ प्रतिस्पर्धी  छनाेट


गोरखापत्र अनलाइन
कठमाडौं, साउन २४ गते । ग्लोबल एनआरएन सिंगिङ आइडलमा २५ जना प्रतिस्पर्धी उत्कृष्ट भएका छन् ।  ग्लोबल एनआरएन सिंगिङ आइडल २०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जनालाई छानिएको हो ।

‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’ को भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’ बाट २५ जना प्रतिस्पर्धी छनोट हुनुभएको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय यूवा समितिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका ३० जनामध्ये ‘गाला राउन्ड’मा २५ जना पुग्नु भएको छ ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकमा गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलाल रहनुभएको छ । ५ जना महिला र २० जना पुरुष उत्कृष्ट २५ मा पुग्नु भएको हो ।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार निर्णायकको मत र भोटिङमार्फत् प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको छ । गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेर डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत् गरिएको उहाँको भनाइ छ ।

आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत् ४० प्रतिशत अंक प्राप्त गर्ने छन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्ने छन् । आइडलका विजेताले सात लाख, दोस्रो पुरस्कार चार लाख, तेस्रो पुरस्कार दुई लाख, चौथो पुरस्कार एक लाख र पाँचौं पुरस्कार ५० हजार रुपियाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर दिने एनआरएनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?