logo
२०८१ बैशाख ८ शनिवार



नेपाल–भारत समन्वय समिति बैठक आपराधिक क्रियाकलाप रोक्न केन्द्रित

खुला |


नेपाल–भारत समन्वय समिति बैठक आपराधिक क्रियाकलाप रोक्न केन्द्रित


बैतडी, मङ्सिर १३ गते । नेपाल–भारत समन्वय समितिको बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ । उक्त बैठकमा नेपाल र भारतका स्थानीय प्रशासन सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा छलफल भएको थियो । छलफलपछि दुवै देशका जिल्लाका अधिकारी सीमाक्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा सहमत भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

बैठकमा सीमाक्षेत्रमा हुन सक्ने मानव बेचबिखन रोकथाम, सीमा नाकाबाट हुनसक्ने लागूऔषधको कारोबार, झुलाघाट झोलुङ्गे पुल मर्मत, भारतसँग जोडिएका घाट व्यवस्थित गर्नेलगायतका विषयमा छलफल भएको हो ।

यस्तै दुई देशका नागरिक एकअर्को देशमा आवतजावत गर्दा परिचय खुल्ने कागज भएमात्रै प्रवेश गर्न दिने, सीमाक्षेत्रमा हुनसक्ने विभिन्न समस्या समाधानका लागि पहल हुने जनाइएको छ । यसका साथै पूर्वभारतीय सेनामा कार्यरत व्यक्तिलाई बैंकबाट प्राप्त हुने निवृत्तिभरण लिने प्रक्रिया सहज गर्ने, आगामी दिनमा हुने स्थानीय निर्वाचनको समयमा सीमानाका बन्द गर्नेलगायतका विषयमा छलफल भएको हो ।

भारतको पिथौरागढमा हिजो आयोजित उक्त बैठक पिथौरागढ जिल्लाका जिल्ला अधिकारी डा.आशिष चौहानको पहलमा सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट बैतडी र दार्चुला प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र भन्सार कार्यालयका प्रमुखको सहभागिता थियो ।

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेशबहादुर पाल, सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाह, महाकाली भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता थियो । यस्तै दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र सुरक्षा निकायका प्रमुखको समेत सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?