logo
२०८१ जेष्ठ ५ शनिवार



भारतबाट अर्धचेत अवस्थामा घर फर्किएका खगी विकको उपचारमा समस्या

समाज |


भारतबाट अर्धचेत अवस्थामा घर फर्किएका खगी विकको उपचारमा समस्या


डिलबहादुर सिंह

डोटी,साउन ७ गते । भारतको चेन्नेइमा सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने क्रममा दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका डोटीको सायल गाउँपालिका–५, सुनीबाटा गाउँका ३५ वर्षीया खगी विकको उपचारमा समस्या भएको छ । काम गर्ने क्रममा सिमेन्टका बोरा शरीरमाथि खसेपछि खगी विकको ढाँड भाचिएको छ । ढाँड भाचिँदा उहाँको शरीर कम्मरभन्दा तलको भाग काम नगर्ने भएको छ ।

खगी विक करिब आठ महिनाअघि मात्र काम गर्न भनी भारत जानुभएको हो । भारतमा कोरोना सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण हात मुख जोर्न समस्या भएपछि लकडाउनकै बीचमा काम गर्न जानुभएको थियो । सँगै रहेका आफन्तका अनुसार काममा गएको केही दिन नै खगी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको हो ।

हाल उहाँलाई सायल गाउँपालिका –५ मा रहेको कालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । दिसा पिसाब गर्नका लागि शरीरमा पाइप जोडिएको छ । दुर्घटनामा परेलगत्तै अस्पताल भर्ना गरिए पनि कोरोनाको कारण देखाउँदै अस्पतालले डिस्चार्ज गरेपछि केही दिन भारतको चेन्नेइमामा आफन्तको कोठामा राखेर उपचार गरिएको बताइएको छ ।

खगी विकको परिवारको आर्थिक अवस्था साह्रै कमजोर रहेको छ । पचास वर्षीया दाजु किन्थे विकसमेत दुई वर्षदेखि प्यारालाईसिस भएर ओछ्यानमै हुनुहुन्छ । घरमा एक खाना लाउनको लागि आर्थिक अभाव भएका कारण कामका लागि भारत गएका युवा उमेरका श्रीमान मर्नु न बाँच्नुको अवस्थामा फर्किएपछि खगी विककी श्रीमतीले समेत थप तनाव सामना गर्नुपरेको छ । खगी विकका तीन छोरी र एक छोरा छन् ।

ग्रामीण क्षेत्रमा वर्षाका कारण सडक बिग्रिएपछि भारतबाट फर्किने क्रममा स्थानीयले दुई घण्टासम्म स्ट्रेचरमा बोकेर क्वारेन्टाइनसम्म पुर्याइएको हो । पछिल्लो समयमा खगी विकको शारीरिक अवस्थाका विषयमा सामाजिक सञ्चालनबाट समेत सहयोगको पहल हुन थालेको छ ।

सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलका अनुसार खगी विकलाई थप उपचारका लागि लैजान चाहेमा गाउँपालिकाले एम्बुलेन्स निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्या गरेको छ । अध्यक्ष डुम्रेलले भन्नुभयो, ‘खगी विकको उपचारका लागि जुनसुकै ठाउँमा लैजाने चाहे पनि गाउँपालिकाले एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छौँ, तत्कालका लागि अवस्था हेरेर पाँच हजारदेखि २० हजार रुपियाँसम्म आर्थिक सहयोगसमेत उपलब्ध गराउन सकिन्छ । थप सहयोग आवश्यक परे पनि गाउँपालिका र व्यक्तिगत रुपमा समेत सहयोगका लागि हामी तयार छौँ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?