logo
२०८१ बैशाख १५ शनिवार



लुम्बिनीमा भित्रिँदै आन्तरिक पर्यटक मायादेवी मन्दिर खोल्न माग

अर्थ |


लुम्बिनीमा भित्रिँदै आन्तरिक पर्यटक मायादेवी मन्दिर खोल्न माग



भैरहवा समाचारदाता

भैरहवा, कात्तिक २५ गते । लुम्बिनी क्षेत्रका होटल व्यवसायीले लुम्बिनीस्थित मायादेवी मन्दिर खोलेर पर्यटकीय गतिविधि सञ्चालन गर्न माग गरेका छन् ।
लामो समयदेखि मायादेवी मन्दिर बन्द हुँदा पर्यटकीय गतिविधि ठप्प भएको र होटल व्यवसाय सङ्कटमा पर्न थालेको भन्दै आन्तरिक पर्यटकलाई भित्र्याएर भए पनि व्यवसायीलाई पलायन हुनबाट बचाउनुपर्ने माग व्यवसायीले राखेका छन् । दशैँ अगाडिसम्म सुनसान रहेको बुद्ध जन्मस्थल लुम्बिनीमा दशैँपछि भने आन्तरिक पर्यटक आउन थालेका छन् । यहाँ आएका पर्यटक मायादेवी मन्दिरको गेटसम्म पुगेर फर्कने गरेका छन् । मायादेवी मन्दिर बन्द देखेपछि आएका आन्तरिक पर्यटक पनि निराश भएर फर्किन्छन् त्यसैले अब मन्दिर खोलेर पर्यटकीय गतिविधि बढाउनु जरुरी छ, लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले भन्नुभयो ।
कोरोना सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीसँगै सरकारले मठमन्दिर प्रवेशमा रोक लगाएको थियो । यो निर्णयसँगै लुम्बिनी परिसरमा पनि प्रवेश निषेध गरिएको थियो । असोजबाट बन्दाबन्दी र निषेधाज्ञा हटे पनि मन्दिरहरू खुला गरिएको छैन । विगतका वर्षमा दशैँपछि लुम्बिनीमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल हुन्थ्यो । कोरोना महामारीका कारण भीडभाड नभए पनि आन्तरिक पर्यटक क्रमशः लुम्बिनी आउने क्रम बढेको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार दशैँपछि यहाँ घुम्नका लागि पर्यटक लुम्बिनी आउन थालेका छन् । कतिपय लुम्बिनी परिसरमा नै छिर्न नपाई फर्किएका छन् । कोही सुरक्षाकर्मी तथा कोषका कर्मचारीसँग अनुरोध गरेर मायादेवी मन्दिरको गेटसम्म पुगेर फर्किने गरेका छन् ।
आन्तरिक पर्यटक आउन थालेपछि होटल, रेस्टुरेन्टमा पहिलेभन्दा चहलपहल भने बढ्न थालेको व्यवसायी बताउँछन् । लुम्बिनीस्थित इगनाइट लाउन्ज एन्ड रेस्टुरेन्टका सञ्चालक शिखर पन्तले दशैँको समयमा काठमाडौँ, चितवनलगायतका ठाउँबाट आन्तरिक पर्यटक घुम्न आएको बताउनुभयो ।
लुम्बिनी होटल सङ्घका महासचिव लीलामणि शर्माले लुम्बिनीमा चहलपहल देखिएको भए पनि बास बस्नेगरी कोही नआएको बताउनुभयो । मायादेवी मन्दिर नखोलेसम्म लुम्बिनीको पर्यटन अघि बढ्न सक्दैन । मन्दिर खोल्न विकास कोष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ज्ञापनपत्र बुझाएको लामो समय भए पनि सुनुवाइ भएको छैन, शर्माले भन्नुभयो ।
लुम्बिनी विकास कोषका अनुसार मायादेवी मन्दिर परिसर खुला गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । मन्दिरभित्र तत्काल प्रवेश गर्न नपाइने तर बाहिरका अशोक स्तम्भ, पोखरीलगायतका ठाउँमा अवलोकन गर्न सकिने गरी निर्णय हुने सङ्केत
पनि कोषले दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?