logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौंलगायत मुख्य सहरहरुमा वायु प्रदूषणको दर उच्च

राष्ट्रिय |


काठमाडौंलगायत मुख्य सहरहरुमा वायु प्रदूषणको दर उच्च


काठमाडौं, मङ्सिर ४ गते । पछिल्लो सातादेखि काठमाडौं उपत्यकालगायतका मुख्य सहरहरुमा वायु प्रदूषणको दर उच्च भएको छ । वातावरण विभागको तथ्याङ्क अनुसार काठमाडौं, पोखरा, सिमरा, विराटनगर, महेन्द्रनगरमा वायुको गुणस्तर अस्वस्थकर र हानिकारक भएको छ ।

वायुको गुणस्तर खस्किएसँगै स्वास्थ्यकर्मीहरुले प्रदूषित क्षेत्रका सहरबासीलाई बिहान र साँझपख शारीरिक व्यायामका लागि बाहिर हिँड्डुल नगर्न सुझाव दिएका छन् । सरकारले पार्टिकुलेट म्याटर २.५ आकारको वायुको मापदण्ड ४० माइक्रोग्राम परमिटर क्युवसम्मलाई स्वास्थकर भन्दै राष्ट्रिय मापदण्ड तोकेको छ, तर यसैलाई विश्व स्वास्थ्य संगठनले भने २५ माइक्रोग्राम परमिटर क्युवलाई मात्र स्वास्थकर भन्दै मापदण्ड तोकेको छ । 

शनिबार बिहान पोखरामा पार्टिकुलेट म्याटर २.५ आकारको वायुको गुणस्तर १८८ माइक्रोग्राम परमिटर क्युव प्रतिघण्टा पुगेको छ । यो स्वास्थ्यका लागि अति नै हानिकारक हुने वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताउनुभयो । विराटनगरमा १८४, सिमरा १५३, रत्नपार्क १६९ र वीरेन्द्रनगर १०५ माइक्रोग्राम परमिटर क्युव पुगेको छ । यो वायुको गुणस्तर खतरनाक भएको भन्दै मर्निङ वाकदेखि जथाभावी बाहिरी क्षेत्रमा हिँड्डुल गर्न नहुने मुटुरोग विशेषज्ञ डा.कुन्जाङ शेर्पाले सुझाव दिनुभयो ।

बुधबारदेखि देशैभर मौसम बदली हुँदा वायु प्रदूषणको दर बढ्दै गएको छ । प्रदूषणले वायुमा हानिकारक कण मिसिएपछि यतिबेला नैसर्गिक गुण गुमाएको भन्दै विज्ञहरुले सहरबासीले सडक छेउछाउ मर्निङ वाक गर्नुअघि ख्याल गर्नुपर्ने भएको सुझाव दिएको छ । त्यसैले प्रदूषित वायुका कारण मानव शरीरको फोक्सोलगायत संवेदनशील अंगमा स्वासप्रश्वासजन्य रोग निम्तिन सक्ने डाक्टर शेर्पाले बताउनुभयो ।

सास फेर्दा धुलोधूवाँका कण शरीरभित्र छिरेर फोक्सोलगायत अंगमा असर पुग्छ, उहाँले भन्नुभयो । धुँलोका ठूला कण श्वासप्रश्वास नलीमा अड्किन्छ तर मसिना कण भने सिधै फोक्सोमा पुग्ने भएकाले फोक्सोबाट रक्तसञ्चार प्रणालीद्वारा मुटु, मिर्गौला, छालालगायत संवेदनशील अंगमा असर पुग्छ, उहाँले बताउनुभयो । पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिकलगायत रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बढी सजग हुनुपर्ने चिकित्सकको सुझाव छ ।

जाडोमा मर्निङ वाकभन्दा घरमै व्यायाम गर्नु उपयुक्त हुने भन्दै भित्री कोठामै व्यायाम गर्न उपयुक्त हुने समेत सुझाव दिएको छ । गतसाता भारतको राजधानी नयाँ दिल्लीमा पार्टिकुलेट म्याटर २.५ माइक्रोन भन्दा सानो धुलोको प्रदूषणदर पाँच माइक्रोग्राम परमिटर क्युवसम्म भन्दा बढी भएपछि घरबाटै काम गर्ने वातावरण बनाउन भारतीय सर्वोच्च अदालतले सुझाव दिएको छ ।

विभागले १०० देखि १५० माइक्रोग्राम परमिटर क्युवसम्मलाई अस्वस्थकर र हानिकारक वायु भनेर मापन गरेको छ । गत वर्ष काठमाडौं ४०० माइक्रोग्राम परमिटर क्युवसम्म पुगेको विभागको तथ्याङ्क छ । चिसो बढेसँगै काठमाडौं उपत्यकालगायतका मुख्य शहरहरुमा फोहोर बाल्ने, दाउरा र गुइँठाजन्य बस्तु जलाउने गर्नाले वायु प्रदूषणको दर बढ्ने वातावरण विभागले जनाएको छ । चिसोकै कारण प्रदूषित वायुलाई माथि जानबाट रोक्ने गर्छ त्यसैले पनि प्रदूषण झन् बढ्छ, यसमा सचेत हुन विभागले सुझाव दिएको छ । हिउँदमा प्रदूषणले समस्या ल्याउने गर्छ त्यसमा विभागले जनचेतनामूलक काम गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?