logo
२०८१ जेष्ठ १० बिहीवार



भरतपुरमा साइकल लेन बनाइँदै

प्रदेश |


भरतपुरमा साइकल लेन बनाइँदै



शालिग्राम नेपाल

चितवन, जेठ २२ गते । भरतपुर महानगरपालिकाको दुई वटा सडकमा साइकल लेन निर्माण कार्य सुरु भएको छ ।  चालु आर्थिक वर्षको जेठदेखि २०७८ वैशाख महिनाभित्र निर्माण सम्पन्न हुने गरी साढे दुई किलोमिटर लम्बाइकाे साइकल लेन निर्माण सुरु भएको हो । भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुरुप साइकल लेन निर्माण गर्ने काम सुरु गरिएको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले जानकारी दिनुभयो ।

ग्रावेललाई कालोपत्रे र कालोपत्रे भएको स्थानमा साइकल लेन निर्माण गर्दै लैजाने योजना अनुरुप पहिलो चरणमा दुई वटा सडकमा लेन निर्माण गर्न लागिएको दाहालले बताउनुभयो । उहाँका अनुसार महानगरपालिकाको वडा नं. ७ र ९ मा साइकल लेन निर्माण कार्य भइरहेको छ ।

महानगरपालिका सिनियर डिभिज्नल इन्जिनियर रत्न लामिछानेले भन्नुभयो ‘वडा नं. ९ मा दुई करोड २५ लाख इस्टिमेट भएको छ भने वडा नं. ७ मा तीन करोड ६४ लाख रुपियाँको ठेक्का सम्झौता भएर काम सुरु भएको छ ।’ काम पूरा हुदा नाै करोड भन्दा धेरै लाग्ने अनुमान गरिएको छ ।

साइकल लेन निर्माण हुने सडक वडा नं. ७ को प्रेमबस्ती चोकदेखि हेल्थपोष्ट चोकसम्म हुनेछ । त्यस्तै गरी वडा नं. ९ को हाकिमचोकको क्यान्सर अस्पताल जाने कल्भर्टदेखि धारेचोकसम्म साइकल लेन निर्माण हुनेछ । दुई वटा सडक गरी साढे दुई किलोमिटर लम्बाइ रहने महानगरपालिकाले जानकारी दिएको छ ।

 चौडाइ १६ मिटर रहेको ती सडकको दायाँबायाँ दुई/दुई मिटर चौडाइ भएको साइकल लेन निर्माण गरिनेछ । यो लेन कालोपत्रे र फुटपाथको बिच भागमा हुनेछ । लेनमा मोजाइक टायल बिछ्याइनेछन् । विद्युतका पोललाई भने फुटपाथको छेउमा गाडिने इन्जिनियर लामिछानेले जानकारी दिनुभयो । साइकल लेन निर्माणले वडाको सौन्दर्य, साइकल चलाउनेलाई सहज हुने वडा नं. ७ का अध्यक्ष राजेन्द्रमणी काफ्लेले बताउनुभयो । त्यस्तै वडा नं. ९ का अध्यक्ष यमलाल कँडेलले फुटपाथ र साइकल लेनसँगै काम सुरु हुने जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?