logo
२०८१ बैशाख १४ शुक्रवार



आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने बढे

विदेश |
अर्थ |


आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने बढे


मुकुन्द गैरे
काठमाडौँ, साउन २९ गते । अबुधाबीस्थित नेपाली दूतावासले आकर्षक तलबको प्रलोभन देखाई युवालाई युएईमा ल्याएर अलपत्र पार्ने क्रम बढेको भन्दै ठगी गर्नेलाई कारबाही गर्ने बताएको छ । दूतावासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै संयक्त अरब इमिरेट्स ( युएई) लगायत तेस्रो मुलुकमा आकर्षक तलब सुविधाको प्रलोभन देखाई भ्रम सिर्जना गरी भिजिट वा अन्य भिसामा ल्याई ठग्ने काम भइरहेको बताएको हो ।
साथै आधिकारिक निकायबाट सत्यतथ्य नबुझी गलत सूचना र प्रलोभनमा परी नेपालीहरू ठगिने गरेको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।
वैदेशिक रोजगारी तथा अन्य उद्देश्यले विदेश पठाउने नाममा हुने गरेको ठगीसम्बन्धी निवेदनहरू दूतावासमा आउने गरेका छन् ।
नेपालस्थित एक वैदेशिक रोजगार कम्पनीमा काम गर्ने व्यक्तिले यही मङ्सिर ८ गते बेलायत लैजाने प्रलोभनमा पारी नौ लाख रुपियाँ लिई हाल युएईमा रहेका एक व्यक्तिको जिम्मा लगाएको दूतावासले जानकारी दिएको छ ।
तर यूएई आएपछि बेलायत पठाउन नसकिने भन्दै यूएईमै राम्रो रोजगारीमा लगाइदिने भनी पासपोर्ट र अन्य कागजातसमेत सो व्यक्तिले लिएर राखेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रोजगारीको लागि तयार अफर लेटर र भिसासमेत नक्कली भएको पाइएपश्चात नेपाल फर्कन आफनो पास्पोर्ट पीडितले माग्दा ठगी गर्ने व्यक्तिले पासपोर्ट लिन बोलाई साङ्घातिक हमला गर्न लगाएको दूतावासले जनाएको छ ।
यस्ता ठगी कार्यमा संलग्न हुने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने दूतावासले सचेत गराएको छ ।
साथै वैदेशिक रोजगारीमा आउँदा आधिकारिक निकायबाट सत्यतथ्य बुझी प्रचलित कानुनबमोजिम नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्रै आउन दूतावासको अनुरोध छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?