logo
२०८१ बैशाख १४ शुक्रवार



चीनबाट सिकौँ, आत्मनिर्भर बनौँ

विचार/दृष्टिकोण |





रामप्रसाद आचार्य

विश्व व्यवस्था सहज भएको अवस्थामा मात्र निजीकरण र भूमण्डलीकरणले काम गर्दोरहेछ । सङ्कटको बेलामा त राज्य नै बलियो हुनुपर्ने रहेछ । निजीकरण र भूमण्डलीकरणले करोडौँ सङ्कटग्रस्त मानिसलाई बचाउन सक्दोरहेनछ । कृषिमा आत्मनिर्भर नभए कुनै पनि बेला भोकभोकै बस्नुपर्ने अवस्था आउनसक्छ । राज्यलाई बलियो बनाई कृषिमा आत्मनिर्भर भए जुनसुकै सङ्कट आए पनि भोकै मर्नुपर्ने अवस्था आउँदैन । राज्यका लागि कृषिमा आत्मनिर्भरभन्दा ठूलो अरु केही रहेनछ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमण अहिले विश्वव्यापी बनेको छ । चीन सरकारले सुरुमै कडाइका साथ वुहानलाई लकडाउन गरी चीनको अन्य भूभागमा कोरोना फैलिन दिएन । यो कदमले लाखौँ मानिसको ज्यान जोगियो तर पश्चिमा मुलुकले सुरुमा बेवास्ता गरे । इटाली, स्पेन, अमेरिकालगायतका मुलुक कोरोनाबाट नराम्ररी प्रभावित भएका छन् । चीनले जस्तै कडा कदम नचाल्दा अहिले पछुताउने अवस्था आएको छ । कोरोना भाइरस विश्वका धनी गरिब सबै मुलुकमा फैलिएको छ । यतिखेर एकले अर्कालाई सहयोग गर्नेभन्दा पनि आफ्ना नागरिकलाई कसरी बचाउने भन्ने चिन्ता सबै मुलुकलाई छ । यस्तो अवस्थामा जुन राज्यप्रणाली बलियो र अनुशासित छ त्यही मुलुकमात्र सङ्कटमोचनका लागि सक्षम हुने देखिएको छ । स्वतन्त्रताका नाममा छाडावाद मौलाएका मुलुक वास्तवमै सङ्कटमा पर्दैछन् । सङ्कटका बेलामा राज्यको पहिलो कर्तव्य नै आफ्ना नागरिकलाई गाँस, बास र कपास सुनिश्चित गर्नु हो । यसका लागि राज्य नै बलियो हुनुपर्छ । कृषि, स्वास्थ्य र शिक्षा राष्ट्रियकरण गरिएमात्र सङ्कटका बेलामा सबै कुराको व्यवस्थापन गर्न राज्य सक्षम हुन्छ नत्र राज्य कमजोर हुन्छ । कमजोर राज्यले सङ्कटमोचन गर्न सक्दैन । राज्य बलियो भएकै कारण चीन कम क्षतिमा कोरोनामुक्त हुँदैछ ।
विश्वको सबैभन्दा बढी जनसङ्ख्या चीनमा छ । चीनले नाटकीय ढङ्गले आर्थिक विकास गरी निकट भविष्यमै विकसित मुलुकमात्र होइन, पहिलो ठूलो अर्थतन्त्र भएको मुलुक बन्दैछ । पछिल्लो छोटो अवधिमा अत्यन्तै लगनशील, अनुशासित, मर्यादित एवं कुशल व्यवस्थापनका साथ गरिएको चिनियाँ विकास नमुनाले सारा विश्वलाई नै आश्चर्यचकित बनाइदिएको छ । चीनले योजनाबद्ध ढङ्गले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेको सन्तुलित विकासको परिणामले नै चीनलाई सम्पन्नता र शालीनताको शिखरतर्फ अघि बढाएको हो । विश्वकै सुन्दर, प्रदूषणमुक्त नमुना सहर र नमुना गाउँ बनाउन अहिले चिनियाँ नेतृत्वले जुन नीति र कार्यक्रमसहित नयाँ चरणको निर्माण अभियान थालेको छ यसले पूर्णता पाउनासाथ चीन विश्वकै सुन्दर सहर र गाउँको देश बन्नेछ । पूर्वी चीनको भूभागलाई जस्तै विकसित गर्ने योजनासहितका कार्यक्रम पश्चिमी चीनको भूभागमा पनि लगिँदैछ भने धनी र गरिबबीचको दूरी घटाउने सुधारात्मक कार्यक्रम पनि सँगसँगै सञ्चालन गरिएका छन् ।
