logo
२०८० चैत्र १५ बिहीवार



पर्यटक आकर्षण गर्न बोटानिकल पार्क

पर्यटन |


पर्यटक आकर्षण गर्न बोटानिकल पार्क


शालिग्राम नेपाल

चितवन, पुस २५ गते । पर्यटकलाई आकर्षित गर्न चितवन राष्ट्रिय निकुञ्ज नजिकै पटिहानी बोटानिकल पार्क निर्माण हुने भएको छ ।
सङ्घीय सरकारको लगानीमा भरतपुर महानगरपालिका–२२, पटिहानीमा पार्क निर्माण हुन भएको हो । नयाँ पर्यटकीय गन्तव्य बनाउन सङ्घीय सरकारको २५ करोड रुपियाँको लगानीमा बोटानिकल पार्क निर्माण गर्ने तयारी गरिएको वडाध्यक्ष विष्णु महतोले जानकारी दिनुभयो ।
चितवन जिल्ला पर्यटकीय क्षेत्रले आकर्षित भए पनि नयाँ पूर्वाधार नभएको भन्ने गुनासो आएकाले नौलो काम गरौँ भनेर निर्माण गर्न लागेको उहाँले बताउनुभयो ।

कार्यक्रमका लागि सङ्घीय सरकारमा फाइल पुगेर स्वीकृतिको अन्तिम तयारी रहेको उहाँले बताउनुभयो । चार बिघ १० कट्ठा क्षेत्रफलमा निर्माण हुने पार्कमा मनोरञ्जनका सामग्री, बालबगैंँचा, निकुञ्ज नजिकको राप्ती नदीमा बोटिङको व्यवस्था, विभिन्न जातका वनस्पति अध्ययनका लागि उपयुक्त वातावरण निर्माण गरिने जानकारी दिनुभयो ।

“चतवनमा पर्यटीय क्षेत्रका रूपमा सौराहा मात्र छैन, अब पश्चिम चितवनमा पनि प्रशस्त मात्रामा आवास र पर्यटकीय स्थल रहेको छ,” वडाध्यक्ष महतोले बताउनुभयो । उहाँकै सक्रियतामा २०७६ मा निकुञ्ज नजिकै अम्रेला स्ट्रिट निर्माण भएको छ । दुई करोडको लागतमा निर्माण भएको अम्रेला स्ट्रिटमा सार्वजनिक बिदाको दिन एक हजारभन्दा धेरैले अवलोकन गर्ने गरेको उहाँले बताउनुभयो ।

चितवन जङ्गली जनावरको बासस्थान मात्र नभएर अन्य गतिविधिको पनि केन्द्र बन्दै गएको गण्डकी प्रदेश पर्यटन बोर्डका अध्यक्ष काशीराम भण्डारीले बताउनुभयो । भरतपुर महानगरपालिका क्षेत्रमा धेरै पर्यटकीय क्षेत्र भएकाले आन्तरिक एवं बाह्य पर्यटक आएर बस्नसक्ने उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिका–२२ मा नै थारूको भेषभूषालाई जीवन्त राख्न सीतामाई क्षेत्रमा छत्री पुल निर्माण गरिएको छ । बाटुले पोरी, छत्री पुल, अम्रेला स्ट्रिट, जङ्गल सफारी गर्न सकिने भएकाले पर्यटकलाई यहाँ एक दिनको बाससहितको प्याकेज गर्न सकिने भरतपुर महानगरपालिका प्रमख रेणु दाहालले जानकारी दिनुभयो । महानगरका पर्यटकीय स्थानहरूको भ्रमण गरेर छ दिन बिताउन सकिने गरी कार्यक्रम ल्याएको भन्दै थप नयाँ पर्यटकीय क्षेत्रसमेत निर्माण हँुदै गरेको उहाँले बताउनुभयो ।

चितवन पर्यटक विकास समितिका महासचिव डाक्टर विश्व सुवेदीले जङ्गल सफारी मात्र नभई नारायणी र राप्ती नदीमा जलविहार, ऐतिहासिक स्थलको भ्रमण, नारायणी र राप्तीको सङ्गम मेघौली गोलाघाट सूर्यास्त हेर्नेलगायत रमणीय क्षेत्र भएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?