logo
२०८१ बैशाख २२ शनिवार



‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’

मुख्य समाचार |


‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’


नारायण काफ्ले

काठमाडौँ, जेठ ३ गते । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमप्रति विभिन्न राजनीतिक दलका नेताहरूले मिश्रित प्रतिक्रिया जनाएका छन् । सत्तारुढ दलका नेताहरूले कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण भएको औँल्याएका छन् । विपक्षी दलका नेताहरूले भने धेरै कुरा समेट्न नसकेको र प्राथमिकीकरण समेत गर्न नसकेको टिप्पणी गरेका छन् ।
नीति तथा कार्यक्रमलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यान्वयन चुनौतीपूर्ण छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘‘मुख्य कुरा कार्यान्वयन हो । अहिले कोरोना भाइरस (कोभिड–१९) का कारण जुन अवस्था परिस्थिति भएको छ यसले सबैतिर जटिलता पैदा गरेको छ । चुनौती पनि कार्यान्वयनकै छ । यो कार्यान्वयन गर्न सकियो भने राम्रो गति लिन्छ ।’’
प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रमलाई खण्डकाव्यको संज्ञा दिनुभएको छ । कार्यक्रमले प्राथमिकता तय गर्न नसकेको पनि टिप्पणी गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘खण्डकाव्य नै भने हुन्छ यति लामो कहिल्यै आएको छैन । धेरै कुरा पुराना छन् । धेरै कुरा समेटिएका छैनन् ।’’
यस्तै, पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले परम्परागत र वर्तमान चुनौती सम्बोधन गर्न नसक्ने ढङ्गबाट आएको बताउनुभयो । भट्टराईले कतिपय विषय सकारात्मक भए पनि कार्यान्वयन सहज नरहेको बताउनुभयो ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले नीति कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालको इतिहासमा सबैभन्दा लामो कर्मकाण्डी नीति कार्यक्रम देखियो । देश र जनता अहिले महामारीको सङ्कटमा छन् । जुन हिसाबले अर्थतन्त्र जोगाउने र जनता जोगाउनुपर्ने त्यो कुरो आएन । सङ्कट र जनताको आवश्यकता सम्बोधन गर्न सक्दैन ।’’
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?