logo
२०८१ बैशाख १९ बुधवार



कोरोना भाइरसको अर्थराजनीति

विचार/दृष्टिकोण |





खिमलाल देवकोटा

यतिबेला विश्व नोभल कोराना (कोभिड १९) भाइरसको आतङ्कबाट प्रताडित छ । विगतमा देखिएका इबोला भाइरसको मृत्युदर ५० प्रतिशत, मर्सको ३५ प्रतिशत, सार्सको १० प्रतिशत थियो भने कोरोनाको एकदेखि ३.४ प्रतिशतसम्म छ । जब कि सामान्य मौसमी फ्लुको पनि मृत्युदर ०.०५ प्रतिशत छ । कोरोना भाइरसबाट प्रभावितमध्ये ९५ प्रतिशतको अवस्था सामान्य र पाँच ५ प्रतिशतको गम्भीर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । तथ्याङ्क हेर्दा कुल सङ्क्रमितमध्ये ८८ प्रतिशत निको भएका र १२ प्रतिशतको मृत्यु भएको देखिन्छ । आरम्भमा चीनको वुहानलाई केन्द्र बनाएको यो भाइरसको केन्द्र युरोपमा पुगेको छ । उच्च ज्वरो, सुख्खा खोकी र सास फेर्न गाह्रो हुने यो रोगका मुख्य लक्षण हुन् । विश्व स्वास्थ्य सङ्गठनले चीनमा करिब ५५ हजार सङ्क्रमितमा गरेको परीक्षणका आधारमा यसको प्रभाव दुईदेखि आठ हप्ता रहने जनाएको छ । ४० वर्षमुनि ०.२ प्रतिशत र ८० वर्षमाथि १४ प्रतिशत मृत्युदर रहेको उक्त अध्ययनले देखाएको छ । महिलाभन्दा पुरुषमा झन्डै दोब्बर मृत्युदर रहेको पनि उक्त अध्ययनले देखाएको छ ।
कोरोना अर्थतन्त्र : 
चीनमा कोरोना भाइरस देखापर्ना साथै यसले आर्थिक क्षेत्रमा नकारात्मक असर पार्ने अनुमान गरिएका थिए । आरम्भमा यसले सामानको उत्पादन र आपूर्तिमा असर पार्ने देखिएको छ । औषधि र इलेक्ट्रोनिक सामानको आपूर्तिमा भारी गिरावट आउने र अत्यावश्यक खाद्य सामग्रीको अभाव रहने कारणले विश्व अर्थतन्त्रमा नै नराम्रो असर देखाउने अनुमान गरिएको छ । यसका कारण आर्थिक वृद्धिमा भारी गिरावट आउने हँुदा विगतको सार्सले पारेको असरलाई उछिन्ने गरी यसले प्रभाव पार्ने पूर्वानुमान आर्थिक विश्लेषकहरूले गरेका छन् । पेट्रोलियम पदार्थको मुख्य आयातकर्ता चीनमा देखापरेको यो समस्याका कारण पेट्रोलको खपत र मागमा कमी हुनेछ । फलतः यसको मूल्यमा भारी गिरावट आउनेछ । जसकारण विश्व अर्थतन्त्रमा नराम्रो असर छाड्ने अनुमान गरिएको छ । स्टक मार्केटमा भारी गिरावट आउनेछ । अन्तर्राष्ट्रिय सभा सम्मेलन, टेक्नोलोजी, फेसन र खेलकुद प्रतियोगिताहरू रद्द हुनेसमेतका कारणले २००८ को आर्थिक मन्दीलाई पनि उछिनेर आर्थिक सङ्कट आइपर्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन सङ्गठनका अनुसार विश्वभर एयरलाइन्स कम्पनीहरूले झन्डै ३० अर्ब डलरको घाटा बेहोर्ने छन्, जो विगत तीस वर्षयताकै आर्थिक मन्दी ल्याउने प्रमुख कारण बन्नेछ । कोरोना भाइरसले विश्वभर