logo
२०८१ बैशाख १५ शनिवार



कोरोनाविरुद्ध सरकारको तयारी प्रभावकारी

मुख्य समाचार |


कोरोनाविरुद्ध सरकारको तयारी प्रभावकारी


दीपक श्रेष्ठ

काठमाडौँ, साउन २४ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बढे पनि त्यसको नियन्त्रण र उपचारका लागि सरकारले पर्याप्त तयारी गरेको बताउनुभएको छ । उहाँले गम्भीर प्रकृतिका एक हजार पाँच सयसम्म बिरामीको उपचार गर्न औषधि र आईसीयूका सामग्री मौज्दात रहेको जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले कोरोना सङ्क्रमणको अवस्था र सरकारको तयारीबारे गोरखापत्रसँग शुक्रबार कुराकानी गर्नुहुँदै यस्तो बताउनुभएको हो । उहाँले प्रयोगशाला र व्यक्तिगत सुरक्षा सामग्री दुई महिनाका लागि पुग्ने मौज्दात रहेको र थप आवश्यक सामग्री खरिद प्रक्रियामा रहेको बत(ाउनुभयो ।
उहाँका अनुसार कोरोना सङ्क्रमणविरुद्ध सरकारले आवश्यक पूर्वाधार विकास, स्वास्थ्य सामग्रीको मौज्दात र मानवीय तथा वित्तीय व्यवस्था गरेको छ । देशभर दुई हजार छ सय आईसीयू, नौ सय भेन्टिलेटर रहेका छन् । यीमध्ये कोभिड–१९ उपचारका लागि २५० आईसीयू बेड र भेन्टिलेटर थपिएका छन् । थप २४० आईसीयू बेड थप्न प्रक्रिया अगाडि बढेको जनाइएको छ । पहिलो सङ्क्रमितको परीक्षण गर्न विदेश पठाउनुपर्ने अवस्थाबाट सातै प्रदेशमा पीसीआर परीक्षण गर्न ३२ वटा प्रयोगशाला सञ्चालनमा छन् ।
रक्षामन्त्री पोखरेलले स्वाब सङ्कलन गरेर प्लेन चार्टर्ड गरी प्रयोगशालामा ल्याउनुपर्ने अवस्था पनि थियो । त्यो अवस्थाबाट अहिले दैनिक २२ हजार परीक्षण गर्न सक्ने क्षमता देशभर विस्तार गरिएको छ भन्नुभयो । सरकारले निजी क्षेत्रका छवटा प्रयोगशालालाई पनि पीसीआर परीक्षण अनुमति दिएको छ । सरकारले निजी क्षेत्रमा पीसीआर परीक्षण गर्न पाँच हजार पाँच सय रुपियाँ शुल्क निर्धारण गरेको छ । सरकारी र निजी प्रयोगशालामा दैनिक २२ हजारको पीसीआर परीक्षण क्षमता रहेको जनाइएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले देशभरका २५ हब अस्पताल र २० वटा शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सकको नेतृत्वमा तुरुन्तै परिचालन गर्न सकिने टोली तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँका अनुसार सरकारले ६० वर्षभन्दा माथि उमेरका कोरोना सङ्क्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा घरमै आइसोलेसनको व्यवस्थासमेत गरेको छ । गम्भीर बिरामीको उपचार गर्न ‘प्लाज्मा थेरापी’ माध्यमबाट उपचारसमेत सुरु गरिसकेको जनाइएको छ । बन्दाबन्दी खुलेसँगै राजधानीमा सङ्क्रमण बढ्दै गएको भए पनि विगतको जस्तो बन्दाबन्दी सरकारले नगर्ने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले सङ्क्रमणको डरलाग्दो अवस्था भएको ठाउँमा सिल गरी ट्रयाकिङ र ट्रेसिङ कार्य गरिनेछ । स्वास्थ्य सजगताको विशेष प्रबन्ध गरिए पनि आन्तरिक गतिविधि रोकिनेछैन भन्नुभयो ।
सरकारले कोरोना सङ्क्रमितसँग सम्पर्कमा रहनेको खोजी, स्वाब सङ्कलन गरी प्रयोगशालामा ल्याउन हरेक गाउँपालिकामा तीन स्वास्थ्यकर्मी रहेको टोली गठन गरेको छ । त्यस्तै नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच गरी देशभर एक हजार ७५ वटा यस्ता स्वास्थ्यकर्मीको समूह परिचालित रहेको जनाइएको छ । उहाँले परीक्षण बढाउने, स्वास्थ्य मापदण्डको पालनामा नागरिक सचेत रहने, सँगसँगै आर्थिक गतिविधि पनि सञ्चालन गर्नुपर्छ भन्नुभयो । आर्थिक क्रियाकलाप र सामाजिक गतिविधि बन्द गर्दा आर्थिक क्षेत्रमा अझ गम्भीर अवस्था आउनसक्ने समेत उहाँले बताउनुभयो ।
भौतिक दूरी कायम राख्ने, मास्क लगाउने र सेनिटाइजर प्रयोग गर्ने कार्य कडाइका साथ सबैले कार्यान्वयनमा लैजानुपर्ने बताउँदै उहाँले विश्व बजारमा स्वास्थ्य सामग्रीको हाहाकार रहेको अवस्थामा उपकरण तथा स्वास्थ्य सामग्री ल्याइएको तर उल्टै निरुत्साहित गर्ने कार्य भएको स्पष्ट पार्नुुभयो  ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?