logo
२०८१ बैशाख १३ बिहीवार



‘वेष्टर्न टुरिजम मार्ट’को आयोजनाले पश्चिम नेपालका पर्यटन व्यवसायी उत्साहित

पर्यटन |
अर्थ |


‘वेष्टर्न टुरिजम मार्ट’को आयोजनाले पश्चिम नेपालका पर्यटन व्यवसायी उत्साहित
‘वेष्टर्न टुरिजम मार्ट नेपाल–२०२१’ को बारेमा जानकारी गराउँदै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख । तस्विर - सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, कात्तिक ७ गते । नेपालमै पहिलो पटक ‘वेष्टर्न टुरिजम मार्ट नेपाल–२०२१’ नेपालगञ्जमा आयोजना गरिने भएपछि पश्चिम नेपालका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।
पश्चिम नेपालको पर्यटन प्रर्वद्धनका लागि बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यका साथ आगामी मङ्सिर २८ देखि पुस १ गतेसम्म ‘वेष्टर्न टुरिजम मार्ट नेपाल–२०२१’ यहाँ आयोजना गरिने पर्यटन बोर्डले जनाएको छ ।
पर्यटन मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा), हान लगायत विभिन्न पर्यटनसँग आबद्ध संघसंस्थाको संयोजनमा सो मार्ट आयोजना गरिने जानकारी पाएर आफुहरु निकै उत्साहित बनेको बर्दिया ठाकुरद्धाराका पर्यटन व्यवसायी मोहन चौधरीले बताउनुभयो ।
उहाँले कोभिडले दुई वर्षदेखि थला पारेको पर्यटन व्यवसायलाई चलायमान बनाउन मार्टले विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै नेपालगञ्जका पर्यटन व्यवसायी डा. ओम मिश्रले नेपालमै पहिलो पटक नेपालगञ्जमा आयोजना गर्न लागिएको ‘वेष्टर्न टुरिजम मार्ट’ ले भारतीय पर्यटक ओइर्याउन सक्ने बताउनुभयो ।
उहाँले यो मार्टले समग्र पश्चिम नेपालको पर्यटन क्षेत्रलाई गतिशिल बनाउनुका साथै व्यवसायमा वृद्धि हुने धेरै सम्भावना रहेको जनाउनुभयो ।
यसैगरि सिद्धार्थ भ्यु होटलका प्रबन्धक केशव न्यौपानेले नेपालगञ्जमा पहिलो मार्ट आयोजना गर्नुले आफु लगायत यस क्षेत्रका सम्पूर्ण होटल व्यवसायी उत्साहित बनेको बताउनुभयो ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल बाहिद मन्सुरीले नेपालगञ्ज पोखरा हवाई उडानले भारतीय पर्यटक तान्न सफल भैरहेको जनाउँदै यो मार्टले झनै पर्यटक तान्न सहज हुने बताउनुभयो ।
उहाँले अहिले नेपालगञ्ज भारतीय पर्यटकको प्रमुख रोजाइमा पर्न थालेकोमा आफूहरु अति नै हर्षित भएको बताउनुभयो ।
‘वेष्टर्न टुरिजम मार्ट’ आयोजनाको तयारीका लागि नेपालगञ्ज आउनु भएका नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले यो आयोजनाले कोभिडले सुस्त भएको पर्यटनलाई गति दिनुका साथै सो क्षेत्रमा कार्यरत सम्पूर्ण निकायलाई परिचालन गर्ने र पर्यटनका गतिविधिलाई देशका विभिन्न स्थानसम्म पुर्याउने बताउनुभयो ।
उहाँले तराईमा रहेका नेपाल भारतका सबै नाकाबाट भारतीय पर्यटक बढीभन्दा बढी भित्र्याउने लक्ष्य लिएर बोर्डले तराईमा ७ वटा टुरिजम मार्ट गर्ने निर्णय गरेकोमा नेपालगञ्जमा पहिलो गरिन लागेको बताउनुभयो ।
यस्तै नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईले सीमापारिका पर्यटकको सम्भावनालाई देखेर नै नेपालमा धेरै पर्यटकीय पूर्वाधारको विकास भएको जनाउँदै नेपालको भविष्य बोर्डर ‘टुरिजम’ मै रहेको प्रष्ट पार्नुभयो । उहाँले टुरिजम मार्टले नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो टेवा पु्याउने र पर्यटन क्षेत्र पुनः चलायमान हुने विश्वास रहेको जनाउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाले नेपालगञ्ज भारतीय पर्यटक भित्रयाउने सबैभन्दा प्रमुख सहर बन्दै गएको उल्लेख गर्दै टुरिजम मार्टको आयोजनाले त्यसलाई झन् सफल बनाउने बताउनुभयो ।
उहाँले नेपालगञ्जलाई क्यासिनो सिटी, वाटरपार्कको हब, होटल र रेष्टुरेन्टको केन्द्र तथा बागेश्वरी मन्दिरको सहरका रुपमा भारतमा चिनाउने कार्य भैरहेको पनि प्रष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?