logo
२०८१ बैशाख १२ बुधवार



चोयु हिमालमा आफ्नै प्रयासमा आरोहण मार्ग निर्माण गर्दै नेपाली गाइड

पर्यटन |


चोयु हिमालमा आफ्नै प्रयासमा आरोहण मार्ग निर्माण गर्दै नेपाली गाइड


काठमाडौं, माघ ११ गते । नेपालबाट चोयु हिमाल आरोहण गर्न मार्ग (रुट) निर्माण गरिने भएको छ । १० जना नेपाली आरोही तथा गाइडहरुले पहिलो पटक नेपालतर्फबाट आरोहण सफल बनाउन मार्ग निर्माण गर्न आधारशिविरतर्फ लागेका छन् ।
नौ पटक सगरमाथाको सफल आरोहण गरी ३४ पटक अन्य अग्ला हिमालहरुको आरोहण गरिसकेका आरोही गाइड लाक्पा देण्डी शेर्पासहित १० जना आरोही गाइडहरुले मार्ग निर्माण गर्ने भएका हुन् ।आठ हजार १८८ मिटर अग्लो चोयु हिमाल हालसम्म नेपालतर्फबाट आरोहण हुनसकेको छैन । मार्ग निर्माण टोलीमा सात पटक सगरमाथा आरोहण सम्पन्न गरेका कर्मागेल्जेन शेर्पासहित अन्य अनुभवी आरोही गाइडहरु छन् । टोलीमा थप प्रेम तेन्जी, गेल्जे, प्रेम दोर्जी, तेञ्जिङ गेल्जेन, विवस, टासी, फुरीकितर शेर्पा र गेसमान तामाङ  छन् ।

टोलीले यसै महिना मार्ग निर्माण गरिसक्ने लक्ष्य राखेको गाइड लाक्पा देण्डी शेर्पाले जानकारी दिनुभयो । चीन र नेपालको सीमा रहेको यो हिमाल आरोहणमा पटकपटक प्रयास भए पनि सफल हुनसकेको छैन । आधारशिविरसम्म पुग्ने मार्ग नै अभाव हुँदा हिमाल आरोहण सम्भव नभएको र मार्ग निर्माणपछि सयौ आरोहीले हिमाल आरोहण गर्ने नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताउनुभयो । नेपालतर्फबाट आरोहणका लागि मार्ग निर्माण भए राज्यकोषमा बर्सेनि लाखौ राजस्व जम्मा हुने उहाँले बताउनुभयो ।
नयाँ नयाँ गन्तव्यको पहिचान र नयाँ रुटहरुको व्यवस्थापनदेखि आरोहण हुन नसकेका हिमालहरु समेत राज्यले थप प्रवर्धन गर्नु जरुरी छ । यी गाइडहरुले आफ्नै पहलमा मार्ग निर्माणमा जुटेको भन्दै बोर्डले थप सहयोग गर्ने सोच बनाएको रिजालले बताउनुभयो । नेपालमा रहेका आठ हजार मिटर अग्ला आठ वटा हिमालमध्ये यो मुख्य आकर्षक हिमाल मानिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?