logo
२०८० चैत्र १५ बिहीवार

  होमस्टे नयाँ योजना   



अर्गानिक खाना र स्थानीय संस्कृति देखाउनैपर्ने

अर्थ |
राष्ट्रिय |


अर्गानिक खाना र स्थानीय संस्कृति देखाउनैपर्ने


काठमाडौं, मङ्सिर २१ गते । कोरोना भाइरस (कोभिड–१९) महामारीले प्रभावित बनेको होमस्टे (घरवास) व्यवसायको थप प्रवर्द्धन गर्ने निर्णयसहित नयाँ–नयाँ कार्यक्रमबाट पर्यटक आकर्षण गराउने भएको छ । होमस्टे (घरवास) एसोशिएसनले स्थानीय संस्कृतिको प्रदर्शनी गर्दै अनिवार्य रुपमा अर्गानिक खाना खुवाउनुपर्ने गरी पर्यटक अकर्षण गर्ने निर्णय गरेको छ ।

केही समय पहिले बसेको केन्द्रीय समितिको बैठकले पर्यटन प्रवर्द्धनको मुख्य आधार नै स्थानीय संस्कृति भएकाले यसलाई होमस्टेबाट प्रर्दशन गरी पर्यटकको आकर्षणको आधार बनाउँदै होमस्टेलाई नयाँ ढङ्गले सञ्चालन गर्न निर्णय गरेको केन्द्रीय उपाध्यक्ष यदुमणि निरौलाले बताउनुभयो । नेपालको विभिन्न समुदायको संस्कृति पर्यटनको आधार भएकाले यसैबाट अन्तर्राष्ट्रियस्तरसम्म जोड्ने गतिलो आधार नै होमस्टे भएकाले यसको प्रवर्द्धनमा जोड दिएको निरौलाले बताउनुभयो । होमस्टेकै माध्यमबाट योजनाबद्ध रुपमा पर्यटन अकर्षणका कार्यक्रम ल्याउनुनै विकल्प भएको भन्दै प्रवर्द्धनात्मक कार्यमा अघि बढ्ने निरौलाले जानकारी दिनुभयो ।

शौचालय र अर्गानिक खेती विकासका लागि होमस्टे केन्द्रीय समितिले कृषि विकास बैंकसँग विनाधितो १० लाखसम्मको ऋण लिने गरी सम्झौता गरिसकेको जनाएको छ । व्यवसायीले दुई प्रतिशत व्याजदरमा महिला उद्यमी विकास कार्यक्रमअन्तर्गत ऋण लिएर होमस्टे व्यवस्थापन र सुधारमा लगानी गरिने भएको हो । यस अघि होमस्टेको आन्तरिक सजावट, व्यवसायीहरुलाई तालिमलगायतका गतिविधि सम्पन्न गरिसकेको छ । पर्यटन अर्थतन्त्रको मुख्य आधार भएकाले अझै पनि होमस्टेको थपसुधारका लागि तालिम र भौतिक पूर्वाधार निर्माणमा राज्यले सहयोग गर्नुपर्ने व्यवसायीहरुले माग गरेका छन् । होमस्टेको न्यानो आतिथ्यसँगै स्थानीय परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाबाट आन्तरिक तथा वाह्य पर्यटनलाई आकर्षण बनेको छ ।

एसोशिएसनले ‘गाउँ पर्यटन विकास’को आधार नै होमस्टे भन्ने नारा तय गरेको छ । ग्रामीण जीवनलाई जीविकोपार्जनमा पूर्णरुपमा सहयोग गर्ने, सेवासँगै नाफा मुलक व्यवसाय गर्न सकिने र होमस्टे व्यवसाय परिवार मिलेर गर्न सकिने भएकाले सेवासँगै आर्जन पनि हुने होरिजन होमस्टे पाल्पाका प्रमुख धानीश्वर बस्यालले बताउनुभयो । स्थानीय खाना, सामाग्री र सत्कार कसरी गर्नेसम्बन्धी तालिम, सोलार सिष्टम वितरणदेखि सामुदायिक होमस्टेलाई भवन निर्माणमा सहयोग गर्नुपर्ने उहाँले माग गर्नुभयो ।

२०५४ सालबाट स्याङ्जाको सिरुबारीमा पहिलो पटक होमस्टे पर्यटन शुरु भएपछि हाल करिब ४५ जिल्लाका एक हजार ८ सय घरले होमस्टे सञ्चालन गर्दै आएको एसोशिएसनको तथ्याङ्क छ । होमस्टेको रुपमा प्रख्यात रहेका लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, पसगाउँ, सिउरुङ, रसुवाको बृद्धिम, इलामको श्रीअन्तु, चितवनको सैराहा, कैलालीको माघि, भाडागाउँ नवलपरासीको अमलटारी, बर्दियाको ठाकुरद्वार, संखुवासभाको खाँदबारीलगायत छन् भने अन्यत्र पनि विस्तार हुनेछन् ।

सरकारले होमस्टे सञ्चालन कार्यविधि २०६७ बाट होमस्टेको व्यवस्थापन गर्दै आएको छ । कार्यविधिले होमस्टे दर्ता भएपछि कम्तीमा साढे छ फिट लम्बाइ र तीन फिट चौडाइ भएको खाट हुनुपर्ने, एउटा कोठामा दुई वटा खाट राख्न सकिने, ओछ्यानमा सेतो तन्ना, सिरक, सिरानी र एउटा तौलिया हुनुपर्ने उल्लेख छ । कोठामा चिया टेबल, दुई वटा कुर्सी, ऐना, चप्पल, डस्टबिन, डोरम्याट, भित्तामा आकर्षक पर्यटकीय नक्सा, उज्यालोको व्यवस्था, शौचालय हुनुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?