logo
२०८१ बैशाख १४ शुक्रवार



ज्येष्ठ नागरिकलाई विशेष सुरक्षा

मुख्य समाचार |


ज्येष्ठ नागरिकलाई विशेष सुरक्षा


चाँदनी हमाल

काठमाडौँ, चैत १९ गते । एक सय एक वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे लकडाउनका बेला पनि निकै सक्रिय हुनुुहुन्छ । महाकाव्य ‘ऋतम्भरा’लाई पूर्णता दिन उहाँ कस्सिनुभएको छ । त्यसबाहेक उहाँले फुटकर कविता पनि लेखिरहनुभएको छ । कोरोना भाइरसको चिन्ता उहाँलाई भन्दा बढी उहाँको परिवारलाई छ । यसको जोखिम वृद्धवृद्धालाई बढी हुने भनिएकाले भेटघाटमा पूर्णतया रोक लगाइएको राष्ट्रकविका छोरा इन्दिवर घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहानदेखि बेलुकासम्मको छुट्टै रुटिन बनाएर राष्ट्रकविको हेरविचार गरिएको छ । पारिवारिक कुराकानी, घाममा बस्ने, नुहाइधुवाइलाई महŒव दिइएको छ । नरम दाल, भात र तरकारी नै राष्ट्रकविको विशेष खान्की हो । फोनमा कुरा गर्न भने रोक लगाइएको छैन । राष्ट्रकविसँगै उहाँकी धर्मपत्नी ८५ वर्षीया महाकाली घिमिरेलाई पनि परिवारका सदस्यले विशेष ध्यानपूर्वक रेखदेख गरिरहेका छन् ।
शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशी लकडाउनमा बाहिर निस्कन नपाउँदा केही निराश हुनुहुन्छ । “के गर्नु घरमै बस्नुपर्छ, भेटघाट गर्न पाएको छैन”, उहाँ भन्नुहुन्छ । घरमा बस्दा उहाँ रेडियो, टेलिभिजन हेर्ने सुन्ने गरेर दिन बिताउँदै हुनुहुन्छ । बिहान घाममा बस्ने अनि परिवारका सदस्यसँग गफिने बाहेकको अर्को दिनचर्या ठप्प छ । पुस्तक पढ्न आँखाको समस्याले अलिक अप्ठ्यारो परेको उहाँले सुनाउनुभयो । यस अवधिमा उहाँले पहिलेभन्दा त्यस्तो फरक खान्की अपनाउनुभएको छैन । उही दैनिक खाने दाल, भात र तरकारी नै रुचाउनुहुन्छ । बन्दले हरियो सागपात खान नपाएको गुनासो उहाँले पोख्नुभयो ।
उहाँहरू जस्तै यति बेला घरघरमा रहनुभएका ज्येष्ठ नागरिकलाई विशेष अपनत्वको आवश्यकता छ । इटाली, चीन लगायतका देशमा मृत्यु भएका सङ्क्रमितमध्ये धेरैजसो वृद्ध उमेर र अन्य रोगले सताइएका बढी थिए । यसै कारण विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले ६० वर्ष माथिको उमेर समूह र अन्य रोग लागेका बिरामीको विशेष सुरक्षा गर्न भनेको छ ।
वयस्क उमेरका भन्दा वृद्ध उमेरका मानिसलाई कोरोना भाइरसबाट जोगाउन विशेष पहल जरुरी रहेको डा. प्रकाश बुढाथोकी बताउनुहुन्छ । उहाँका अनुसार सामान्यतया ६० वर्षभन्दा माथि उमेरका मानिसमा रोगसँग लड्नसक्ने प्रतिरोधी क्षमता कम हुन्छ । अवकाश जीवनको यस उमेरमा अलिक बढी सोच्ने, चिन्ता गर्ने बानी हुन्छ । त्यसका साथै प्रायः यस उमेरमा पहिलेदेखि देखिँदै आएको मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढी भएको, श्वासप्रश्वाससम्बन्धी रोग हुने भएकाले पनि कोरोना भाइरस सङ्क्रमण हुने जोखिम बढी हुने चिकित्सक बुढाथोकीको भनाइ छ ।
लकडाउन भएका बेला वृद्ध उमेरका आफन्तको सुरक्षा गर्न घरबाहिर निस्कन नदिने, बाहिरका मानिसलाई प्रवेश गर्न र गफगाफमा बढावा नदिई रोक लगाउन जरुरी हुने उहाँ सुझाउनुहुन्छ । त्यस्तै भर्खरका केटाकेटी र वयस्क उमेरका आफन्तभन्दा दुई मिटर परको दूरीमा वृद्धवृद्धालाई राख्नुपर्छ ।
सङ्क्रमणबाट वृद्धवृद्धालाई जोगाउन पोसिलो खानेकुरा अरू बेलाभन्दा बढी खुवाउनुपर्छ । सागसब्जी, दूध र अन्य खानेकुरा पच्नसक्ने बनाएर खुवाउँदा शरीर बलियो बन्छ । कुनै कारणवश परिवारका सदस्यलाई हाच्छ्युँ आयो, रुघाखोकी लाग्यो भने घरभित्रै मास्क लगाएर बसिदिनुपर्छ । वृद्धवृद्धालाई धार्मिक, योग आदि कार्यक्रम टेलिभिजनमा हेर्न र सक्रिय हुन सिकाउनुपर्छ ।
डा. बुढाथोकीका अनुसार कोरोना भाइरस सङ्क्रमण रहेका ८२ प्रतिशतलाई लक्षण नदेखिने, अन्यमा ज्वरो आउने र रुघाखोकी लाग्नेजस्ता लक्षण हुनेछन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?