logo
२०८१ बैशाख १४ शुक्रवार



आगलागीमा परेर एकै परिवारका चार घाइते

खुला |


आगलागीमा परेर एकै परिवारका चार घाइते



बेलिना थापा
लमजुङ, चैत २८ गते । लमजुङमा भएको आगलागीमा परेर एकै परिवारका चारजना घाइते भएका छन् ।
दोर्दी गाउँपालिकाको वडा नम्बर ३ स्थित केराबारी सामुदायिक वनमा लागेको आगोमा परी ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

श्रीमन्ञ्याङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुकजीत घलानका अनुसार आगलागीमा परेर दूधपोखरी गाउँपालिका ६ ओखरीका २८ बर्षीया हरिमाया गुरुङ, १७ बर्षीया पुजा गुरुङ, १० बर्षीय रश्मी गुरुङ र ५ बर्षीया बालिका आश्मी गुरुङ घाइते भएका छन् । उनीहरु सबैको घुँडा मुनिको भाग जलेको घलानले बताउनुभयो ।

चार मध्ये पुजा गुरुङ हिँड्न सक्ने अवस्थामा रहे पनि अनय ३ जना भने गम्भीर रहेको प्रहरीले बताएको छ । चारैजनाको बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । हरिमाया र रश्मीलाई काठमाडौं रिफर गरिएको प्रहरी लमजुङका नायव उपरीक्षक रविन्द्रमान गुरुङले बताउनुभयो । उहाँका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

वनमा विहानैबाट आगलागी भए पनि प्रहरीलाई शुक्रबार दिउँसो सवा २ बजेतिर खबर आएको थियो । प्रहरी र स्थानीयले आगलागीमा परेका ४ जनालाई उद्दार गरेको हो । उनीहरु चारैजना एउटै परिवारको रहेको बताइएको छ । ओखरीबाट भोेटेओडार झर्दै गरेका उनीहरु सामुदायिक वनको बाटो भएर आएको र आगलागीमा परेको प्रहरीले जनाएको छ ।

हरिमायाका देवर सूर्य गुरुङका अनुसार उनीहरु सबै भोटेओडारमा भाडामा बस्दै आएका थिए । आफ्नो गाउँ ओखरी गएका उनीहरु शुक्रबार भोटेओडार आउँदै गर्दा उक्त घटना भएको गुरुङले बताउनुभयो । वनमा लागेको आगो नियन्त्रण हुन नसकेको स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?