logo
२०८१ बैशाख १५ शनिवार



यातायात खर्चले सुत्केरी सुरक्षा प्रभावकारी

प्रदेश |


यातायात खर्चले सुत्केरी सुरक्षा प्रभावकारी


दमौली समाचारदाता

दमौली (आबुखैरेनी), भदौ ४ गते । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ मा रहेको आबुखैरेनी स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी गराउनेको सङ्ख्या विगतको भन्दा बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा ८६ जनाको सुरक्षित सुत्केरी गरिएको सो स्वास्थ्य चौकीमा गत आर्थिक वर्ष २०७५/७६ मा १०५ जना सुत्केरी गराइएको आबुखैरेनी स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेव अगमराज उपाध्यायले बताउनुभयो ।
सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेलाई सङ्घीय सरकारले यातयात खर्चस्वरूप दुई हजार रुपियाँ उपलब्ध गराउँदै आएकोमा गत आर्थिक वर्षदेखि आबुखैरेनी गाउँपालिकाको तर्फबाट थप एक हजार रुपियाँ उपलब्ध गराउँन थालिएको उपाध्यायले बताउनुभयो । सोही कारण पनि सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो । त्यसबाहेक सरकारी स्वास्थ्य संस्थामा नियमित चार पटक गर्भवती जाँच गराएमा थप आठ सय रुपियाँ र नवजात बच्चा आमा दुवैलाई दुई दुई जोर कपडासमेत उपलब्ध गराइएको उपाध्यायले जानकारी दिनुभयो । त्यसबाहेक सरकारी स्वास्थ्य संस्थामा सुरक्षित रूपमा सुत्केरी गराउँदा हुने सुरक्षाका बारेमा सचेतना बढेको कारण पनि सङ्ख्या बढेको उहाँले बताउनुभयो ।
पृथ्वी राजमार्गसँगै जोडिएको आबुखैरेनी स्वास्थ्यचौकीमा २४सै घण्टा सुत्केरी गराउने सेवा सञ्चालन गरिएको छ ।
जुनसुकै समयमा आए पनि सेवा दिने भएको कारण आबुखैरेनी गाउँपालिकाबाहेक तनहँुको बन्दिपुर गाउँपालिका र गोरखा जिल्लाको गोरखा नगरपालिकाको केही वडाबाट समेत सुत्केरी गराउन ल्याउने उपाध्यायले बताउनुभयो ।
ठूलो बजार क्षेत्र ओगटेको सो स्वास्थ्यमा कोठा र उपकरणको अभाव भएको उपाध्यायले बताउनुभयो । सुरक्षित सुत्केरीको साथै अन्य बिरामीहरूको चाप बढेको कारण ठूलो भवनको आवश्यकता देखिएको उपाध्यायले बताउनुभयो । छ जनाको दरबन्दी रहेको सो स्वास्थ्यचौकीमा दुई जना कार्यालय सहयोगीसहित नौ जना कार्यरत छन् । १ जना कार्यालय सहयोगी र दुई जना स्वास्थ्यकर्मी गाउँपालिकाले व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत ऐश्वर्यचन्द्र भट्टराईले आबुखैरेनी स्वास्थ्य चौकीको सेवा निकै राम्रो भएको भन्दै यसको स्तरोन्नतिका लागि स्वास्थ्य कार्यालयले पहल गरेको बताउनुभयो ।
स्वास्थ्य चौकीका लागि आवश्यक उपकरण उपलब्ध गराउने बारेमा पनि स्वास्थ्य कार्यालय गम्भीर भएको भट्टराईले बताउनुभयो । सो स्वास्थ्य चौकीमा आकस्मिकसहित दैनिक ६० जना बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?