यसको पहिलो असर ठूला अर्थतन्त्र चीन र अमेरिकालाई नै पर्नेछ । मुख्यतः तेल र स्टक मार्केट ध्वस्त हुनेछन् । औद्योगिक पुँजीबाट वित्तीय पुँजीमा प्रवेश गरेको आजको विश्व स्टक मार्केट धराशयी हँुदै गर्दा विश्व अर्थतन्त्र ध्वस्त हुने पक्का छ । एसियाली विकास बैङ्कको आर्थिक असर विश्लेषणका अनुसार विश्व अर्थतन्त्रले ३४७ अर्ब डलर र नेपालले पनि ३२ करोड २० लाख डलरसम्मको नोक्सानी बेहोर्ने भनी सार्वजनिक गरेको छ ।
कोरोना राजनीति :
आरम्भमा कोरोना भाइरस चीनमा फैलिएका कारणले पश्चिमा राष्ट्रहरू अब उदाउँदो चीन दशकौँ पछि पर्ने कारणले अमेरिका एकछत्र महाशक्तिका रूपमा उदाउने अनुमान पनि गरियो । चीनले भाइरस नियन्त्रण गर्न सकेन, सूचना लुकायो भनेर आरोप लगाइरहेका बेला चीनले भने यो भाइरस चीनमा भिœ्याउने काम आफ्ना सेनामार्फत अमेरिकाले नै गरेको भन्दै प्रतिवाद ग¥यो । अमेरिकाले सुरक्षा परिषद्मातहतको विश्व स्वास्थ्य इकाइलाई बन्द गर्ने काम गरेर सम्भावित महामारीका बारेमा पूर्वानुमान गर्न नसकेकाले समयमा रोकथाम गर्नमा बाधा प¥यो । परिणामतः कोरोना विश्वभर फैलियो । फलतः अमेरिकी अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने र राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनमा मूल्य चुकाउन पर्ने अनुमान पनि गरिएको छ । पछिल्लो समय अमेरिकी राष्ट्रपतिको ‘चाइना भाइरस’ भन्ने अभिव्यक्ति र विश्व स्वास्थ्य सङ्गठनका प्रमुख माइकल ¥यानले भिडियो सन्देश नै जारी गरी सो भनाइप्रति आपत्ति प्रकट गर्नुभयो । उहाँले २००९ मा उत्तर अमेरिकाबाट उत्पन्न भएको फ्लुलाई अमेरिकन फ्लु नभनिएको स्मरण गराउँदै यो अवधि कसैकाप्रति लाञ्छित गर्ने बेला नभई ऐक्यबद्धता जाहेर गर्ने बेला हो भन्नुभयो । उहाँले भाषाको प्रयोगमा सजगता अपनाउन र कसैप्रति पनि लाञ्छित गर्ने भाषा प्रयोग नगर्न चेतावनीसमेत दिनुभयो । अमेरिकी चेम्बर अफ कमर्सले भने अमेरिकी शासकलाई नै सल्लाह दिँदै धेरै प्रतिक्रिया नदिन आग्रह गरेको छ । पछिल्ला दिनमा चीनले सफलतापूर्वक कोरोना भाइरसविरुद्धको युद्धमा जित हासिल गर्दै अमेरिका, युरोप महादेशका मुलुकमा सहयोगका लागि हात बढाइरहेको छ । चीनमा जनजीवन सामान्य बन्दै गएको तर युरोप थलापरेको, अमेरिका सङ्कटको सामना गर्न नसक्ने हालतमा पुगेकोसमेत कारणले अब चीन महाशक्तिका रूपमा उदाउने अनुमान पनि गरिरहेका छन् । यसो भयो भने विश्व राजनीतिको भाष्य परिवर्तन हुनेछ, व्यवहार परिवर्तन हुनेछ र विश्व राजनीतिको नक्सा नै परिवर्तन हुने अवस्था आउने अनुमान गर्नेहरूको पनि कमी छैन ।
