logo
२०७८ माघ ८ शनिवार

  बाघ संरक्षणमा नेपाल  



बाघ गणनामा २५० भन्दा बढी बाघ हुने अनुमान

पर्यटन |


बाघ गणनामा २५० भन्दा बढी बाघ हुने अनुमान



लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, मङ्सिर १६ गते । सरकारले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिवद्धता गरेअनुरूप सन् २०२२ मा नेपालमा बाघको सङ्ख्या २५० भन्दा बढी हुने देखिएको छ । चार वर्ष अघि सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा बाघको सङ्ख्या २३५ थियो । चार वर्ष अघि नै बाघको सङ्ख्या नेपालले गरेको प्रतिवद्धता नजिक पुगिसकेकाले यो सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पार्ने मुलुकको सूचीमा नेपाल पर्ने सम्भावना निकै बढेको छ ।

एक दशक अघि नेपालले रसियाको सेन्टपिटर्सबर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा तत्कालको बाघको सङ्ख्या दोब्बर गर्ने प्रतिवद्धता गरेको थियो । त्यतिबेला नेपालमा बाघको सङ्ख्या १२१ रहेको थियो । यो सङ्ख्यालाई दोब्बर गर्दै सन् २०२२ सम्म २५० पु¥याउने प्रतिवद्धता नेपालले गरेको थियो । विश्वमा दुर्लभ मानिने बाघ नेपाललगायत १३ वटा देशमा मात्र पाइन्छन् ।

आफ्नो प्रतिवद्धता पूरा गरेको कुरा प्रमाणित गर्न सरकारले यही मङ्सिर १९ गतेदेखि बाघको गणना गर्दैछ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ पाइने चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वनक्षेत्रमा बाघको गणना सुरु गर्न थालेको हो । वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलका अनुसार बाघ गणनाका लागि तयारी सबै पूरा भइसकेको छ र फिल्डतहमा प्राविधिकहरुलाई प्रशिक्षण गर्ने काम भइरहेको छ ।

बाघ गणनाका लागि कम्तिमा एक महिनाको समय लाग्ने र १२० जना भन्दा बढी दक्ष प्राविधिक तथा हात्तीको प्रयोग गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले भन्नुभयो, ‘पहिलो चरणमा हामीले चितवन र पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रलाई एक समग्र क्षेत्र मानेर बाघको गणना गर्ने कार्यक्रम बनाएका छौँ । दोस्रो चरणमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वनक्षेत्रमा बाघको गणना गरिनेछ ।’

सन् २०१८ को हिउँदमा बाघ गणना गरिएको थियो । त्यस वर्षको गणना अघिको वर्षामा नारायणी नदी तथा कर्णाली नदीमा बाढी आउँदा धेरै वन्यजन्तुको नोक्सानी हुँदा समेत बाघको सङ्ख्या उल्लेख्य देखिएकाले यो वर्ष बाघको सङ्ख्या २५० भन्दा बढी हुने दावी विभागको महानिर्देशक डा. कँडेलले गर्नुभयो । उहाँले भन्नुभयो, ‘सन् २०१८ को गणना अघिको वर्षामा धेरै गैँडा बगेर भारत पुगे, बाघको पनि बिचल्ली भयो । आहार प्रजातिको नोक्सानी कति भयो भन्ने थाहा थिएन । तैपनि चितवन पर्सा कम्पलेक्समा बाघको सङ्ख्या निकै राम्रो देखिएको थियो । यो पटक त बाघको लागि प्राकृतिक बासस्थान सुधारलगायतका कुराहरु राम्रो भएकाले बाघको सङ्ख्या निकै वृद्धि हुने सम्भावना बढेको छ ।

नेपालले संरक्षण साझेदार संस्थाको सहयोगमा बाघ पाइने निकुञ्जमा बाघको आहार प्रजाति वृद्धि तथा वासस्थान सुधारका लागि घाँसे मैदानको निर्माण र पुनरुउत्थान तथा पानीको स्रोतको व्यवस्थापनमा विशेष ध्यान दिँदै आएको छ । विभागका इकोलोजिष्ट वेदकुमार ढकालका अनुसार पर्सा, चितवन, बाँके, बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पुराना घाँसे मैदानको पुनरुउत्थान र नयाँ घाँसे मैदानको व्यवस्थापन गर्दा बाघको आहार प्रजातिको सङ्ख्यामा निकै वृद्धि भएको छ ।

सन् २०१८ पछिको अवधिमा भएको बासस्थान सुधार तथा पानीको स्रोतको व्यवस्थापनपछि पर्सा र चितवन निकुञ्ज कम्पलेक्समा विभागले गरेको अध्ययनले अझै चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि हुँदा पनि विचरण गर्ने क्षेत्र र आहार प्रजातिको अभाव नहुने देखिएको छ ।

सन् २०१८ को गणनामा चितवन राष्ट्रिय निकुञ्ज ९३ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रेकर्ड गरिएका थिए । पछिल्ला दिनमा बाँके र बर्दियामा पनि बाघको सङ्ख्या उल्लेख्य वृद्धि भएको हरेक वर्ष गरिने अनुगमनले देखाएको विभागले जनाएको छ ।

यो पटक निकुञ्ज क्षेत्रबाहेकका तराई–चुरे एवम् पहाडी क्षेत्र पनि बाघ पाइने सक्ने सम्भावना बढेको छ । गत वर्ष नियमित अनुगमनका क्रममा इलाम र डडेल्धुरामा पनि बाघ भेटिएका थिए । त्यसैले यो पटकको बाघ गणनामा ती क्षेत्रलाई पनि समेटिने मन्त्रालयका सचिव डा. कँडेलले बताउनुभयो ।

गणनामा संरक्षण साझेदारको सहयोग

बाघ गणनाका लागि सरकारले ८२ लाख रूपियाँ विनियोजन गरेको थियो । यो रकम अपुग भएपछि संरक्षण सहयोगी संस्थाहरू जुलोजिकल सोसाइटी अफ लन्दन (जेडएसएल नेपाल), विश्व संरक्षण कोष (डब्लूडब्लूएफ नेपाल) र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले सरकारलाई आर्थिक–प्राविधिक सहयोग गरेका छन् । विभागका अनुसार जेडएसएल र डब्लुडब्लुएफले एक÷एक करोड गरी दुई करोड र एनटीएनसीले ८० लाख रुपियाँ सहयोग गरेको छ ।

बाघ गणनाका लागि अत्याधुनिक क्यामरा प्रयोग गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार बाघ हिँड्डुल गर्ने, विचरण गर्ने क्षेत्रको पहिचान गरी प्रत्येक ग्रीडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिने छन् । ती क्यामरालाई एक ठाउँमा कम्तिमा दुई हप्ता राखिने छन् । ती स्वचालित क्यामराले खिचेको बाघको तस्विरलाई अध्ययन गरी बाघको सङ्ख्या पत्ता लगाइनेछ ।
यो कामका लागि दक्ष प्राविधिक तथा विज्ञ टोली गठन गरिएको छ । पहिलो चरणमा परिचालन हुने प्राविधिक तथा विज्ञ टोली चितवन पुगिसकेको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?