पछिल्लो छोटो अवधिमा सारा विश्वलाई नै चकित पार्ने गरी निर्माण गरिएका अत्याधुनिक सुविधासम्पन्न सहर, विज्ञान र प्रविधिको अत्याधुनिक प्रयोग, ठूलाठूला भौतिक संरचना निर्माण, विश्व बजारको आवश्यकता पूर्ति गर्ने उत्पादन चीनमा कसरी सम्भव भएको छ ? यो सबैका लागि चासो र खुल्दुलीको विषय बनेको छ । बाहिरबाट हेर्दा पश्चिमा सञ्चारमाध्यममा आउने चीनसम्बन्धी समाचार, विशेषगरी मानवअधिकार र स्वतन्त्रताका कुराले चीनप्रति बनाइने दृष्टिकोण एक किसिमको हुन्छ । चीनभित्र पुगेर त्यहाँको वास्तविकता हेरेपछि भने चीनप्रति बनाइने दृष्टिकोण आकाश र जमिनको फरक हुने गर्छ ।
राजनीतिको चश्माले नहेर्ने हो चीनले लिँदै आएको शान्तिको बाटो नै विश्वशान्ति, एकता र मेलमिलाप साथै सुरक्षित विश्वको सुनिश्चित भविष्यका लागि अनुकरणीय बाटो हो । चीनको विकास नमुना अनुकरणीय छ । उनीहरूले बनाएका स्वीकृत नक्साङ्कनभन्दा रौँचिरा फरक नपारी प्रत्येक विकास निर्माणका कार्य भएका छन् । आवश्यकता र आकारका हिसाबले ग्रामीण सडक र सहरी सडक साना ठूला भए पनि गुणस्तरका हिसाबले कुनै फरक छैनन्, सबै अन्तर्राष्ट्रिय मापदण्डका आधारमा बनाइएका छन् । नयाँ सडक निर्माणसँगै ढल, नहर वा कुलो, हरियाली र सडकबत्तीको व्यवस्थापन गरिने र सम्बन्ध सबै निकायबीच समन्वय भएका कारण पटकपटक सडक भत्काउनुपर्ने अवस्था आउँदैन । माकुराको जालोजस्तै लाग्ने सडक सञ्जालमा मात्रै लाखौँ मानिसले रोजगारी पाएका छन् ।
कुनै पनि मुलुकको विकास, निर्माण र शान्तिका लागि कुशल एवं सक्षम राजनीतिक नेतृत्व पहिलो आवश्यकता रहेछ । कुशल, सक्षम र राष्ट्रवादी नेतृत्वसहितको राजनीतिक स्थायित्व र सक्षम आर्थिक प्रणालीले मात्र लक्ष्य प्राप्त गर्न सकिन्छ । विश्वको समग्र अनुभव र आफ्नै इतिहासबाट पाठ सिकेर विकास र शान्तिको पथमा अगाडि बढेको वर्तमान चिनियाँ नेतृत्वले आफ्नोमात्र सुख, शान्ति र समृद्धि खोजेको छैन छिमेकमा, क्षेत्रीय तहमा तथा सारा विश्वमा मैत्रीपूर्ण, सहअस्तित्व, मेलमिलाप र सामाजिक एकतासहितको शान्ति र समृद्धि चाहेको छ । चीनले अहिले लिएको शान्त कूटनीतिको बाटो त्यसको एउटा महत्वपूर्ण उदाहरण हो । युद्ध, हत्या, हिंसा, आतङ्क, अराजकता, विखण्डन, विद्वेष, विद्रोहको पक्षमा नरहेको चीनले समग्र शान्ति र विकासका लागि मेलमिलाप र सहकार्यप्रतिको आफ्नो प्रतिबद्धता सबैखाले मञ्चमा अभिव्यक्त