logo
२०८० चैत्र १६ शुक्रवार



स्वास्थ्यकर्मीनै संक्रमित भएपछि सीमा क्षेत्रमा कोरोना जाँच प्रभावित

स्वास्थ्य |
प्रदेश |


स्वास्थ्यकर्मीनै संक्रमित भएपछि सीमा क्षेत्रमा कोरोना जाँच प्रभावित


लक्ष्मण पौडेल
भैरहवा, माघ ५ गते । सीमा नाकाहरूमा राखिएका हेल्थ डेस्कका स्वास्थ्यकर्मी आफैं संक्रमणको चपेटामा परेपछि लुम्बिनी प्रदेशका विभिन्न नाकामा कोरोना जाँच प्रभावित भएको छ । प्रदेशका चार ठूला नाकामा खटिएका प्रयोगशालातर्फका कर्मचारी कोरोना संक्रमित भएसँगै जनशक्ति अभाव भएको हो ।

भारतबाट आइरहेका धेरैमा संक्रमण पुष्टि हुनेगरेको छ । यसअघि नाकामा एन्टिजेन परीक्षणमा व्यस्त ल्याबमा काम गर्ने कर्मचारीमा धमाधम संक्रमण पुष्टि भइरहेको छ  । उहाँहरु आइसोलेसनमा बस्नुपरेपछि जनशक्ति अभाव भएको छ । कोरोना जचाउँदा संक्रमण पुष्टि हुने भन्दै केही नाकामा लक्षण मिल्ने समस्या देखिएका कर्मचारीले आफ्नोचाहिँ जाँच नगरी काम गरिरहेको बताउनुभयो ।

रूपन्देहीको बेलहिया नाकामा सिद्धार्थनगर र विभिन्न संघ संस्थाका गरी सात जना ल्याबका कर्मचारी निरन्तर खटिरहेका थिए । दिनहुँ काम गर्ने कर्मचारीमध्ये पाँच जनामा संक्रमित पुष्टि भएको उहाँहरुको भनाई छ । संक्रमण पुष्टि भएपछि उहाँहरु घरमै आराम गरिरनहनुभएको छ । अहिले नाकामा दुई जना मात्र एन्टिजेन परीक्षणका लागि कर्मचारी खटिएका छन् । बेलहिया नाका हुँदै भारतबाट नेपालतर्फ दैनिक सयौं मानिस प्रवेश गर्छन् ।

नयाँ भेरिएन्ट नेपाल छिरेसँगै नाकामा एन्टिजेन परीक्षणको दायरा बढाइएको थियो । अहिले भारतदेखि झोला बोकेर आउनेलाई मात्र सोधपुछ गरी परीक्षण गर्ने गरिएको स्थानीयको भनाई छ । तीबाहेक किनमेल, औषधि उपचार र भारत घुमीआउने नेपाली र भारतदेखि नेपाल आउने सयौं भारतीयलाई खोप कार्डका आधारमा प्रवेश दिइएको छ ।

दैनिक तीन सयभन्दा बढीको परीक्षण गर्दा सरदर ४० जनामा संक्रमण पुष्टि भइरहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन लोकनाथ कँडेलले बताउनुभयो । एन्टिजेन किट प्रशस्त भएपनि जनशक्ति नहुँदा परीक्षणको काम छिटो र सोचेअनुरूप गर्न नसकिएको उहाँले बताउनुभयो ।

“दुई जना मात्र कोरोना जाँच नगरी बसेका छौं”् उहाँले भन्नुभयो– “हामीमा पनि लक्षण छ, संक्रमण देखिएमा नाकामा परीक्षण बन्द हुन्छ ।” संघ संस्था र नगरपालिका मिली स्वास्थ्यकर्मी र ल्याबमा कर्मचारी खटाएको भन्दै नाका ठूलो भएकाले धेरै मानिसको एकैपटक परीक्षण गर्नुपर्ने तर कर्मचारी अभावमा सो काम प्रभावित भएको कँडेलले बताउनुभयो । “दुई सय जनासम्मको एक्लैले पनि सकिन्छ”–उहाँले भन्नुभयो–“हजारौं जना आउँछन्, कसरी चेक गर्न सकिएला ?”

पश्चिम नवलपरासीको महेशपुर भन्सार ठूलो नाकामध्येको एक हो । सो नाका हुँदै दिनहुँ पाँच हजार बढी मानिस नेपाल आउने भएपनि नाकामा रहेको हेल्थ डेस्क कर्मचारीविहीन छ  । नाकाको छिमेकी पालिका पाल्हीनन्दनको स्वास्थ्य शाखाबाट एक जना कर्मचारी नाकामा खटिएका छन् । दैनिक फेरिने कर्मचारीले सिक्दै, जाँच गर्र्दैगर्दा मानिसलाई बोलाउने, दर्ता गर्ने, सोधपुछ गर्ने आदि काममै दिन बित्ने गरेको उहाँले बताउनुभयो ।

प्रदेशको अर्को मुख्य नाका कपिलवस्तुको कृष्णनगर हो । उक्त नाकाबाट आएकामध्ये रेल र बसमा लामो यात्रा गरेर आएकाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनुभयो । “हाल नाकामा दुई जना ल्याबका कर्मचारी खटिएका छन् । अन्य संस्था र नगरपालिकाले स्वास्थ्यकर्मी भनी सात जना प्रतिनिधि खटाएका छन्” उहाँले भन्नुभयो– “ल्याबमै काम गर्ने जनशक्ति नभए वा ती कर्मचारी संक्रमित भए परीक्षण कसले गर्ने ?”

लुम्बिनी प्रदेशको हकमा तीनवटा मुख्य नाकामा हेल्थ डेस्क राखी एन्टिजेन परीक्षण गर्ने निर्देशन भएअनुरूप काम भइरहेको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनीका सचिव डा. विकास देवकोटाले बताउनुभयो । नाका भएका जिल्लाका स्वास्थ्य कार्यालयले आवश्यकता बताई माग गरे प्रदेशबाट हुने सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?