logo
२०८१ बैशाख १५ शनिवार



बेसार, भ्रम र वास्तविकता

विचार/दृष्टिकोण |




डा. मान रोकाया/ डा. विदुर पराजुली

मानव जातिको उत्पत्तिदेखि आधुनिक युगसम्म आइपुग्दा पृथ्वीमा अनेकौँ रोगव्याधिहरू देखापरे । प्राचीनकालमा ती रोगव्याधिहरू निर्मूल गर्न मानिसले माटो र बेटबिरुवाहरूको प्रयोग गरे । ‘वल्र्ड एन्थ्रोपोलोजी’का अनुसार सर्वप्रथम आदिम मानिस ‘निएन्डरथल’हरूले उपचार पद्धति अँगालेको पाइन्छ । मानव विकासक्रमसँगै विभिन्न उपचार पद्धतिहरूको उपयोग भएको पाइए पनि सबैभन्दा धेरै आयुर्वेद, युनानी, तिब्बती, चिनियाँ, मिश्रीय र होमियोप्याथिक पद्धतिहरू प्रचलनमा छन् । यी पद्धतिहरूमा जडीबुटीहरूको व्यापक प्रयोग हुन्छ किनकि ती जडीबुटीजन्य औषधिहरूको प्रतिकूल असर न्यून हुन्छ ।
अनेकौँ रोगहरूमा प्रयोग हुने बोटबिरुवाहरूमध्ये बेसार पनि एक हो । कोरोनालाई बेसारले निको पार्छ भनेपछि यसको लोकप्रियता ह्वात्तै बढेको छ । अझ नेपाली समाजमा हिजोआज बेसारको चर्चा छ । तसर्थ, बेसार सम्बन्धित परम्परागत उपयोगिता र हालसम्म भएका वैज्ञानिक अनुसन्धानहरूबारे जनमानसमा सूचना पु¥याउन जरुरी देखिन्छ ।
बेसार एककिसिमको वनस्पतिको जराबाट धूलो पारेर बनाइने पहेँलो रङ्गको पदार्थ हो । ‘क्यु चेक लिस्ट’का अनुसार संसारभरि करिब एक सय प्रजातिका बेसारहरू पाइन्छन् । हामीले प्रयोग गर्ने बेसारको वैज्ञानिक नाम ‘कुरकुमा लङ्गा’ वा ‘कुरकुमा डोमेस्टिका’ हो । वनस्पति विज्ञानले यो बिरुवालाई ‘जिन्जीविरसी’ परिवारमा वर्गीकरण गरेको छ । यी सबै बेसार प्रजातिका बोटहरू मुख्यतः २० देखि ३० डिग्री तापक्रम हुने उष्ण र उपउष्ण प्रदेशीय क्षेत्रहरूमा ऊम्रन्छन् । इसापूर्व चार हजार वर्ष पहिलेदेखि मसलाजन्य सामग्रीहरूका रूपमा प्रयोग हँुदै आएको बेसार विभिन्न औषधि, सौन्दर्य प्रशाधन र पहेँलो रङ्गका रूपमा प्रयोग हुन्छ । औषधिका रूपमा बेसार घाउमा, सुन्निएको ठाउँमा, रुघाखोकी र टन्सिल देखिएको अवस्थामा प्रयोग हुन्छ ।
भारतमा उत्पत्ति भएको बेसार सन् ७०० मा चीनको तटमा पुग्यो । त्यसको एक सय वर्षपछि पूर्वी अफ्रिका र त्यसको करिब पाँच सय वर्षपछि पश्चिमी अफ्रिका पुग्यो । निक्कै पछि आएर तेह्रौँ शताब्दीतिर मात्र अरब व्यापारीहरूले यसलाई युरोपियन महादेशमा पु¥याए । यसरी संसारभरि फैलिएको बेसारको सन् २०१८ मा जम्माजम्मी ३०३ मिलियन (३० करोड तीन लाख) अमेरिकी डलरबराबरको व्यापार भएको थियो । भारत बेसारको सबैभन्दा ठूलो उत्पादक, उपभोक्ता र निर्यातकर्ता हो । अन्य उत्पादक देशहरू