गर्दै आएको छ । आफूमात्र होइन छिमेकी मित्र राष्ट्रहरू र सारा विश्वमा मेलमिलाप र एकता चाहेको चीनले सबैखाले समस्याको शान्तिपूर्ण समाधान युद्ध नभई वार्ता र छलफल नै हुने कुरालाई पुनः स्पष्ट गरेको छ । चीन विध्वंस होइन निर्माण र सिर्जना चाहन्छ, युद्ध होइन शान्ति र मेलमिलाप चाहन्छ, छाडातन्त्र, छाडावाद होइन वास्तविक लोकतन्त्र र मर्यादित सामाजिक जीवन चाहन्छ । विश्वका सबैखाले राम्रा कुरा सिक्ने र नराम्राखाले सबै विकृति र विसङ्गति हटाउँदै आफ्नो मौलिक परम्परा र संस्कृति जीवन्त राख्ने चीन सरकारको नीतिले उसलाई इतिहासदेखि वर्तमानसम्म जोडेको मात्र छैन, सुनिश्चित भविष्यको मार्गसमेत स्पष्ट गरेको छ ।
भोको पेटले राजनीतिक स्वतन्त्रता र दिगो शान्ति दिन सक्दैन भन्ने चीनको मान्यता छ । मुलुकको विधि विधानविपरीत जनताका नाममा जनतालाई दास बनाउने, जनतालाई शोषण र दमन गर्ने, साम्प्रदायिक सद्भाव खल्बल्याउनेजस्ता उग्रवादी, अराजक चिन्तनले राजनीतिक निकास दिन सक्दैन र त्यस्तो राजनीतिले मुलुकलाई बर्वाद बनाउँछ भन्ने कुरामा उनीहरू दृढ छन् । शान्ति, मर्यादा, अनुशासन, निरन्तर सिर्जनमा तल्लीन चीन अरुलाई सम्मान दिएर आफू सम्मानित हुन चाहन्छ । राष्ट्र र जनताका लागि आफूलाई समर्पण गर्नुभएका राष्ट्रपति सी चिनफिङ लगायतका नेताहरूप्रति जनताको अत्यन्तै ठूलो श्रद्धा र अगाध विश्वास छ । आफ्नो मौलिक संस्कृति र परम्पराप्रति उनीहरू अत्यन्तै सचेत छन् ।
चीनले सारा विश्वको अध्ययन र अनुभवका आधारमा मौलिक स्वरुपको अर्थतन्त्र निर्माण गरेका कारण अरुले चाहेर चिनियाँ अर्थतन्त्र कमजोर हुँदैन । दिन दुईगुणा र रात चौगुणाका दरले आर्थिक उन्नति गर्नुको कारण नै त्यही मौलिकताले गर्दा नै हो । आफ्नै बलियो जगमा चिनियाँ अर्थतन्त्र उभिएकाले सन् २००८ को विश्व आर्थिक मन्दीले पनि चीनको अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सकेन । अहिले कोरोनाले ल्याएको आर्थिक सङ्कटबाट पनि चीन छिटो मुक्त हुनेछ । अहिले नै उसले कोरोना नियन्त्रण र रोकथाममा अरुलाई सहयोग गर्न सहयोगी हात बढाइरहेको छ । आफ्नो अर्थतन्त्र जोगिएपछि अरुको जेसुकै होस् भनी बेवास्ता नगर्ने, आफ्नोसँगै अरुको पनि भलो चिताउने चीनको सहयोगी भावनाले नै हरेक क्षेत्रमा सफलता मिलेको हो । विश्वका समस्या समाधानका लागि चीनको उपस्थिति र सहभागिता अनिवार्य भएको अहिलेको अवस्थामा चीनले लिएको शान्तिपूर्ण सहअतिस्तव, सबैको सम्मान र मर्यादा गर्ने र आफ्नै पौरखमा रमाउने नीतिलाई सबैले अनुसरण गर्नु आजको प्रमुख आवश्यकता हो ।
(लेखक गोरखापत्रका नायब कार्यकारी सम्पादक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?