logo
२०८१ बैशाख १४ शुक्रवार



एघार सय किलोमिटर उडेर जम्मुकस्मिर पुग्यो नेपालको गिद्ध

बिज्ञान |


एघार सय किलोमिटर उडेर जम्मुकस्मिर पुग्यो नेपालको गिद्ध
तस्विर : बिसिएन


लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, वैशाख २३ गते । नेपालको रैथाने डंगर प्रजातिको गिद्ध नवलपरासीको कावासोती पिठौलीबाट उडेर भारत र पाकिस्तानको सीमा क्षेत्र जम्मुकस्मिर पुगेको छ ।
कावासोतीबाट सो गिद्धले ११ सय किलोमिटर दूरी पार गरेर सो क्षेत्रमा पुगेको हो । गिद्ध संरक्षणमा काम गर्दै आएको नेपाल पंक्षी संरक्षण संघ (बिसिएन) का अनुसार यो गिद्धमा स्याटेलाइट जडान गरिएकोले सो दुरी पार गरेको रेकर्ड जानकारीमा आएको हो । यो गिद्ध एक पटक जम्मु कस्मिबाट बिचरण गर्दै फर्केर नेपालको शुक्लाफाँटा क्षेत्रसम्म पुगेका भए पनि पुनः फर्केर हाल जम्मु कस्मिरमा बिचरण गरिरहेको देखिन्छ ।
नेपाल पंक्षी संरक्षण संघले त्यो गिद्धलाई यहाँको रैथाने गिद्ध भनेर स्याटेलाइट ट्याग गरेको गिद्ध संरक्षण कार्यक्रमका अधिकृत कृष्णप्रसाद भूसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, त्यो गिद्धसँगै स्याटलाइट ट्याग गरिएका अन्य गिद्ध मुश्किलले पश्चितर्फ बाँके राष्ट्रिय निकुञ्ज हुँदै दक्षिणमा लखनऊसम्म पुगेको र पूर्वमा धनुषाको आकाशसम्म उडान भरेको स्याटलाइट इमेजमा देखिन्छ । तर एउटा गिद्धले भने एक हजार एक सय किलोमिटर पार गरेको देखिएको छ ।
गिद्ध लोप हुने अवस्थामा पुगेका बेला पंक्षी संरक्षण संघकै प्रयासमा नेपालमा गिद्धमा स्याटलाइट ट्याग लगाउने काम भइरहेको छ । जसले गर्दा गिद्धको बिचरण, आनीबानी, आहारको अवस्था लगायतको विषयमा जानकारी लिन सहज भइरहेको छ ।
अधिकृत भूसालका अनुसार जम्मु कस्मिर पुगेको गिद्ध हिन्दकुश हिमालयको फेदैफेद बिचरण गर्दा गर्दै उता पुगेको देखिएको छ । उहाँले भन्नुभयो, यो थप अध्ययनको विषय बनेको छ । एकै लटमा स्याटलाईट ट्याग गरिएका गिद्ध यही वरपर बिचरण गर्नु र एक मात्र गिद्ध त्यति टाढा जानुले नयाँ कुरा हो । कि त बिचरण गर्दै गर्दा त्यता पुगेको हुन सक्छ कि त पाथीको खोजीमा पनि गएको हुन सक्छ ।
स्याटेलाईट ट्याग जडान गरिएका डंगर प्रजातिको गिद्धको अनुगमन गर्दा बढीमा १०० किलोमिटरको अर्धव्यासमा बिचरण गरेको भेटिएको छ । हालसम्मको नियमित अनुगमनमा मूलतः नेपालको करीव २० जिल्लाको २५ हजार बर्ग कि.मी. क्षेत्रसम्म ती गिद्धले विचरण गरेको रेकर्ड प्राप्त भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काईएका र त्यहा जन्मिएका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुर्नस्थापना गराउने लक्ष्य अनुसार बिसिएनको प्राविधिक सहयोगमा सन् २०१७ मा ६ र सन् २०१८ मा १२ र सन् २०१९ मा १३ डंगर गिद्धलाई स्याटेलाईट ट्याग जडान गरी प्राकृतिक बासस्थानमा छाडि नियमित अनुगमन भइरहेको छ ।
यस केन्द्रमा राख्नको लागि सन् २००८, २००९ र २०१० मा पश्चिम नेपालका जिल्लाहरु नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, कैलाली, कञ्चनपुर, अर्घाखाँची, पाल्पा, स्याङ्जा र कास्की बाट ६० वटा डंगर गिद्धका बच्चाहरु संकलन गरिएका कुरा अधिकृत भूसालले जानकारी दिनुभयो । यस केन्द्रमा राखिएका गिद्धले सन् २०१२ देखि अण्डा पार्न सुरुवात गरेका थिए भने हालसम्म १८ वटा बच्चा कोरलिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?