logo
२०८१ बैशाख ८ शनिवार

पोखरामा खुले हिमाल, बढे आन्तरिक पर्यटक (फाेटाे फिचर)

पर्यटन |
फोटो फिचर |


2021-10-17-48684
पोखराबाट देखिएको हिमश्रृंखला । तस्विर एकराज गिरी



एकराज गिरी
पोखरा, असोज ३१ गते ।

पोखरा त साँच्चिकैको पोखरा नै रैछ,
पोखरा त साँच्चिकैको पोखरा नै रैछ ।

प्रेमप्रकाश मलले त्यतिकै यो गीत रचना गर्नुभएको होइन । पोखराका मनोरम दृश्यले आफैं प्रमाणित गर्छ । पोखरा आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाईमा पर्छ । यहाँ आउने पर्यटकले पोखराको सुन्दरताले मोहित हुन्छन । यहाँको सुन्दरताको मुक्तकण्ठले प्रशंसा गर्छन् । अरुले भनेको सुन्नेहरु जीवनमा एकपटक पुग्नैपर्ने ठाउँ हो भन्ने निश्कर्षमा पुग्छन् ।

पोखरा प्राकृतिक रुपमा सजिएको छ । त्यसैले पोखरालाई स्वर्णको टुक्रासँग तुलना समेत गरिन्छ । आफैँमा सुन्दर रहेको पोखरामा थप सुन्दरता र आकर्षण थप्ने काम छेउछाउमा देखिने मनोरम दृश्यहरुले गरेका छन । उत्तरतर्फ देखिने माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरि हिमश्रृङ्खला अनि फेवाताल, विश्व शान्ति स्तुप, डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, सराङकोट, काँहुडाँडा र प्यारागलाइडिङ, अल्ट्रालाइट, विन्दावासीनी मन्दिर, तालबराही पोखराका मुख्य पर्यटकीय गन्तब्य हुन् । यस्तै, पछिल्लो पटक नयाँ पर्यटकीय गन्तब्य थपिएको छ । झण्डै १५ सय मिटरकै उचाईमा रहेको पुम्दीकोट आन्तरिक तथा बाह्य पर्यटकको नयाँ गन्तब्य बनेको छ ।
वरिपरि हरियाली जंगल । फेवाताल र पोखरा बजार । आखाँ अगाडि देखिने हिमश्रृंखला । त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने दृश्य । पुम्दीकोटबाट देखिने दृश्य हो ।

१५ सय मिटरको उचाईमा रहेको पुम्दीकोट ओझेलमा परेको छ । त्यही पुम्दीकोट अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न ५१ फिट अग्लो शिवको मुक्ति स्थापना गरिएपछि त्यहाँ आन्तरिक पर्यटकको भिड बढेको हो ।

दशैँसँगै यहाँ आन्तरीक पर्यटकको भिड बढेको छ । दैनिक सयौँ पर्यटक त्यहाँ पुग्ने गरेको स्थानीय हरि बरालले बताउनुभयो । पहिला अग्लो डाँडो मात्रै थियो । कसैले चिन्थेन, उहाँले भन्नुभयो, ‘अहिले पर्यटकको भिड लाग्ने गरेको छ ।’

पोखरा यस्तो ठाउँ हो, जहाँ नेपालभर घुमेर पोखरा पुगिएन भने त्यो घुमाइ अधुरै रहन्छ । प्रकृतिको सुन्दरतामा रमाउन एकपटक पुग्नै पर्ने ठाउँ हो पोखरा । पोखराबाट देखिने हिमश्रृंखला, ताल, वनजंगलले सबैको मन लोभ्याउछ । नेपालीको महान पर्व दशैँसँगै खुलेका हिमश्रृंखलाले स्वागत गरेका छन् । दाँत जस्तै लहरै मिलेरका हिमाल यतिबेला खुलेका छन् ।