logo
२०८१ बैशाख ८ शनिवार



पर्यटक बढेपछि लगानीमा आकर्षण

पर्यटन |


पर्यटक बढेपछि लगानीमा आकर्षण


भक्तिविलास पोखरेल

गाईघाट, माघ १३ गते। उदयपुरको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरी क्षेत्रमा व्यापारीले लगानी बढाउन थालेका छन्। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको रौतापोखरी जाने सडक स्तरोन्नतिसँगै व्यापारीले लगानी बढाउन सुरु गरेका हुन्।

सडक स्तरोन्नतिले आन्तरिक र बाह्य पर्यटकको आउजाउ बाक्लो हुन थालेपछि त्यस क्षेत्रमा आकर्षक र सुविधासम्पन्न होटल बनाउन सुरु भएको हो। रौतामाई गाउँपालिका–६ मा रहेको रौतापोखरी हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ।

रौतापोखरी क्षेत्रमा करिब दुई करोड २५ लाख रुपियाँको लगानीमा ‘रौता दरबार माउन्टेन भ्यु रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ। गाईघाटका सरोजकुमार बस्नेत र बेलका नगरपालिका–७ रामपुरका शिव अधिकारीको लगानीमा ‘रौता दरबार माउन्टेन भ्यु रिसोर्ट’ निर्माण भएको हो। बस्नेत हाल नेपाली काँग्रेस त्रियुगा नगर समितिको सभापति हुनुहुन्छ भने अधिकारी होटल व्यवसायी हुनुहुन्छ।

यसका साथै अन्य होटल तथा रिसोर्ट खोल्न घडेरी व्यवस्थापन भइरहेको सो वडाका वडाध्यक्ष तिलकुमार रानाले जानकारी दिनुभयो। रौतापोखरी क्षेत्रलाई कच्ची सडकले छोएसँगै दुई दशकदेखि बजारीकरण हुँदै आए पनि सुविधासम्पन्न होटल भने सञ्चालनमा आएका थिएनन्।

समुद्री सतहदेखि पाँच हजार ९०० मिटरको उचाइमा रहेको यो पोखरी उदयपुरको सदरमुकाम गाईघाटबाट ४६ किलोमिटर दूरी उत्तरतर्फ अवस्थित छ। त्यसमध्ये ३८ किलोमिटर कालोपत्रे भइसकेको र बाँकी सडक पनि स्तरोन्नति भइसकेकाले आन्तरिक पर्यटकको रोजाइमा रौतापोखरी उत्कृष्ट गन्तव्य हुने गरेको हो।

पर्यटकको रुचिलाई अझै व्यवस्थित र सुविधासम्पन्न होटल अभाव टार्न रिसोर्ट सुरु गरिएको लगानीकर्ता सरोजकुमार बस्नेतले बताउनुभयो। यो रिसोर्ट रौतापोखरी क्षेत्रको अहिलेसम्मकै ठूलो लगानीको होटल हो। व्यापारीले रौतापोखरीआसपासमा धेरै जग्गा किनेको पाइए पनि व्यावसायिक होटलमा कसैले लगानी नगरेकाले आफुहरूले लगानी गरेको उहाँको भनाइ छ।

यसले एकातिर पर्यटन विकासमा सहयोग गर्ने र अर्कातिर रौतापोखरी क्षेत्रको विकासमा पनि टेवा पुग्नेछ। हिमाल, पहाड, मधेसलगायत चारैतिरको मनमोहक प्राकृतिक सुन्दर दृश्य हेर्न सकिने स्थान भएकाले गर्मी महिनामा त आगन्तुकको चाप अत्यधिक हुने गरेको छ। बजारीकरण बढ्दै गएको रौतामा यस अघिदेखि नै सामुदायिक होमस्टे र झन्डै दर्जनको हाराहारी स–साना होटल, रेस्टुरेन्ट सञ्चालन हुँदै आएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?