logo
२०८१ बैशाख २८ शुक्रवार



प्रदेश २ मा जसपाका १० प्रदेश सभा सदस्य लोसपाकाे पक्षमा

राष्ट्रिय |


प्रदेश २ मा जसपाका १० प्रदेश सभा सदस्य लोसपाकाे पक्षमा
निर्वाचन कार्यालयमा जसपाबाट लोसपामा प्रवेश गर्न सनाखत गर्न जानुभएका प्रदेश सभा सदस्यहरु ,तस्विर –धबेन्द्र झा, जनकपुरधाम


धर्बेन्द्र झा
जनकपुरधाम, भदौ १६ गते । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएर गठन भएको लोकतान्त्रिक समाजवादीमा जसपाका १० जना प्रदेशसभा सदस्यले सनाखत गर्नुभएको छ ।प्रदेश नं.२ का दश जना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी रोज्नुभएको हो । प्रदेश नं. २ निर्वाचन कार्यालय पुगेर उहाँहरुले लोसपाको पक्षमा सनाखत गरेको प्रदेश नं.२ निर्वाचन कार्यालयका प्रमुख पुष्पा झाले जानकारी दिनुभयो ।

त्यसैगरी, बुधबार सम्ममा ६१ जना विभिन्न पालिकाको जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरी लोसपा रोज्नुभएको उहाँले बताउनुभयो । लोसपाका नेता एवम् प्रदेशसभा सदस्य परमेश्वर साहका अनुसार आज प्रदेश नं.२ को निर्वाचन कार्यालयमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता कुमारी, निलम देवी भुमिहारिन, अलका झा, गौरी नारायण साह, जानकी शरण साह, रमेश प्रसाद कुर्मी र बाबुलाल साह रहनुभएको छ ।

निर्वाचन आयोगले पार्टी रोजनका लागि भदौ २२ गते सम्मको समयसिमा दिएकाले लोसपा रोज्ने प्रदेशसभा सदस्य र पालिकाका जनप्रतिनिधिहरुको संख्या बढ्ने लोसपाका नेता जितेन्द्र सोनलले बताउनुभयो । सोनलले आफूलगायतका केही सांसदहरु बिहीबार निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने बताउनुभयोे । उहाँले भदौ २२ गते सम्ममा जसपाबाट अत्याधिक मात्रामा प्रदेशसभा सदस्यहरु लोसपामा प्रवेश गर्ने दावी गर्नुभयो ।

प्रदेश नं. २ मा पूर्व नेपाल संघीय समाजवादी पार्टीका ३० र पूर्व राजपाका २५ गरी जसपाका ५५ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । पूर्व नेपाल संघीय समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य उपमा कुमारी देव उपसभामुख रहनुभएको छ भने राजपाका एक जना प्रदेशसभा सदस्य सरोज कुमार यादव हाल प्रदेश नं.२ को सभामुख रहनुभएको छ । सभामुख र उपसभामुखले हाल पार्टी रोज्न पाउने व्यवस्था नरहेको लोसपाका नेता एवम् प्रदेश सभा सदस्य परमेश्वर साहले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?