logo
२०८१ बैशाख ७ शुक्रवार



जलेको १८ वर्ष भयो, अझै पुननिर्माण भएन भानुभक्तको घर

कला |
पढ्नै पर्ने |


जलेको १८ वर्ष भयो,  अझै पुननिर्माण भएन भानुभक्तको घर
आदिकवि भानुभक्त आचार्यको भग्नावशेष घर । तस्विर–अमरराज नहर्की


अमरराज नहर्की
तनहुँ, माघ ८ गते । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेको १८ वर्ष वितिसक्दा पनि पुर्नर्निमाण हुन सकेको छैन । तनहुँको भानु नगरपालिका–४ स्थित घरको भग्नावशेष मात्रै बाँकी छ । साहित्यिक तीर्थस्थल तथा भाषिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको भए पनि आगलागीले खण्डहर भएको वषौं बितेपनि पुनर्निर्माण गरिएको छैन ।
देश तथा विदेशबाट भानुको जन्मथलो घुम्न आउने पर्यटक यहाँ आइसकेपछि भानुको खण्डहर घर देखेर मनै अमिलो हुने गर्छ । भग्नावशेष मात्रै हुँदा भानुको घर हेर्ने उत्कृष्ट चाहाना राखेर भानु जन्मस्थल पुग्ने साहित्यकारहरुको मन रुने गर्दछ ।
भानुको घर भग्नाबशेष झारले ढाकेको छ । घरमा प्रयोग भएका काठका झ्याल ढोका सबै डढेलोले खाएको छ । नेपाली भाषाका धरोहर आदिकवि आचार्यले नेपाली साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए पनि राज्यले उहाँको सम्मान गर्न नसकेकोले घरको पुर्ननिर्माणमा ध्यान पुगेको छैन ।
भानुभक्तको घर भग्नावशेष मात्रै देख्दा मन रोएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो । केही समय अघि अन्तराष्ट्रिय कवि सम्मेलन चुँदीरम्घमा गर्दा भानुभक्तको घर संरक्षण विहीन भएको देखेर स्वदेशी तथा विदेशी साहित्यकारहरु मनै भारी भएको पाएको उहाँले बताउनुभयो । ‘‘सरकारले तुरुन्तै बजेट विनियोजन गरेर घरको पुर्ननिर्माण गर्नु पर्ने हो तर त्यसमा ध्यान नदिनु भनेको भानु प्रतिको अपमान हो’’ अध्यक्ष अधिकारीले भन्नुभयो ।
अमेरिकास्थित इन्टरनेशनल वेलफियर एण्ड सर्पोट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले हालै पुग्दा भग्नावशेष घर देख्दा भानुलाइै सम्मान हुन नसकेको अनुभूति भएको बताउनुभयो । भानुभक्तलाई भारतको दार्जिलिङ र सिक्किममा निकै आदर गर्ने भए पनि नेपालमा भानुको सम्मान हुन नसकेको अनुभूति भएको बताउनुभयो ।
तत्कालिन भानु जन्मस्थल विकास समितिले ०५५ सालमा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र बनाउने क्रममा घरको पुनर्निर्माण गरेको थियो । वि.सं. २०५७ मा चलचित्र निर्माता यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि रु एक लाखको लागतमा उक्त घर पुर्नर्निर्माण गर्नु भएको थियो । जङ्गलबीचको खरको छानाको उक्त घर वि.सं २०६० जेठमा आगलागी हुँदा जलेर नष्ट भएको थियो । ०७३ मा तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी, पूर्वमुख्यसचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले घरको शिलान्यास गर्नु भएको थियो । रु ६८ लाखको लागतमा निर्माण हुने भनिएको उक्त भवनको त्यसपछि कुनै काम भएको छैन ।
भानु–४ का वडाध्यक्ष पूर्णबहादुर लौडारीभाटले जङ्गलको बीचमा घर रहेकोले पुर्ननिर्माण गर्दा आगोबाट सुरक्षित हुने किसिमको बनाउन जरुरी रहेको स्थानीय तहले मात्रै घरको पुनर्निर्माण गर्न कठिन भएकाले सङ्घीय वा प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । ‘राज्यले ऐतिहासिक धरोहर भानुभत्तको घर निर्माण गरेको खण्डमा भानु जन्मस्थलमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सहयोग पुग्नेछ,’ लौडारीले भन्नुभयो , साहित्यिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न भानुको पहिचान झल्कने संरचना निर्माण गर्न जरुरी छ’’ । खरको छानो हुँदा आगोको बढी खतरा हुन्छ । छानो ढलान गरेर खरको जस्तै रङ प्रयोग गर्न सकिने उहाँको भनाई छ ।
त्रिभुवन विश्वविद्यालयका इतिहासविद् डा.रामराज सुवेदीको नेतृत्वमा सम्पन्न भएको घरको उत्खनन्को क्रममा घडेरी सम्मको जगको अवशेष, मुलढोकाको सङ्घार, थाम अड्काउने इलम, ढुङ्गाको छपनीले पुरिएको अगेनाको खरानी, चाँदीको बाला, थुर्पी लगायतका सामग्री फेला पारिएका सबै चुँदीरम्घबेंसी स्थित भानुभक्त विकास समितिको कार्यालयमा राखिएको छ । लामो समय सम्म समिति नेतृत्व विहीन भएकाले भानुको घरको पुर्नर्निर्माण लगायतका कार्य प्रभावित भएको र हालै समिति गठन भएकाले अब पुर्ननिर्माणको कार्य अघि बढाईने भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?