logo
२०८१ जेष्ठ ६ आईतवार



घोडाघोडी तालमा आइपुगे पाहुना चरा, चिरविर आवाज गुञ्जन थाल्यो

प्रदेश |


घोडाघोडी तालमा आइपुगे पाहुना चरा, चिरविर आवाज गुञ्जन थाल्यो
फोटो सौजन्य ः हिरु डङ्गौरा


अविनाश चौधरी
धनगढी, मङ्सिर १ गते । हरिहाँसका लागि प्रसिद्ध कैलालीको घोडाघोडी तालमा पाहुना चरा आइपुगेका छन् ।
उपयुक्त आहाराको खोजी र जाडो छल्नका लागि मङ्गोलिया, साइबेरिया, उत्तरी चीनबाट आगन्तुक जलपक्षी घोडाघोडी ताल क्षेत्रमा आइपुगेका हुन । हिउँदमा कैयौं माइल उडेर आगन्तुक चरा यहाँ आइपुग्ने गरेका छन् । पाहुना चराको चिरबिर, चिरबिर आवाजले अहिले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालको रौनक झनै बढेको छ ।
जलपक्षीका लागि राम्रो बासस्थान मानिने घोडाघोडी तालमा हिउँदमा देखिने आगन्तुक चराको चहलपहल बढेको चराविज्ञ हिरुलाल डङ्गौराले बताउनुभयो । ‘बसाइँ सरेर आउने आगन्तुक चराको चहलपहल बढेको छ’, उहाँले भन्नुभयो ।
घोडाघोडीमा जाडो याममा बसाइँ सरेर २९ प्रजातिका पाहुना चरा आउने गरेका छन् । यो वर्ष अहिलेसम्म कैलेटाउके हाँस, श्वेताँखीभौ, खडखडे हाँस, मरुल, ठूलो जलेवा, लघु राजपुत्रिका, चञ्चले, सुडसुडिया, रुख सुडसुडिया, टिमटिमा, वन सुडसुडिया, मसिनोठूँडे टिमटिमा आइपुगेका छन् । ‘जाडो याममा देखिने पाहुना चराहरु धेरै आइसके’, चराविज्ञ डङ्गौराले भन्नुभयो । ‘अझै आउनेक्रम जारी नै रहेको छ ।’
सुदूरपश्चिम प्रदेशकै गहनाको रुपमा रहेको घोडाघोडीमा ६४ प्रजातिको जलपक्षी पाइने गरेका छन् । जसमध्ये केहि रैथाने हुन भने जाडो सिजनमा बसाइँ सरेर आउने चराहरु विभिन्न देशबाट आएका हुन । बसाइँ सरेर आएकामध्ये कैलेटाउके हाँस विश्वमै लोपोन्मुख रहेको प्रजाति हो ।
‘यो बेला मङ्गोलिया, साइबेरिया र उत्तरी चीनमा अत्यधिक जाडो हुन्छ’, चरा विज्ञ डङ्गौरा भन्नुहुन्छ–‘त्यहाँ अत्यधिक जाडो सुरु भएपछि त्यहाँका चरा उपयुक्त बासस्थान र आहारा खोज्दै कैलालीको घोडाघोडी सिमसारसम्म आइपुग्ने गर्दछन् ।’
यहाँ आएका आगन्तुक जलपङ्क्षी फागुन मसान्त (मार्च पहिलो दोस्रो साता) सम्म रहने गरेको बताइएको छ । गर्मी बढ्न थालेपछि आगन्तुक चराहरु फेरि उतै फर्किने गरेका छन् ।
हिउँदे आगन्तुक चराको चहलपहल, पानीमा खेलेको दृश्यले घोडाघोडी ताल अवलोकन गर्नेहरुलाई मन्त्रमुग्ध बनाउने गर्दछ । घोडाघोडी सिमसार क्षेत्रमा ३४२ प्रजातिको चरा पाईन्छन् । यहाँ चराहरुको अवस्था सुधारोन्मुख रहेको डङ्गौराले बताउनुभयो । ‘नयाँ–नयाँ प्रजाति थपिदैं गएका छन्’, उहाँले भन्नुभयो ।
घोडाघोडी सिमसार जल र स्थल चराको लागि अत्यन्त उपयुक्त ठाउँ मानिदैं आए पनि प्राकृतिक बासस्थानको विनाशले चुनौती थपिएको जनाइएको छ । जलपक्षीका बासस्थानमा गडबडी आएको छ भने स्थल पक्षीको बासस्थान विनाश भइरहेको छ ।
सिमसार क्षेत्रमा मिचाहा प्रजाति बढेर चराको बासस्थान नै फरक भएको जनाइएको छ । मिचाहा प्रजातिका झारका कारण चराहरु खेल्नका लागि खुल्ला ठाउँ कम हुँदै गएको डङ्गौराले बताउनुभयो । यसैगरी, चोरी सिकार, जथाभावी माछा मार्ने, सिमसारमा मानवीय गतिविधि बढ्दै जाने लगायतका कारणले चरालाई चुनौती भएको जनाइएको छ । ‘बासस्थानमा गडबडीका कारण जलपक्षीको सङ्ख्यामा घटबढ भइरहने गर्दछ’, उहाँले भन्नुभयो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?