logo
२०८१ जेष्ठ १० बिहीवार



प्रधानमन्त्री कप क्रिकेटको उपाधि जित्न एपीएफलाई २१२ रनको लक्ष्य

खेलकुद |


प्रधानमन्त्री कप क्रिकेटको उपाधि जित्न एपीएफलाई २१२ रनको लक्ष्य
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १७ गते । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल(एपीएफ) समक्ष २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ । आर्मीका लागि हरि चौहानले अर्धशतकीय पारी खेलेपछि उसले एपीएफ समक्ष औसत लक्ष्य प्रस्तुत गर्न सफल भयो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको आर्मीले ४७ रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गर्यो । ओपनरद्वय अनिल मण्डलले ११ र सुशन भारीले १३ रन बनाएर पेभेलियन फर्किदा आर्मी दबाबमा आयो । भिम सार्की समेत सात रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किदा आर्मीले १७ ओभरमा ४७ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । हरि चौहानले संयमित पारी खेल्दै ५८ रनको योगदान दिएपछि आर्मीले ४६ ओभरमा १७३ रन जोड्न सफल भयो । मध्यक्रममा कप्तान विनोद भण्डारी सात रनको ब्यक्तिगत् योगफलमा कमल ऐरीको एलबीडब्ल्युको धरापमा पर्नुभयो । राजेश पुलामीले २८ रनको योगदान दिनुभयो । रोहित पौडेल पुनः प्रभाबकारी प्रदर्शन दिन असफल हुनुभयो । उहाँले १३ रन बनाउनुभयो ।
पूछारमा सहाब आलमले मात्र १४ बलमा दुई चौका र एक छक्काको सहयोगमा अविजित रहँदै २५ रनको विष्फोटक पारी खेलेपछि आर्मीले ५० ओभरमा नौ विकेटको क्षतिमा २११ रनको योगफल तयार गर्न सफल भयो ।
आर्मीलाई औसत योगफलसम्म रोक्न एपीएफका अविनाश बोहराले सर्वाधिक चार तथा किशोर महतोले दुई विकेट लिनुभयो । कमलसिंह ऐरी, भुवन कार्की र शरद भेषवकारले एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?