थाइल्यान्ड, चीन, ताइवान, दक्षिण अमेरिका, इरान, म्यानमार, नाइजेरिया, बङ्गलादेश र प्रशान्त महासागरका टापुहरू हुन् । मुख्य आयातकर्ताहरू इरान, जापान, अमेरिका, बेलायत, श्रीलङ्का, उत्तर अफ्रिकी देशहरू, पूर्वी अफ्रिकामा इथियोपिया र मध्यपूर्वी देशहरू हुन् । बेसारलाई नेपालीमा हलेदो पनि भनिन्छ भने अङ्ग्रेजीमा टर्मेरिक, अरबीमा कुरकुम्, अरमेनियनमा तुर्मेरिङ, उर्दू र हिन्दीमा हल्दी, चाइनिजमा यु चिन्, युरोपमा कुरकुमा, फारसीमा जारड्चुवे, ग्रीकमा कृतिनओरिज र रसियनमा कोरिन भनिन्छ ।
हामीले प्रयोग गर्ने बेसार (कुरकुमा लङ्गा)मा सयभन्दा बढी प्रकारका रसायनहरू पाइन्छन् । यसमा करिब ६० देखि ७० प्रतिशत कार्बोहाइड्रेट, ६ देखि १३ प्रतिशत पानी, ६ देखि ८ प्रतिशत प्रोटिन, ५ देखि १० प्रतिशत बोसो, ३ देखि ७ प्रतिशत खानयोग्य खनिज, ३ देखि ७ प्रतिशत तैलीय तŒव २ देखि ७ प्रतिशत खानयोग्य फाइबर र १ देखि ६ प्रतिशत ‘कुरकुमिनोइड र सेस्कुइटरपिनोइड’ नामक रसायनहरू हुन्छन् । कुरकुमिनोइड समूहमा पर्ने रसायनहरू ‘कुरकुमिन, डेमेथोसाइकुरकुमिन, बिस्डेमेथोक्साकुरकुमिन’मा सबैभन्दा धेरै औषधीय गुणहरू भेटिन्छन् ।
वैज्ञानिक प्रयोगशालामा बेसार
कच्चा बेसार र बेसारबाट प्राप्त हुने कुरकुमिनोइड र अन्य रसायनहरूलाई विश्वभरि कयौँ प्रयोगशालाहरूमा विभिन्न रोगहरूका विरुद्ध परीक्षण गरिएको पाइन्छ । प्रयोगशालामा जीवकोष, मुसा र मानिसको रगतमा समेत परीक्षण गरिएका छन् । यी परीक्षणका नतिजाहरू प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका छन् । बेसारमा विशेषगरी सुन्निने, कलेजोसम्बन्धी रोगहरू, ब्याक्टेरिया, भाइरस, ढुसी, क्यान्सर र जिन उत्परिवर्तनविरुद्ध लड्ने क्षमता रहेको देखाइएको छ । यसका अतिरिक्त बेसार पिसाब सङ्क्रमण, आँखाको रोग, बाथ रोग, पेटसम्बन्धी रोग, रगत जम्न रोक्ने, मधुमेह, जन्डिस, मस्तिष्कका नशालाई चोट लाग्नबाट बचाउन, पराबैजनी विकीरणबाट बचाउन र मुटुका समस्याहरू कम गर्नमा अत्यन्त उपयोगी भएको वैज्ञानिक नतिजाहरूले देखाएका छन् ।
रोगहरूसँग लड्ने सबै गुणहरूमध्ये सुजन कम गर्ने गुण महŒवपूर्ण मानिन्छ किनकि यसले शरीरमा हुने प्रायः सबै प्रकारका सङ्क्रमणहरू कम गर्न मद्दत पु¥याउँछ । यो गुणले गर्दा शरीरका तन्तुहरू सुन्निने कम गर्ने, दुखाइ कम गर्ने, जिउको तापक्रम घटाउने र पोलाई कम गर्दछ । यसले सुजन गराउने रगतमा पाइने विभिन्न तŒवहरूलाई कम गरेको प्रमाण ‘इन्टरनेसनल जर्नल अफ बायोलोजिकल म्याक्रोमोलेक्युल’ २०१० मा जीएल ग्रेसको टीमले देखाएका छन् ।

