logo
२०८१ बैशाख १५ शनिवार

  समाचार विश्लेषण  



वाइडेनको विजय कि राष्ट्रपति ट्रम्पको पराजय ?

विदेश |
अन्तर्राष्ट्रिय |


वाइडेनको विजय कि राष्ट्रपति ट्रम्पको पराजय ?


कृष्णराज खनाल
जो वाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वभर विभिन्न प्रतिक्रिया उत्पन्न भएका छन् । अमेरिकी जनताको सर्वाधिक ठूलो प्रतिक्रिया भने यस्तो छ, यो निर्वाचनमा वाइडेन निर्वाचित भएका होइनन्, राष्ट्रपति ट्रम्प हारेका हुन् ।
एउटाको हारमा अर्काको जीत त हुन्छ नै । यसलाई जे जसरी अर्थ्याए पनि सही नै लाग्छ । तर सामान्यतया दोस्रो कार्यकालमा पराजय भोग्ने थोरै अभागी राष्ट्रपतिको सूचीमा राष्ट्रपति ट्रम्पको नाम पनि समावेश भएको छ ।
अमेरिका विश्वको पहरेदार सिपाही भएका कारण जो वाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि (जनवरी २०) देशभित्र र देश बाहिरका अनगन्ती समस्यासँग जुध्नुपर्नेछ । अमेरिकी मूल्य र मान्यतामाथि धावा बोलिएको ट्रम्प कार्यकालको समीक्षा गर्र्दै यसको पुनरुत्थान वा वापसीमा विशेष जोड दिनुपर्नेछ । स्वतन्त्रता र न्यायको आदर्श परिभाषा स्थापित गर्नुपर्नेछ । भत्किएका जनताका विश्वासलाई पुनः जागृत गर्नुपर्नेछ ।
देशभित्रको अहिलेको सबैभन्दा जल्दोबल्दो समस्या भनेको कोरोना भाइरसको आतंक नै हो । यसले करिब दुइ लाख ३४ हजार अमेरिकन नागरिकको ज्यान लिइसकेको छ । कोरोनाको कहरलाई हल्का रुपले लिएको कारण ट्रम्पको ह्वाइट हाउसबाट बहिर्गमन हुनुपर्ने एक प्रमुख कारकका रुपमा छ । यसबाहेक उनका बोलीचाली र व्यवहार, जनमानसमा भ्रम छर्ने र विज्ञानलाई नै चुनौती दिने किसिमका हल्का टिप्पणी र भूmटका पुलिन्दाहरुले उनको पराजयलाई मलजल गरेका हुन् ।
वाइडेनसँग राष्ट्र र परराष्ट्रसँगको बहुआयामिक नेतृत्व गर्नसक्ने क्षमता र आँट छ । करिब चार दशक लामो सिनेटरको अनुभव त छ नै उहाँसँग आठ वर्ष लामो उपराष्ट्रपतिको गहकिलो र दर्विलो अनुभव छ । त्यसमाथि उहाँले एक सक्षम र काविल महिला कमला ह्यारिसलाई उपराष्ट्रपतिको जिम्मा दिनुभएको छ । कमला अमेरिकाको २४४ वर्षको इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुनुहुन्छ । उहाँ क्यालिफोर्निया राज्यको पहिलो एटर्नी जनरल तथा पहिलो अश्वेत सिनेटर हुनुहुन्छ ।
वाइडेनका लागि यो समय बहुत कठिन छ । अमेरिकाको राजनीति विभाजित छ, ध्रुवीकृत छ । तँ नीलो र म रातो भन्ने आरोप प्रत्यारोप चलिरहेको छ । संसदमा एउटाले चिया खाएको ठाउँमा अर्को पार्टीको सांसद नजाने परिपाटीको विकास भएको छ । उहाँले यसलाई एउटै अमेरिका बनाउने भने पनि सहज भने छैन । अमेरिकामा कोरोना भाइरसलाई निराकरण गर्नसक्ने अचूक खोप नबनिसकेको परिप्रेक्ष्यमा उहाँले कसरी र कस्तो प्रकारले यसलाई सामान्य रुपमा ल्याउन सक्नुहुनेछ त्यो अमेरिकी जनताको प्रतीक्षाको विषय हो ।
उता यो निर्वाचन परिणामबाट माथिल्लो सदन सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत नआउने लगभग पक्का भएको छ । यसले उहाँले जनजीविका र राष्ट्रिय समस्या समाधानका लागि गर्ने अनेकन् उदार नीति तथा कानुन कार्यान्वयनहरुमा रिपब्लिकनले भाँजो हाल्नेछ । यसका लागि मिच म्याककोनेल तयार भएर बसेका छन् । ओबामाका लागि पिलो सावित म्याककोनेलले वाइडेनलाई साथी भनेर सहजै छाड्ने छैनन् ।
सेतो घरमा पुगेपछि विश्वभरका राष्ट्रहरुसँग नयाँ सम्पर्क, सम्बन्ध र सम्झौताहरु गर्नुपर्नेछ । यसका लागि उहाँले रातो दिन खट्नुपर्नेछ । ७८ वर्षीय वाइडेनका लागि यी सबै कुरा सम्भव हुँदैनन् । बेलाबेलामा उहाँको स्वास्थ्यले उहाँलाई पिरोलिरहन्छ । दुइ पटक मस्तिष्कको शल्यक्रिया गराइसक्नुभएका जो वाइडेन बेलाबेलामा बिर्सने समस्याबाट ग्रस्त हुनुहुन्छ । त्यसैले होला शायद राष्ट्रपति ट्रम्पले वाइडेनलाई बारम्वार स्लिपी जो भनेर आलोचना गर्ने गर्नुहुन्छ ।
जनताका चाहनाहरु यथेष्ट छन् । यो महाव्याधिका बेलामा झन् जनता अस्थिर र मानसिक रुपले बिरामी पनि छन् । मानिसहरु रोजगारी नपाएर पीडित छन् । स्वास्थ्य समस्या बग्रेल्ती छ । जलवायु परिवर्तनमा अमेरिकाको भूमिका कुन र कस्तो प्रकारले हुनेछ, शिक्षालाई कसरी अगाडि बढाउने भन्ने समस्या छ । यी सम्पूर्ण यावत् अमेरिका र विश्वव्यापी समस्यालाई समाधान गर्न काबिल हुनुहोस् शुभकामना ।

(खनाल पूर्व गाेरखापत्रकर्मी तथा अमेरिकामा कार्यरत पत्रकार हुनुहुन्छ )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?