logo
२०८१ बैशाख २१ शुक्रवार



सबै स्थानीय तहमा कोरोना विपद् कोष

प्रदेश |


सबै स्थानीय तहमा कोरोना विपद् कोष


हेमन्त केसी

जाजरकोट, चैत २६ गते । कोरोना भाइरसबाट उत्पन्न विपद् सामना गर्न जिल्लाका सातवटै पालिकामा कोष स्थापना गरिएको छ । तीन नगरपालिका तथा चार गाउँपालिकाले छुट्टाछुट्टै कोष बनाएर रकम जम्मा गर्न थालेका हुन् । नलगाड नगरपालिकाले रु २१ लाख, छेडागाड नगरपालिकाले रु ३५ लाख र भेरी नगरपालिका रु ९० लाख बजेट कोषमा राखेका छन् । यसैगरी जुनिचाँदे गाउँपालिकाले रु १० लाख, बारेकोट गाउँपालिकाले रु २० लाख, शिवालय गाउँपालिकाले रु २० लाख र कुशे गाउँपालिकाले रु ३० लाखको कोष स्थापना गरेका छन् ।

पालिकाको आग्रहमा विभिन्न व्यक्ति, व्यवसायी तथा सरोकारवालालाई पनि कोषमा रकम जम्मा गर्न आग्रहसमेत गरिएको छ । जुनिचाँदे गाउँपालिकाले जनप्रतिनिधिको तलब, विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको छ । नलगाड नगरपालिकाले कर्मचारीको तहगत रुपमा कम्तीमा ५ दिन बराबरको तलब जम्मा गर्ने निर्णय गरेको छ । कुशे गाउँपालिकाका गरिब तथा विपन्न र दैनिक ज्यालादारी गरी छाक टार्ने १९० घरपरिवार रहेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनुभयो । कोरोनाको सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको ‘लक डाउन’का कारण आपत्मा परेका अति विपन्न तथा दैनिक ज्यालादारी गरी खानेलाई राहत दिन लागिएको हो । प्रति परिवार ५० केजी चामल र एक पोका नुन दिने गाउँपालिकाले निर्णय गरेको छ ।

उक्त कोषको रकमलाई महामारीका बेला समस्यामा परेका जनताको उपचार तथा सहयोग एवं उनीहरुको उपचारका लागि खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिन खर्च गरिने अध्यक्ष बस्नेतले बताउनुभयो । गाउँपालिकाको आफ्नो खर्चमा मास्क, साबुन तथा अन्य सुरक्षाका सामग्री जनताको घरघरमा पुगेर वितरण गर्ने काम भइरहेको अध्यक्ष बस्नेतले बताउनुभयो । कोरोनाको सम्भावित सङ्क्रमण र अन्य महामारीलाई मध्यनजर गरी १० वटा बिरामी राख्ने सर्जिकल बेड र पूर्वसभासद् राजीवविक्रम शाहले दिएका पाँच वटा गरी १५ बेड व्यवस्थापन गरिएको बताउनुभयो ।

गाउँपालिकाका नायबसुब्बा उदयका अनुसार हालसम्म गाउँपालिकामा ६ हजार ५५० वटा सर्जिकल मास्क, ३०६ थान सेनिटाइजर, ३५ वटा डिटोल साबुन, ७ हजार ३८० लाइफबोइ साबुन, चार वटा फिल्टर, एक हजार ७४५ वटा सर्जिकल ग्लोब, २० हजार जनचेतनामूलक पोस्टर पम्पलेट, ९० वटा फ्लेक्स बोर्ड, १५ जोर गमबुट, १६ वटा प्लास्टिक बाल्टीन वितरण गरिएको छ ।

त्यस्तै बारेकोट गाउँपालिकाले कार्यपालिकाको बैठकले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण विपद् व्यवस्थापन कोष–२०७६ मा पालिका तथा वडा कार्यालयमा कार्यरत स्थायी तथा करार सबै कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत स्थायी तथा करार सबै स्वास्थ्यकर्मी, पालिकाभित्रका सबै विद्यालयमा कार्यरत स्थायी, करार र राहत सबै शिक्षकबाट श्रेणीअनुसार उपसचिव सरहबाट सात दिन, शाखा अधिकृतस्तरबाट पाँच दिन र राजपत्र अनङ्कृत तहका कर्मचारीबाट तीन दिन बराबरको तलब काटेर उक्त कोषमा रकम जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभयो ।

भाइरस सङ्क्रमण भएको बिरामी पहिचान भएमा बिरामीको उद्धार तथा औषधि खर्च, सङ्क्रमण नियन्त्रणको काममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कार्यालय सहयोगीसमेत गरी पालिकाबाट पाँच जना र वडाबाट एक जनालाई दैनिक ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएकोे छ । सङ्क्रमण नियन्त्रण तथा रोकथाम कार्यमा खटिएका अध्यक्ष र वडा सदस्यलाई पनि दैनिक रु ५०० भत्ता उपलब्ध गराइने भएको छ । जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, प्रचारप्रसार तथा माइकिङलगायतका कामको लागि बैठकले प्रति वडालाई रु ५० हजारका दरले चालु खर्चमा समावेश गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।

चालु खर्चमा समावेश गरिएको बजेटलाई वडा समितिले लकडाउनको समयमा जिल्ला बाहिर रहेका नागरिकको उद्धार गर्नुपरेमा, ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका नागरिकलाई लकडाउनको समयमा भोकै बस्नुपर्ने स्थिति सृजना भएमा दाल, चामल, नून, तेलको व्यवस्था गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

भेरी नगरपालिकाले नगरभित्रका ५६ टोलमा टोलस्तरीय छरितो प्रतिकार कार्यदल गठन गरेको छ । भारतलगायतका देशबाट मानिस जिल्लामा भित्रिरहेको र उनीहरुबाट कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सचेतनाका लागि टोलटोलमा प्रतिकार कार्यदल गठन गरिएको हो । छपन्न वटा कोरोना प्रतिकार कार्यदलमा २८० जनालाई समेटिएको छ । १३ वटा वडामा गरी ३९ जना जनशक्ति परिचालित भएका छन् । नगरपालिकाले सबै गरी एकै पटक ३२७ जना व्यक्ति परिचालित गरिएको छ । भेरीमा भारत र अन्य मुलुकबाट हालै आएका ६० जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?