logo
२०८१ बैशाख १४ शुक्रवार



सुनौलीमा अलपत्र सुत्केरीको उद्दार, परिवारका पाँचैजना १४ दिन क्वारेन्टाइनमा

खुला |
समाज |


सुनौलीमा अलपत्र सुत्केरीको उद्दार, परिवारका पाँचैजना १४ दिन क्वारेन्टाइनमा


लक्ष्मण पौडेल
भैरहवा, चैत १९ गते । सुनौली नाकामा अलपत्र परेकी १० दिनकी सुत्केरीको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पहलमा उद्दार गरिएको छ । दुवै देशमा लकडाउन भएपछि रुपन्देहीको मंगलापुरकी लक्ष्मी दर्जी भारतबाट स्वदेश फर्कने क्रममा सीमा नाकामा अलपत्र पर्नुभएको थियो ।

भारतको दिल्लीस्थित गाजियाबादमा नौदिनअघि सुत्केरी हुनुभएकी लक्ष्मी तीनदिनदेखि नेपाल–भारत सीमाको बेलहिया नाकामा अलपत्र पर्नुभएको थियो । सीमामा अलपत्र परेको थाहा पाएपछि तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बुधबार विहानैदेखि उद्दारको पहल गर्नुभएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थसँगको समन्वयमा सुत्केरी महिलाको उद्दार गरिएको नगरप्रमुख घिमिरेले बताउनुभयो । यसका लागि प्रमुख जिल्ला अधिकारी पन्थले भारतीय सुरक्षा अधिकारीहरुसँग नेपाल ल्याउने बारेमा समन्वय गर्नुभएको थियो ।

सुत्केरीको समयमा उद्दार हुन नसकेपछि विभिन्न क्षेत्रबाट आलोचना समेत भएको थियो । अन्य नेपालीसँगै आफ्नो देश फर्किनुभएकी लक्ष्मीलाई पनि सुरक्षाकर्मीले सीमा कटेर आउन नदिएकाले दुई दिनसम्म अलपत्र पर्नुभएको हो ।

लक्ष्मी भारतको गाजियाबादबाट पैदल र बस यात्रा गर्दै सुनौलीसम्म आइपुग्नुभएको हो । उहाँ दुईदिन भारतीय बजार सुनौलीको सडक पेटीमै सुत्नुभएको थियो । सोमबारदेखि बेलहिया समाज र स्थानीयले उहाँको अवस्था देखेर खानाको प्रवन्ध गरेका थिए ।

दुई र तीन वर्षे अन्य दुई छोरीसहित श्रीमान् मनोजको पनि उद्दार भएको छ । तिलोत्तमा नगरपालिकाले लक्ष्मीको परिवारलाई उद्दार गरी एम्बुलेन्समा राखेर शंकरनगरस्थित दुर्गादत्त माविको क्वारेन्टाइनमा ल्याएको छ ।

परिवारका पाँचैजनालाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइने प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?