logo
२०८१ बैशाख १४ शुक्रवार



भारतबाट लुकिछिपी ४७ जना गाउँ आइपुगे, सबैलाई क्वारेन्टाइनमा राखिँदै

फिचर |
प्रदेश |


भारतबाट लुकिछिपी ४७ जना गाउँ आइपुगे, सबैलाई क्वारेन्टाइनमा राखिँदै



जनार्जन खत्री
सर्लाही, चैत २८ गते । सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने चन्द्रनगर गाउँपालिकामा दुई दिनभित्र ४७ जना भारतबाट गाउँ आइपुगेका छन् ।
नेपाल–भारत दुबै देशमा लक डाउन चलिरहेको अवस्थामा त्यति धेरै सङ्ख्यामा भारतबाट स्थानीय बासिन्दा गाउँ आइपुग्दा आफूहरु अचम्मित भएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताउनुभएको छ । त्यसरी लुकिछिपी गाउँ आएकाहरुलाई खोजी गरी धमाधम गाउँपालिकाले वडा नं. ६ स्थित कामद माध्यमिक विद्यालयमा बनाएको क्वारेन्टाइनमा ल्याएर राख्ने काम भइरहेको गाउँपालिका अध्यक्ष महतोले बताउनुभएको छ ।
बिहीबारदेखि शुक्रवार दिउँसोसम्म ४७ जना गाउँ आएका सूचना पाएका छौँ, उनीहरु सबैको खोजी गरी क्वारेन्टाइनमा ल्याएर राख्ने काम भइरहेको छ, गाउँपालिका अध्यक्ष महतोले भन्नुभयो, अहिलेसम्म क्वारेन्टाइनमा ल्याइएकाहरुको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्यकर्मीले निगरानी गरिरहनुभएको छ । ४७ जना आएकै समूहमा अन्य पालिकाका समेत गरी १८४ जना भारतबाट आएको सूचना पाएको गाउँपालिका अध्यक्ष महतोले बताउनुभएको छ ।
सीमामा कडाई गरिरहेको अवस्थामा ठूलो सङ्ख्यामा भारतबाट मानिस आएपछि कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सीमामा अत्याधिक कडाई गर्दा पनि गहुँ बारी र खोला खोल्सा हुँदै चन्द्रनगर र ईश्वरपुरका केही मानिस गाउँ आएको पाइएको जानकारी दिनुभयो ।
बोर्डरमा अत्याधिक रुपमा कडाई गरेका छौँ, यस्तो अवस्थामा पनि कताबाट छिर्छन् हामी पनि आश्चर्यमा परेका छौँ, प्रजिअ जिसीले भन्नुभयो, लुकिछिपी गहुँ बाली हुँदै, खोला खोल्सा हुँदै आउँछन् भन्ने सुनेका छौँ । अनेक प्रयास गर्दा पनि भारतबाट लुकिछिपी आएकाहरुलाई रोक्न अप्ठेरो परिरहेको उहाँको भनाइ छ ।
त्यसरी मानिस लुकिछिपी प्रवेश गर्न नदिन सीमापारीका भारतीय सुरक्षा बलका अधिकारहरुसँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभएको छ ।
निरन्तर कोरोनाका संक्रमित बढिरहेको भारतबाट कोही पनि नेपालतर्फ प्रवेश गर्न नदिन सर्लाहीको दक्षिण–पूर्वी सीमाना सङ्ग्रामपुरदेखि दक्षिण–पश्चिम सीमाना बलरासम्मको ५१ किलोमिटर सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी २४ सैं घण्टा खटिएर गस्ती गरिरहेका छन् । तर पनि भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएकाहरु चोर बाटो हुँदै प्रहरीको आँखा छलेर गाउँ आइरहेका स्थानीयबासिन्दाले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?