अमेरिकाकै ३४ जना विभिन्न विधाका विद्वान्हरूले अब व्यक्तिवादी प्रवृत्तिमा निरुत्साहन, सामूहिकताको खोजी र राष्ट्रभक्तिको प्रभाव बढ्ने बताएका छन् । विज्ञहरूप्रतिको विश्वासमा वृद्धि, नयाँ सुधारको सूत्रपात, टेलिमेडिसिनको तीव्रता, मजबुत पारिवारिक हेरचाह, डिजिटल लाइफ स्टाइलको प्रचुरतासँगै नयाँ कानुन प्रणालीको विकास र २००८ को आर्थिक मन्दीले विश्वको स्वरूप फेरेभन्दा निकै गुणा ठूलो प्रभावका साथ कोरोना भाइरसले विश्वलाई नयाँ राजनीति र आर्थिक रूपमा फेर्ने दाबी पनि गरेका छन् । सबैभन्दा चिन्ता वातावरण विनाशको मुद्दा ओझेल परेकोमा वातावरण अभियन्ताहरूलाई परेको छ । वातावरण सम्बद्ध वैज्ञानिकहरूको दाबी छ कि यही गतिमा कार्वन उत्सर्जन गर्दै जाने हो भने अबको दस वर्षमा पृथ्वीको तापक्रम बढेर दुई डिग्री नाध्नेछ । त्यतिबेला पृथ्वी मानव जाति बसोवास गर्न अयोग्य भइसक्नेछ । यो भयावह चित्र कोरोना आतङ्कले ओझेल पारेको छ ।
कोरोना र नेपाल
संयोग नै मान्नुपर्छ कोरोनाको सन्र्दभमा नेपाल विश्वको एकमात्र हरियो रङ प्राप्त गर्ने मुलुक हो । जहाँ विश्वव्यापी कोरोना भाइरस आतङ्कका बाबजुद पनि एकजनामा मात्रै सङ्क्रमण भेटिएको र सो पनि निको भइसकेको छ । यसका बाबजुद पनि मुलुक लकडाउन गर्ने तयारीमा सरकार जुटेको छ । २५ जनाभन्दा बढी भेला जम्मा नहुन र सम्पूर्ण सावधानी अपनाउन आग्रह गर्दै सरकार आफ्नो तयारीमा छ । दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने महŒवाकाङ्क्षी लक्ष्यसाथ अघि बढेको सरकारका लागि राजस्वको लक्ष्य हासिल गर्न, विनियोजित रकम खर्च गर्न र परिलक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्ने कुरामा साबिती हँुदै मध्यावधि समीक्षा गरेकै बखत यो कोरोना महामारी आएकाले नेपाली अर्थतन्त्र अझै थला पर्ने निश्चित छ । तर, यतिबेलाको प्राथमिकता आर्थिक वृद्धि हासिल गर्नेभन्दा पनि विश्वव्यापी माहामारीविरुद्ध लड्ने साहस जुटाउँदै जनताको ज्यान जोगाउने पहिलो कर्तव्य हो ।
कोरोना महामारीको सामना गर्नु अहिलेको दायित्व हो । समसामयिक विश्व राजनीति र अर्थतन्त्रको पूर्वआँकलन गरी तदनुरूप आफ्ना योजनाहरू निर्माण गर्नु र पुराना निर्णयहरू परिमार्जन गर्नु र भविष्यको सुस्पष्ट खाका तयार गर्नु आजको आवश्यकता हो । ठोस परिस्थितिको ठोस विश्लेषण नै माक्र्सवाद हो भन्ने मान्यतालाई आत्मसात् गर्दै देश र जनताका सन्दर्भमा समेत यही सूत्रको परिपालना गर्न नेपाली राजनीति चुक्नुहँुदैन ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ । )  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?