भाइरस र बेसार
भाइरसहरू सूक्ष्म प्रकारका जीवहरू हुन् । यी सूक्ष्म जीवहरू नाङ्गो आँखाले नदेखिने र पूर्णतया अन्य प्राणीहरूको जीवित कोषहरूमा मात्र बाँच्ने तथा प्रजनन गर्दछन् । हालसम्म विश्वमा कुनै पनि भाइरसजन्य रोगहरूको निश्चित उपचार पत्ता लागेको छैन । भाइरसलाई जीवित कोषभित्र विभिन्न रासायनिक औषधिहरूको प्रयोग गरेर मार्न खोज्दा हाम्रो शरीरका कोषहरू पनि मर्ने हुँदा भाइरसहरू मार्न कठिन मानिदै आएको छ । तर, विज्ञानको विकासले गर्दा केही भाइरसहरूलाई कोषभित्र मार्न नसके पनि औषधिहरूको प्रयोग गरेर तिनीहरूको प्रजननलाई रोक्न र अरूहरूमा सर्न नसक्नेगरी निष्क्रिय बनाउन सकिन्छ । यस्ता उपचार विधिहरू संसारमा व्याप्त छन् । वर्तमान समयमा कोरोना महामारी सार्स कोरोना भाइरस–२ नामक भाइरसद्वारा उत्पन्न भएको हो । यसले मानिसको शरीरमा विशेषगरी श्वासप्रश्वास सङ्क्रमण, फोक्सो, कलेजो, मुटु, पित्तथैली, मिर्गौला र मस्तिष्कका नियमित प्रक्रियाहरूमा असर गर्दछ । त्यसैले बेसारको यी रोगहरूसँगको सम्बन्धलाई र अन्य भाइरसजन्य रोगहरूसँगको सम्बन्ध एकपटक नियालेर हेर्न आवश्यक छ ।
सन् २००९ मा किम र उनको टीमले गरेको एक अनुसन्धानअनुसार बेसारको पानी मिश्रित रस कलेजोलाई असर गर्ने ‘हेपाटाइटिस बी’ नामक भाइरसविरुद्ध परीक्षण गरिएको थियो । जीवकोषहरूमा गरिएको अनुसन्धानको नतिजाअनुसार बेसारले कलेजोका जीवकोषहरूमा कुनै हानि नगर्ने र एक विशेषखाले पी ५३ नामक प्रोटिनको मात्रा बढाएर ‘हेपाटाइटिस बी’ नामक भाइरसको प्रजनन शक्ति न्यून गर्नमा मद्दत गर्ने गरेको पाइयो । सन् २०१७ मा एम इच्छिएनीको टीमद्वारा डेङ्गु भाइरसविरूद्ध गरिएको बेसारको रक्सीयुक्त मिश्रणले मुसाको कलेजो र मिर्गौलाका जीवकोषहरूमा कुनै प्रतिकूल असर नदेखाएको र उक्त मिश्रणको थोरै मात्राले पनि डेङ्गु भाइरस उल्लेख्य रूपमा घटेको देखाएको थियो । यसैगरी डी. म्याथ्यु र उई ली हसुले सन् २०१८ मा बेसारमा पाइने कुरकुमिन नामक रसायन विभिन्न भाइरसहरूविरुद्ध लड्न अत्यन्त उपयोगी छ भन्ने देखाएका छन् । विशेषतः मानिसको प्रतिरोधात्मक क्षमता क्षीण गराउने एचआईभी र मानव साइटोमेगालो नामक भाइरसहरू, हेपाटाइटिस सी भाइरस, ज्वरो निकाल्ने र जोर्नी दुखाउने चिकनगुनिया भाइरस, इबोला भाइरस, मस्तिष्क रोगदेखि पक्षाघात गराउन सक्ने इन्ट्रो भाइरस ७१, हल्का रुघाखोकीजस्तो लक्षण देखिने साधारण रोगदेखि गम्भीर रक्तस्राव गर्नेगरी उच्च ज्वरो निकाल्ने रिफ्ट भ्याली भाइरस, श्वास नलीका सङ्क्रमण गर्ने सिनसाइटिएल भाइरस र इनफ्लुएन्जा भाइरसहरूका साथै पखाला, बान्ता, पेट र टाउको दुखाउने नोरो भाइरसविरुद्ध कुरकुमिन प्रभावकारी देखिएको छ । माथि उल्लिखित अनुसन्धानहरू मानिसमा नभएर प्रयोगशालामा जीवकोषहरू वा मुसाहरूमा मात्र परीक्षण गरिएका हुन् ।
परम्परागत प्रयोगहरू र वैज्ञानिक अनुसन्धानहरू केलाउँदा बेसार बहुउपयोगी छ भन्ने स्पष्ट छ । भनिन्छ– यो पृथ्वीमा राति आकाशमा देखिने ताराहरूभन्दा भाइरसहरू धेरै छन् । ती केही भाइरसहरू मानव जातिका लागि अनुपयोगी, केही उपयोगी छन् भने केही अत्यन्त हानिकारक छन् । विभिन्न भाइरसहरूको बाँच्ने निश्चित माध्यम हुन्छन् र ती भाइरसहरूले मानिसमा आफ्नै किसिमका रोगहरू उत्पन्न गराउँछन् । त्यसैले बेसार कुनै एक किसिमको भाइरसविरुद्ध उपयोगी छ भन्दैमा अर्को किसिमको भाइरसविरुद्ध पनि उपयोगी छ भनेर अहिल्यै भन्नु अलि छिटो हुनेछ । जबसम्म हामीले सार्स कोरोना भाइरस–२ नामक भाइरसलाई प्रयोग गरेर बेसारको यथेष्ठ अध्ययन अनुसन्धान गर्दैनौँ तबसम्म बेसार कोरोना महामारी रोगविरुद्धको अचुक औषधि हो भन्न सकिन्न । यद्यपि, निश्चित औषधि वा खोपको आविष्कार नहुँदासम्म बेसारको प्रयोगले मानिसको प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र केही रोगहरूको प्रतिकूल असर कम गर्न मद्दत गर्दछ । आगामी दिनमा बेसारसम्बन्धी व्यापक अध्ययन अनुसन्धान हुनुपर्दछ  ।

(लेखकद्वय वनस्पति अध्ययन अनुसन्धानसँग
सम्बन्धित हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?